राजनीतिक मार्गमा झुल्किन खोजेका ‘किरण’
दाङ क्षेत्र नं २
गोरक्ष समाचारदाता
दाङ, १५ फागुन । एउटा उम्मेदवारका लागि चुनाव के होला ? गणितीय भाषामा यसको सिधा उत्तर हुन्छ, जित । हो, चुनाव भनेको जित्नका लागि नै लड्ने हो, हार भन्ने त स्वभाविक स्वीकारोक्ति हुन्छ ।
अनि जित हारको परिणाममात्रै चुनावको परिभाषा पक्कै होइन, यो त राजनीतिक जीवनको एउटा अनिवार्य तर निकै कठोर परीक्षा पनि हो तर किरणकिशोर घिमिरेका लागि चुनाव अलि फरक छ । उनका लागि यो चुनावी आरोहण एउटा संसदीय सिँढीमात्रै होइन बरु उनले यतिञ्जेलको जीवनभरि गरेका कर्महरूको सामाजिक परीक्षा पनि हो ।
नेपाली कांग्रेसका तर्फबाट दाङ क्षेत्र नं २ का उम्मेदवार हुन्, किरणकिशोर घिमिरे । नेपाली राजनीतिमा दाङको यो घिमिरे परिवारको आफ्नै लामो विरासत छ । जीवनका आधाजति यात्रामा उनि यो विरासतबाट अलि टाढा थिए । पुस्तौँदेखि राजनीतिक चेतले खारिएको यो परिवारिक राजनीतिक विरासतबाट अलि पर पुगेर उनी आफ्नै व्यवसायमा रमाए । त्यसैमा दक्षता पनि कमाए ।
त्यसैअनुसार शैक्षिक ज्ञान अनि सरकारी संस्थानहरूको जिम्मेवारी त्यसैका प्रतिफल हुन् अनि सँगसँगै सामाजिक सेवामा रमाए । ‘कोखदेखि शोकसम्म किरणकिशोर’का सामाजिक श्लोकहरू यसैका उदाहरण हुन् तर खानदानी रगतमै बगेको राजनीतिका रँगहरू जिन्दगीबाट त्यत्तिकै कहाँ छुट्छन् र ? सामाजिक कर्ममा होस् वा व्यावसायिक यात्रामा उनि असंख्य मान्छेका जिन्दगीसँग ठोक्किएका छन् । नेपालीका दुस्ख, पीडा अनि जिन्दगीका हरेक पाटाहरूलाई राम्रोसँग नियालेका छन् ।
यी यात्राका क्रममा पनि उनले थुप्रै सम्मानहरू पाए । समाज अनि राष्ट्रको प्रेम पाए । त्यसैले यी यात्राका क्रममा उनलाई कसैले लगाइदिएका मालाहरू सप्रेम साँचेर राखेका छन् । उनका लागि यी मात्रै एकछिन लगाइएका माला होइनन्, बरु यो त उनलाई सिङ्गो समुदायले दिएको एउटा अमूल्य प्रेम र कर्मको एउटा जिम्मेवारी पनि हो ।
सामाजिक प्रेमको एउटा फराकिलो कर्मशील राजमार्ग पहिल्याउन अन्ततस् उनि पनि अब राजनीतिको मूलबाटोमा आएका छन्, संसदीय यात्राको पहिलो खुट्किलो प्रतिनिधि सभाको चुनावसम्म । यद्यपि व्यवसाय र सामाजिक सेवासँगै उनि राजनीतिबाट अलग्गै बसेकाचाहिँ होइनन् । विद्यार्थी राजनीतिमा उनि कहिँ न कतै जोडिइरहेका थिए । २०३६ सालदेखि नै नेपालका हरेक राजनीतिक आन्दोलनमा उनले नेतृत्वदायी भूमिका निभाएकै थिए ।
व्यावसायिक मञ्चहरूको नेतृत्व होस् वा सामाजिक सेवाका यात्रा कहिँ न कतै राजनीतिले पक्कै छुन्थ्यो । कतै बाध्यता नै थिए । किनकि किरणकिशोरले राम्रोसँग बुझेका छन्, सामाजिक कर्मको मूल्य अनि महानता त्यसैले त उनलाई लाग्छ, महानताको मूल्य जिम्मेवारीमा हुन्छ, अनि नेतृत्वको असली परीक्षा जिम्मेवारीको त्यही प्रश्न हो । त्यसैले उनलाई लाग्छ नेतृत्व पद अनि हैसियतको पर्याय होइन, बरु त्यो त एक जिम्मेवारी हो विश्वास अनि भरोसाको ।
र, राजनीति केबल भाषणका आकर्षणले होइन, त्यही जिम्मेवार कर्मले सार्थक बनाउँछ । त्यसैले पनि यो चुनाव उनका लागि आफ्ना यी सामाजिक कर्मको एक राजनीतिक अनुमोदन पनि हो ।
दाङकै माटोमा जन्मिएर, यहीँ हुर्किएको अनि यही समाजको दुस्ख, पीडा र सम्भावनालाई नियालीरहेको एउटा नाम हो किरणकिशोर घिमिरे । यो एउटा त्यस्तो नाम हो राजनीतिलाई सत्ता प्राप्तिको साधन होइन, बरु जनसेवाको गहिरो जिम्मेवारीका रूपमा आत्मसात गरिरह्यो । यो त्यही मान्छेको वास्तविक परिचय हो, जसको दङ्गाली माटोसँग जीवनको साइनो जोडेको छ कहिल्यै नमेटिने गरी ।
उनको सोच, सङ्घर्ष र अविराम यात्रा, जहाँ नेतृत्व भाषणमा होइन, व्यवहारमा प्रकट हुन्छ, जहाँ प्रतिबद्धता शब्दमा होइन, निरन्तर कर्ममा प्रमाणित छ । दाङको रामपुरको एउटा साधारण तर राजनीतिक चेतले भरिएको परिवारमा जन्मिएका घिमिरेको व्यक्तित्व ऐतिहासिक राजनीतिक चेतनाको जगमा उभिएको छ ।
नेपाली राजनीतिको पहिलो तरुण राजनीतिक विद्रोह ‘जयतु संस्कृतम्’ अभियानका सक्रिय स्व । ऋषिराम शर्मा घिमिरेका एक सुपुत्र हुन् उनी । बुवाको प्रजातान्त्रिक आदर्श र दाजु कृष्ण किशोर घिमिरेहरुले निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध गरेको सङ्घर्षका रापतापमा हुर्किएका किरण किशोरलाई सानै उमेरदेखि राजनीतिक तथा सामाजिक रूपान्तरणको बाटोमा डोर्यािदयो ।

साधारण परिवारिक पृष्ठभूमिबाट सुरु भएको जीवनयात्रा लोकतान्त्रिक चेतना, शिक्षा र समाजसेवासँगै अघि बढ्यो । परिवर्तनका आन्दोलनहरूसँगै अघि बढेका उनका पाइलाहरू सामाजिक अनि राजनीतिक अनुशासन, जिम्मेवारी र सार्वजनिक जीवनको मूल्यबाट कहिल्यै डगमगाएनन् ।
राजनीतिक चेतनाले उज्यालिएको पारिवारिक छाँयाबाट उनको शैक्षिक यात्रा गाउँका साधारण विद्यालयदेखि अन्तर्राष्ट्रिय शैक्षिक गन्तब्यसम्म पुग्यो । अर्थशास्त्र र रणनीतिक व्यवस्थापनको ज्ञान लिएर उनी स्वदेश फर्किए, मात्रै व्यक्तिगत स्वार्थका लागि होइन, यही समाज अनि यही माटोलाई अझ मगमग बनाउनका लागि ।
१४ वर्षभन्दा बढी राष्ट्रिय जिम्मेवारी, सार्वजनिक तथा संस्थागत नेतृत्वमा रहँदा उनले कैयौ जटिल र गहन जिम्मेवारीहरू सफलतापूर्व निर्वाह गरे । नीति निर्माण, प्रशासन र सेवा प्रवाहमा प्राप्त अनुभवले उनलाई एउटा स्पष्ट निष्कर्षमा पुर्याौयो, समस्या जति नै जटिल भए पनि, समाधान सम्भव हुन्छ । अर्थात् संसारका हर समस्याहरू समाधान र सम्भावना बोकेर आउँछन् ।
आफ्नै माटोप्रतिको माया र जिम्मेवारी बोध गर्दै दाङमै फर्किएका उनका यी सिर्जनशील पाइलाहरूले दङ्गाली माटोलाई धेरथोर भए पनि विकासका केही नमुनाहरूले मलिलो बनाइरहेका छन् । स्वास्थ्य क्षेत्रमा सुरु गरिएको पहल आज हजारौँ नागरिकका लागि भरोसाको केन्द्र बनेको छ । सेवा अस्पतालमा मात्र सिमित रहेन, पूर्वाधार, सिँचाइ, वातावरण संरक्षण र शिक्षा समुदायसम्म फैलिइरहेको छ ।
खेलकुदमा पनि उनको दृष्टि स्पष्ट छ । किरण किशोर घिमिरे मैदानमा देखिने अनुहार होइनन्, तर मैदान सम्याउने पौरखी हात हुन् । लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो फ्रेन्चाइज दाङली क्रिकेट लिग अन्तर्गतको दाङली लायन्स क्रिकेट टिमसँग जोडिँदा, यो केवल खेलको कुरा रहेन बरु यो त दाङका कैयौ युवाका सपना, भविष्य, अनुशासन र आत्मविश्वाससँग जोडिएको यात्रा बन्यो ।
खेलकूद उनका लागि पद वा प्रचारको साधन होइन, युवाले आफ्नै क्षमतामाथि विश्वास गर्न सिक्ने एउटा बलियो पाठशाला पनि हो । किनकि भविष्यको भविष्यवाणी भविष्यको सिर्जनाबाटै हुन्छ । राजनीतिको यो मूल राजमार्गमा यात्रा गर्ने पहिलो शर्त हो, फागुन २१ को चुनावी परीक्षामा उत्तीर्ण । यो अघिपछिको जस्तो नियमित चुनाव होइन ।
परम्परागत राजनीतिक दलहरूको गठबन्धन वा उनीहरूको मिलिभगत पनि होइन । गत भदौ २३ गतेको जेनजी विद्रोहर नरसंहार अनि २४ गतेको विध्वंशले जसरी यो समाज अनि राजनीतिलाई बिथोलिदियो त्यसैको निकासको एउटा निर्विकल्प बाटो हो–फागुन २१ को चुनाव ।
उस्तै उस्तै चुनावी रित लागे पनि परिस्थिति अलि फरक छ यसपालि । एउटा आकष्मिकताले निम्त्याएको यो चुनावमा उनका प्रतिष्पर्धीहरूको चुनौती एकातिर छँदैछ, त्यसमाथि बिथोलिएर फेरि सम्मालिन खोजिरहेको आफ्नै पार्टीभित्र पनि उनले आफ्नो स्विकारोक्ति बढाउनैपर्नेछ ।
पटक पटक यही क्षेत्रमा चुनाव लडेका नेकपा एमालेका महासचिव शंकर पोखरेल उनका मुख्य प्रतिस्पर्धी हुन् । अहिलेसम्मका सबैजसो चुनाव लडेका पोखरेलले प्रतिनिधि सभामा २०५१ बाहेक अरु कुनै चुनाव भने जितेका छैनन् । २०७४मा प्रदेशबाट भने उनले निर्वाचन जिते । अझ अर्को संयोग त के छ भने किरणकिशोर शंकरसँग भिड्न लागेका घिमिरे परिवारका तेस्रो सदस्य हुन् ।
२०५६ सालमा पोखरेललाई नेपाली कांग्रेसका कृष्णकिशोर घिमिरेले पराजित गरे । २०७० सालको प्रदेश सभामा पोखरेलले कांग्रेसकै कमलकिशोर घिमिरेलाई पराजित गरे । यसपालि शंकरसँग किरणकिशोर भिड्दैछन् । शंकरसँग भिड्दै आएका र अहिले भिड्न लागेका यी घिमिरेहरू एउटै घरका दाजुभाइहरू हुन् । यो एउटा राजनीतिक संयोगमात्रै हो ।
चुनौतीका पहाडहरू यसपालि साना छैनन्, सजिला पनि पक्कै छैनन् । बालेन साह अनि रवि लामिछानेको ‘क्रेज’मा उर्लिएको यसपालिको चुनावी लहरमा राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री बिपिन आचार्यलाई खडा गरेको छ । देशभरिजस्तै चलेको यो ‘स्वतन्त्र’ बतासलाई पनि किरणले साम्य पार्नुपर्नेछ ।
यही बताससँगै अहिले नेपाली राजनीतिक समाजमा हुँइकिएको ‘नयाँ अनि पुराना’हरूको एउटा नवनिर्मित भाष्य यो चुनावी यात्राको अर्को चुनौती हो तर किरण आफैमा त्यस्तो पुस्तासँग रमाउने व्यक्ति हुन्, किनकि उनले आजसम्मको जीवनभरि जुन कर्म गरे त्यसमा ‘पुस्ता(अन्तर’का कृत्रिम पहाडहरू हुँदैनन् । सबै समान हुन्छन्, सबका बराबर हुन्छ ।
‘यो क्षेत्रका युवालाई परदेशमा मात्रै बरु त्यहाँको सिप सिकेर, आफ्नै माटोमा भविष्य देखाउन चाहन्छु । सीप, रोजगारी र उद्यमका अवसर यहीँ सिर्जना गर्न सकिन्छ भन्ने मेरो दृढ विश्वास हो’ नयाँ अनि पुरानाहरूबीच खडा भएको यो नकारात्मक भाष्यलाई चिर्दै किरण भन्छन् ‘अनुभवले निर्णयलाई परिपक्व बनाउँछ, र इमानले जनताको भरोसा जितिन्छ । यी दुई बिना नेतृत्व टिकाउ हुँदैन ।’
गठबन्धन नभएपछि यो क्षेत्रमा अरु पनि थुप्रै पार्टी र स्वतन्त्रहरू पनि प्रतिष्पर्धामा छन् तर २१ जनाको यो चुनावी मैदानबाट राजनीतिको राजमार्गमा झुल्किन कस्किएका ‘किरणकिशोर’को आत्मविश्वास भने कत्ति पनि डगमगाएको छैन । उनका लागि पार्टीमात्रै नभएर उनले कोरेका सामाजिक अनि व्यावसायिक गोरेटोमा गाँसिएका कैयौ सारथीहरू पनि छन् ।
‘म परिस्थितिसँग परिचित भएरमात्रै आफ्नो यात्रा अघि बढाउने स्वभावको मान्छे हुँ । सामाजिक सेवा अनि व्यावसायिक यात्राका क्रममा पनि म भुक्तभोगी भएको छु । म मान्छेको मनमनमा छु कि जस्तो लाग्छ, जस्तो कैयौ मान्छेहरूमा मेरो मनमनमा छन्’ किरणलाई थाहा छ, ‘चुनौतीहरू तमाम छन् ।
प्रतिष्पर्धा सजिलो छैन । चुनाव भनेको मात्रै चुनौतीहरूको सामना होइन, जनताबाट अनुमोदन हुने, परीक्षित हुने एउटा अवसर पनि हो । आफैले पहिल्याएको बाटो नै राजनीतिक भविष्यको निकास बन्छ भन्नेमा म ढुक्क छु ।’
यी तमाम, अनुभवन शिक्षा र जीवनदृष्टि,लिएर घिमिरे जनताका बीचमा छन् दाङ क्षेत्र नं २ मा प्रतिनिधि सभाको उम्मेदवार बनेर । राजनीतिक जीवनको यो अनिवार्य परीक्षा उनका लागि सत्ता प्राप्तिको साधन भने कहिल्यै हुनेछैन, बरु यो त जनसेवाको अझ गह्रुङ्गो जिम्मेवारी हो । र, उनका लागि नेतृत्व पदको हैसियत होइन,उत्तरदायित्व र जवाफदेहिताको आत्मबचन हो ।
