नसर्ने रोगसम्बन्धी अभिमुखीकरण

प्रिया स्मृती गजमेर
देउखुरी, १५ फागुन । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मूल नाराका साथ लमही नगरपालिकाभित्र रहेका लमही अस्पताल, विभिन्न स्वास्थ्यचौकी तथा नगर स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रशिक्षण प्रदान गरिएको छ ।

नसर्ने रोगका पहिचानका लागि सञ्चालन गरिने स्क्रिनिङ अभियानसम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रममा रक्तचाप परीक्षण, उचाइ तथा तौलको आधारमा स्वास्थ्य परीक्षण, मधुमेह परीक्षण, पिसाब परीक्षणमार्फत् मृगौलासम्बन्धी रोगको जाँचलगायतका विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रममा नसर्ने रोगको समयमै पहिचान र नियन्त्रणका उपायबारे जानकारी गराइएको थियो ।

फागुन २६ गते वडा नम्बर १ को कार्यालयबाट सुरु हुने अभियान २७ गते सोनपुर स्वास्थ्यचौकी, २८ गते वडा नं. ३ को कार्यालय, २९ गते सेम्रहवा नगर स्वास्थ्य केन्द्र, ३० गते आदर्श नमुना माध्यमिक विद्यालय देउपुरमा सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार चैत १ गते मध्यनगर नगर स्वास्थ्य केन्द्र, २ गते कोलही नगर स्वास्थ्य केन्द्र, ३ गते वनगैँ नगर स्वास्थ्य केन्द्र, ४ गते वडा नं. ७ को वडा कार्यालय, ५ गते सतबरिया स्वास्थ्यचौकी, ६ गते वडा नं. ९ को कार्यालय र चैत्र ७ गते अमिलिया नगर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिनेछ ।

लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले नसर्ने रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै समुदाय स्तरमै नियमित परीक्षण र जनचेतना आवश्यक रहेको बताए । उनले स्थानीय तहले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको बताए ।

उपप्रमुख लक्ष्मी योगीले नसर्ने रोगहरू अहिले समुदाय स्तरमै बढ्दो समस्याका रूपमा देखापरेको उल्लेख गर्दै समयमै परीक्षण र सचेतना नै रोकथामको प्रभावकारी उपाय भएको बताइन् । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नारालाई व्यवहारमा उतार्दै प्रत्येक नागरिकलाई नियमित स्वास्थ्य परीक्षण गर्न प्रेरित गर्नु पर्ने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले नसर्ने रोग पहिचान र नियन्त्रणका लागि आवश्यक समन्वय, स्रोत र व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले वडास्तरमै स्वास्थ्य सचेतना कार्यक्रमलाई सशक्त रूपमा अगाडि बढाइने बताए । उनले नागरिकको स्वास्थ्य अवस्था पहिचान गरी समयमै उपचारको पहुँचमा ल्याउनु स्थानीय तहको दायित्व भएको बताए ।

नारायणप्रसाद शर्माले प्रशिक्षण दिएको अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाह, लमही नगरपालिकाका कार्यपालिका सदस्य सुनिता चौधरी र देवा परियारको उपस्थिति रहेको थियो ।