देशको समृद्धि र जनताको सपना कांग्रेसले पूरा गर्छ : उपभापति भुसाल
तुलसीपुर कांग्रेसको सभा
बालाराम खड्का
तुलसीपुर, १८ फागुन । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले देशको समृद्धि र जनताको सपना अब कांग्रेसले पूरा गर्ने बताएकी छिन् । नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजनामा आइतवार तुलसीपुरमा भएको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति भुसालले देशको समृद्धि र जनताको सपना कांग्रेसले पूरा गर्ने बताएकी हुन् ।
चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति भुसालले देशको समृद्धि र युवा, महिला, जनजाति, दलित समुदायको सपनालाई अब कांग्रेसले मात्रै पूरा गर्न सक्ने बताइन् । उनले कांग्रेसले देशको बागडोर सम्हाल्ने भन्दै नागरिकको अपेक्षा अनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर कांग्रेस अगाडि बढेको बताइन् ।
‘तपाईंहरू सबैको साथ र सहयोगको अपेक्षा गरेका छौँ, कांग्रेस नयाँ भिजन र मिसनका साथ आएको छ, हाम्रो सभापतिले भन्नुभएको छ, अब कुनै पनि युवाको हातमा आगो भवन जलाउनलाई हुँदैन, नेपाली जनताको पेटको आगो निभाउन युवाशक्तिलाई प्रयोग गर्नुपर्छ’, उपभापति भुसालले भनिन् ।
उपसभापति भुसालले आफ्नो पार्टीले अगाडि सारेका सबै उम्मेदवारलाई विजयी गराउन आग्रहसमेत गरिन् । उनले कांग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भन्दै प्रधानमन्त्री हुनका लागि दाङका सबै क्षेत्रबाट कांग्रेसले चुनाव जित्नु पर्ने बताइन् । ‘यहाँ दीपक गिरीले थुप्रै विकास निर्माण गर्नुभएको छ, अब पनि उहाँले अगाडि सारेका विकास निर्माणका योजना पूरा गर्न उहाँलाई जिताउनुहोस’, उनले भनिन् ।
खुमबहादुर खड्कालाई स्मरण गदै उपसभापति भुसालले दाङलाई समृद्धि भएको देख्ने खुमबहादुर खड्काको सपना भएको भन्दै त्यो सपना पूरा गर्नका लागि पनि जनताले कांग्रेसलाई जिताउनु पर्ने बताइन ।
कार्यक्रममा दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले दाङको समृद्धिका लागि आफूले विभिन्न योजना बनाएको भन्दै त्यो पूरा गर्ने अवसर दिन जनतासँग आग्रह गरे । ‘तपाईंहरूको अमूल्य मत मेरो लागि आवश्यक छ, अहिले मत दियर मलाई विजयी बनाउनुहोस् त्यसपछि यहाँको समृद्धि र अन्य अधुरा काम म पूरा गर्नेछु ।’ उनले जनताको सेवकका रूपमा दाङ कृषि, शिक्षा, स्वास्थ्यलगायत समग्र पूर्वाधार विकासका लागि काम गर्ने बताए ।
नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाललको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू प्रदीपराज शर्मा, केशव आचार्य, लीला नेपाली, नेपाली कांग्रेसका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कांग्रेस नेतृ तथा संविधान सभा सदस्य अनिता देवकोटा, कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, संविधान सभा सदस्य बुद्धिराम भण्डारी, कांग्रेसका नेता कीर्तिबहादुर खड्का, घनश्याम रेग्मी, शंकर गिरी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाली कांग्रेसकी समानुपातिक उम्मेदवार देविका नेपालीलगायतले लोकतन्त्रको रक्षा, देश बचाउन र राष्ट्रिय सङ्कटलाई टार्न कांग्रेसलाई विजयी गराउन आग्रह गरेका थिए ।
नगर उपभापति बिनिल केसीको स्वागत मन्तव्यबाट सुरु भएको चुनावी सभाको सहजीकरण सचिव बिमल पौडेलले गरेका थिए । कार्यक्रममा विभिन्न वडाबाट कार्यकर्ताको विभिन्न झाँकी, भेषभूषासहित सक्रिय सहभागिता रहेको थियो ।
कांग्रेस (वीपी)ले कांग्रेसलाई मतदान गर्ने
यसैविच नेपाली कांग्रेस (वीपी) दाङले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने भएको छ । नेपाली कांग्रेस (वीपी) दाङका जिल्ला सभापति एवम् केन्द्रीय सदस्य गोविन्दप्रसाद शर्माले आइतवार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।
जिल्लाका तीन वटै क्षेत्रमा नेपाली कांग्रेसमा मतदान गर्न पार्टीका सदस्य, शुभेच्छुक सम्पूर्णमा आग्रह गरिएको छ । जहानिय राणा शासन र निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुलवादमा आधारित बहदुदलीय प्रजातन्त्रको स्थापना गरी प्रजातन्त्रप्रति प्रतिबद्ध ऐतिहासिक पार्टी नेपाली कांग्रेस र आफ्नो पाटी एजेन्डामा भविष्यमा सहमत हुन सक्ने देखिएकाले मतदान गर्न भनिएको छ ।
