दाङ,१४ फागुन । नेकपा एमालेका महासचिव एवम् दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले संकल्पपत्र सार्वजनिक गरेका छन् । ‘दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ, समृद्ध नेपाल’ मूल नारासहित संकल्पपत्र सार्वजनिक गरेका हुन् ।
उम्मेदवार पोख्रेलले आफ्नो संकल्पपत्रमा प्राथमिकताका रूपमा ‘पाँच वर्षमा पाँच क्रान्ति’ लाई अघि सारेका छन् । दाङलाई तीव्र विकासको मार्गमा अघि बढाउन आर्थिक तथा पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सुशासन क्षेत्रमा एकसाथ रूपान्तरण आवश्यक रहेको भन्दै पोख्रेलले पहिलो क्रान्ति आर्थिक तथा पूर्वाधार क्षेत्रमा केन्द्रित हुने बताए ।
जसअन्तर्गत सडक सञ्जाल विस्तार, औद्योगिक क्षेत्र निर्माण, जलाशय तथा सिँचाइ आयोजना कार्यान्वयन र लगानीमैत्री वातावरण सिर्जना गरिने उल्लेख गरेका छन् । शैक्षिक क्रान्तिमार्फत दाङलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्दै डिजिटल शिक्षा, प्राविधिक अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिइने, स्वास्थ्य क्रान्तिअन्तर्गत जिल्ला अस्पतालहरूको स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार, मेडिकल कलेज पूर्वाधार निर्माण र सबै नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने योजना अघि सारेका छन् ।
प्रविधि क्रान्तिमार्फत ई–गभर्नेन्स, डिजिटल सेवा विस्तार, नवप्रवर्तन केन्द्र स्थापना र युवालाई प्रविधिमैत्री अवसर सिर्जना गरिने, सुशासन क्रान्तिअन्तर्गत भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति, पारदर्शी प्रशासन र परिणाममुखी कार्य संस्कृति विकास गरिने लक्ष्य राखिएको छ । पोख्रेलले पाँच क्रान्तिलाई दाङको दीर्घकालीन समृद्धिको आधार स्तम्भका रूपमा प्रस्तुत गर्दै मतदातालाई विकास र स्थायित्वको पक्षमा उभिन आग्रह गरेका छन् । पाँच वर्षभित्र संरचनात्मक परिवर्तन ल्याएर दाङलाई प्रदेश मात्र नभएर राष्ट्रिय विकास–मोडेलका रूपमा स्थापित गर्ने लक्ष्य संकल्पपत्रमा उल्लेख गरेका छन् ।
पोख्रेलले आफूले अघि सारेका प्रतिबद्धतामध्ये अधिकांश पूरा गरेको दाबी गर्दै अधुरा योजना सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गरेका छन् । दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा गरिएको उल्लेख गर्दै संघीयता कार्यान्वयनको नेतृत्व गरेको, राजधानीको गुरुयोजना निर्माण गरी प्रदेशसभा भवन तथा स्थायी पूर्वाधार निर्माणको प्रक्रिया सुरु गरेको, दाङको दीर्घकालीन पूर्वाधार विकासको आधार तयार पार्नका साथै घोराही–तुलसीपुर चारलेन सडक समयमै निर्माण सम्पन्न गर्ने, घोराही–लमही सडक खण्डअन्तर्गतको अर्जुनखोला–मसौट तथा चौपट्टा खण्डका चारलेन सडकको डीपीआर तयार गरिएको र वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको जानकारी दिएका थिए ।
३५० बिगाहा क्षेत्रफलमा घोराही औद्योगिक क्षेत्र स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढेको र डिपिआर तयारी तीव्र रूपमा भइरहेको, ग्वारखोला हाईड्याम,माडी डाइभर्सन आयोजनाका लागि बजेट विनियोजन र अध्ययन कार्य अघि बढाइएको, स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र एमडी अध्ययन सुरु भएको, लमहीमा ट्रमा सेन्टर स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको तथा यसै आर्थिक वर्षभित्र सेवा सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताएका थिए ।