प्रतिनिधि सभा निर्वाचन : दाङमा करिब २९ सय कर्मचारी खटिने
लीलाधर वली
दाङ, १५ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाङमा करिब २९ सय कर्मचारी परिचालन हुने भएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लामा निर्वाचन गर्नका लागि दुई हजार आठ सय ९८ जना कर्मचारी परिचालन हुने भएका हुन् ।
एउटा मतदान केन्द्रमा छ जना कर्मचारीका दरले जिल्लामा भएका चार सय ८२ वटा मतदान केन्द्रमा दुई हजार आठ सय ९२ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा तीन÷तीन जनाका दरले छ जना गरी दुई हजार आठ सय ९८ जना कर्मचारी निर्वाचनमा परिचालन हुने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिएका छन् । उनका अनुसार मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी परिचालन हुनेछन् ।
यसैगरी अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी परिचालन हुनेछन् । उनका अनुसार घोराही र तुलसीपुर कारागारमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई आवश्यक तालिम प्रदान गरिएको छ ।
जिल्लाका एक सय ५९ मतदानस्थल अन्तर्गत रहेका चार सय ८२ मतदान केन्द्रमा चार सय ८२ जना मतदान अधिकृत, चार सय ८२ जना सहायक मतदान अधिकृत, एक हजार चार सय ४६ सहायक कर्मचारी र चार सय ८२ जना सहयोगी कर्मचारी परिचालन हुने भएका छन् । यसैगरी दुई वटा अस्थायी मतदान केन्द्रमा दुई जना मतदान अधिकृत, दुई दुई जना सहायक मतदान अधिकृत र दुई जना सहयोगी कर्मचारी परिचालन हुने भएका प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा खटिने कर्मचारीलाई तालिमका साथै मतदानका लागि खटिने मतदान केन्द्रको समेत टुङ्गो लगाइसकेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १६ वटा मतदान केन्द्र अतिसंवेदनशील, एक सय ३४ मतदान केन्द्र संवेदनशील र नौ वटा मतदान केन्द्र सामान्य श्रेणीमा रहेका छन् ।
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर जिल्ला सुरक्षा व्यवस्था कडाइ गरिएको छ । निर्वाचनसँगै दलको प्रचारप्रसारका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिएका छन् । उनका अनुसार निर्वाचन लक्षित कुनै पनि गतिविधि हुन नदिनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरीलाई परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार निर्वाचनका लागि करिब साढे पाँच हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।
