Goraksha

National Daily

साहित्यकार सुरेशकुमार पाण्डेको लघुकथा ‘आवाज’ लोकार्पण

​दाङ, १० फागुन । साहित्यकार सुरेशकुमार पाण्डेको लघुकथा ‘आवाज’ लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा शनिवार घोराहीमा साहित्यकार पाण्डेको दोस्रो लघुकथा सङ्ग्रह ‘आवाज’ एक विशेष समारोहकाबीच लोकार्पण गरिएको हो।

राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ९६ वर्षीय वरिष्ठ पत्रकार एवम् साहित्यकार नारायणप्रसाद शर्मा प्रमुख अतिथिको रूपमा रहेका थिए । ​लोकार्पण समारोहमा भाषा आयोगका निवर्तमान सदस्य डा अमर गिरी, प्राज्ञ उत्तमकृष्ण मजगैया र राप्ती साहित्य परिषद् केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि नारायण प्रसाद शर्मा, विशिष्ट अतिथिहरू डा।अमर गिरी, उत्तमकृष्ण मजगैया, सल्लाहकार पुरुषोत्तम खनाल,नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक विभागका निर्देशक डा टीकाराम उदासी,राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटा,नेपाल पत्रकार महासङ्घ दाङका केन्दीय सचिव सविन प्रियासन, सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाली लेखक संघका अध्यक्ष डा हिमलाल पन्थी, समीक्षक वसन्त अनुभव, लेखक पाण्डेसहित संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।

लाकार्पण गरिएको कृति ‘आवाज’ माथि समीक्षात्मक टिप्पणी राख्दै वसन्त अनुभवले पाण्डेका लघुकथाहरूले समाजका विसङ्गति र समसामयिक मुद्दाहरूलाई सशक्त रूपमा उजागर गरेको बताएका थिए । उनले सङ्ग्रहले नेपाली लघुकथाको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा डा अमर गिरी, उत्तमकृष्ण मजगैया, पुरुषोतम खनाल, सविन प्रियासन, काशीनाथ पोखरेल र मनिषा पाण्डे रेग्मीले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरूले लेखक पाण्डेको निरन्तरको साहित्यिक साधना र समाजप्रतिको उत्तरदायी लेखनको प्रशंसा गरेका थिए । सहसचिव विना रोकाको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए ।