जेसीजले आज उम्मेदवारसँग ककस गर्ने
दाङ,६ फागुन । त्रिभुवननगर जेसीज घोराही र दाङ महिला जेसीजले दाङ क्षेत्र नं. २ का उम्मेदवारसँग आज घोराहीमा ककस (संवाद कार्यक्रम) गर्ने भएको छ । जेसीजले बुधबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुन ७ गते बिहीबार घोराहीमा उम्मेदवारसँग प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।
कार्यक्रममा दाङ क्षेत्र नं. २ का उम्मेदवारहरू सहभागी भई आफ्नो योजना, प्रतिबद्धता तथा विकास दृष्टिकोण प्रस्तुत गर्ने र सहभागीहरूले प्रत्यक्ष प्रश्न–उत्तर गर्न पाउने व्यवस्था गरिएको त्रिभुवननगर जेसीजका अध्यक्ष मिनराज भाटले जानकारी दिएका छन् । उनका अनुसार युवा नेतृत्व विकास तथा जिम्मेवार राजनीतिक संस्कार प्रवद्र्धन गर्ने उद्देश्यले ककस कार्यक्रम आयोजना गर्न लागिएको छ । बिहान ११ः३० देखि सुरु हुने ककसमा नेपाली कांग्रेसका उम्मेदवार, कमलकिशोर घिमिरे, नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेल, नेपाली कम्युनिष्ट पाटीका उम्मेवार निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिपिनकुमार आचार्यलगायतका उम्मेवार अतिथिका रुपमा रहने भएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले निर्वाचनका क्रममा धुर्वीकरण भइरहेको समयमा जेसीजले ककसका माध्यमबाट उम्मेदवारलाई एउटै मञ्चमा राखेर विकासका एजेण्डामाथि छलफल गराउने बातावरण निर्माण गर्नु राम्रो पक्ष भएको बताए । यस्ता कार्यक्रमले जिल्लाको विकासका लागि योजना निर्माणसँगै बिचारका आधारमा मतदातालाई भोट दिन समेत सहयोग पुग्ने बताए ।
दाङ महिला जेसीजकी अध्यक्ष अर्चना शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ महिला जेसिजकी कार्यकारिणी उपाध्यक्ष आरधनासिंह ठकुरीले आस्थापाठ गराएकी थिइन । पत्रकार सम्मेलनको सहजीकरण त्रिभुवननगर जेसीजका महासचिव बाबुराम पाण्डेयले गरेका थिए ।
