Goraksha

National Daily

युद्ध होइन, विश्वबन्धुत्व

अमेरिका र इजराइलले इरानमाथि गरेका हमाला र त्यसको प्रतिकार स्वरुपको इरानी आक्रमणले सबैको सातो खाइदिएको छ । विश्वबन्धुत्वको कामना र अपेक्षा गरिरहेका संसारभरका करोडौँ नागरिकको चाहनाभन्दा बाहिरको यो घटना कुनै पनि हिसावले अपेक्षित हैन ।

यो क्रम तत्काल रोकिनुपर्छ । इरानको खतरनाक हतियार नष्ट गर्ने उद्देश्यले आक्रमण गरिएको भन्ने अमेरिकी र इजराइली तर्क कुनै पनि हालतमा उचित मान्न सकिदैन । बरु संसारमा ‘हतियार अनुशासन’ को बहस थालिनुपर्छ र त्यस बहसमा सबै राष्ट्रहरुलाई समाबिष्ट गर्दै कस्ता हतियार बनाउने र कसरी अनि केका लागि प्रयोग गर्ने भन्ने सन्दर्भमा साझामत बनाउने प्रयास हुनुपर्छ । यो बाटो नै सही बाटो हो ।

जतिसुकै युद्धको अभ्यास गरे पनि अन्तिममा संवादको विकल्प छैन भन्ने कुरा विश्व इतिहासमा पटक पटक पुष्टि हुँदै आएको तथ्यप्रति पनि युद्धका पक्ष राष्ट्रहरुले बुझ्न बिलम्ब गर्नु हुँदैन । यस्ता घटनाहरुका पछाडि गुह्य कारणहरु थुप्रै हुन्छन् । इरानको सर्वोच्च नेता खमानीको अमेरिकी हमलामा परेर मृत्यु भएपश्चात् त्यहाँका पूर्वराजकुमारले हत्याको स्वागत गरेका छन् ।

निर्वासनमा बसेका ती राजकुमारको स्वागतको अन्तर्य राजकीय सत्तामा पुग्ने चाहना हो । अब यो युगमा आएर हत्याको समेत स्वागत गर्ने कुरालाई कसरी सहज रुपमा लिन सकिन्छ ? यो हाम्रो विश्वको भाइचाराको सम्बन्धमा आउन थालेका दरारहरुको एउटा ंसङ्केत हो । खनिजप्रतिको अधिपत्य जमाउन र हतियारको व्यापार गर्न अनि रणनीतिक स्वार्थहरुका लागि हुने यस्ता युद्धहरुले संसारलाई सधैँ पीडित बनाउने गरेका छन् ।

यो पटक पनि त्यही नियति भोग्न संसार बाध्य हुँदैछ । यो अवस्थाको अन्त्य गर्दै विश्वबन्धुत्वको लयमा संसारलाई अगाडि बढाउने सामथ्र्य पनि शक्तिशाली राष्ट्रहरुले नै राख्ने हो । त्यसमा नेपाल जस्ता असंलग्न परराष्ट्रनीति भएका देशहरुले सहयोग गर्दै आत्मविश्वास थपिदिने हो ।

हतियारको प्रयोग गरेरभन्दा शान्तिपूर्ण संवादमार्फत् विश्वका लागि चुनौती हुन सक्ने विषयमा निकास दिँदा नै ती राष्ट्रप्रति विश्व समुदायको विश्वास बढ्छ र उनीहरुप्रति कृतज्ञ हुन्छन् । त्यसकारण पनि हतियार प्रयोगको बाटोभन्दा ती हतियारलाई व्यक्ति विनाशमा प्रयोग हुन नदिने कुराको अगुवाई नै अहिलेको प्रशंसनीय कार्य मानिने छ ।

यो हमलाका क्रममा मध्यपूर्वका देशहरु आक्रान्त बनेका छन् । लाखौँको सङ्ख्यामा नेपालीले काम गर्ने देशहरु पनि हमलाको निशान बनेका छन् । देशहरुको स्वार्थमा अडिएको लडाइँमा निहत्था र निर्दोष नागरिक नमारिउन्, उनीहरुले दुःख नपाउन् भन्ने हाम्रो प्रस्ट चाहना छ । सँगसँगै बाध्यताले काममा त्यहाँ पुगेका निर्दोष नागरिकको हत्याको समाचार कुनै पनि हालतमा सुन्न नपरोस् ।

नेपाल राज्यका सबै संयन्त्रहरु सचेत हुन जरुरी छ । सरकारले विशेष रुपमा कुटनीतिक पहलकदमी लिन जरुरी छ । सचेततापूर्वक नेपालीको सूचना राख्ने, सुरक्षित राख्न सहजीकरण गर्ने सन्दर्भमा हाम्रा दूतावासहरु थप सक्रिय हुन आवश्यक छ । कुनै पनि हालतमा युद्ध रोकिनु पर्ने र संवादमार्फत् निकास खोज्ने कुराको अग्रसरता लिन विश्व संगठनहरुलाई आग्रह गर्दछौँ ।