Goraksha

National Daily

निःस्वार्थ समाज सेवा गर्न पाउँदाको खुसी …

हरेक मानिसको चाहना पढेलेखेर जागिर खाने तथा ठुलो व्यापार–व्यवसाय गरेर पैसा कमाउने वा अन्य कुनै ठुलो मान्छे बन्ने हुन्छ । तर समाजमा त्यस्ता मान्छे पनि छन्, जो निरन्तर तीन दशकदेखि समाज सेवामै आफू खुसीका साथ सत्कर्म गर्दै आएका छन् । उनी समाज सेवामै रमाइरहेका छन् ।

समाज सेवा होस् वा शिक्षा, स्वास्थ्य, खानेपानी, राजनीति देखि धर्मकर्ममा खुसीका साथ निस्वार्थ ४४ वर्षदेखि लागेका तुलसीपुर निवासी नारायणप्रसाद शर्माले आफू समाज सेवामै आफ्नो जीवन बिताएको र विगत देखि हालसम्म समाज सेवामै खुसीका साथ लागेको बताए ।

तुलसीपुरमा हुने विभिन्न धार्मिक, सामाजिक पुण्यकर्म होस् वा अस्पताल स्थापना देखि विद्यालयको शिक्षा सुधारमा आफूले धेरै लगानी गरेको भन्दै खुसीका साथ आफू समाज सेवामा लाग्न पाउँदा आनन्दित हुने उनले बताए । सधैं मुस्कानका साथ सामाजिक कर्ममा लाग्ने नारायणप्रसाद शर्माले राप्ती बबई क्याम्पस सञ्चालक समितिको सदस्य हुँदै सिर्जनशील आधारभूत विद्यालयमा संस्थापक अध्यक्ष भएर शैक्षिक उन्नति र भौतिक विकासमा आफूले धेरै पहल गरेको र अहिले ती शैक्षिक संस्थाहरूको उन्नति–प्रगति देख्दा निकै खुसी लाग्ने गरेको सुनाए ।

‘म तुलसीपुर–१ मा रहेको एउटा विद्यालयमा संस्थापक अध्यक्ष भएर शिक्षा क्षेत्रमा काम गर्न पाएँ, सबैले विश्वास गर्नुभयो र अन्य क्षेत्रमा पनि लागेँ, म यसमा पनि खुसी छु’, शर्माले भने । उनले वाराणसीबाट सरस्वतीको मूर्ति ल्याएर त्यहाँ स्थापना गर्दा होस् वा त्यहाँको भौतिक विकासमा आफूले गर्ने नेतृत्वदायी भूमिका रहँदा आफूलाई निकै खुसी लाग्ने गरेको सुनाए ।

त्यस्तै तत्कालीन अञ्चल अस्पताल निर्माण गर्दा पनि आफू निर्माण समितिको सचिव रहेको र अस्पताल निर्माणका लागि महापुराण लगाएर सो कार्य सम्पन्न गर्न पाउँदा पनि आफूलाई धेरै खुसी लागेको शर्माले बताए । ‘तत्कालीन अवस्थामा अञ्चल अस्पताल तुलसीपुरमा निर्माण गर्नुपर्छ भनेर हामीहरू धेरै ठाउँमा आन्दोलनमा गएका थियौँ, त्यो अभियान सफल भयो, अहिले अस्पताल बनेको छ, यसमा पनि मलाई खुसी लाग्छ’, शर्माले भने ।

उनले आफू नामीनगर टोल विकास संस्थाको पूर्व अध्यक्ष समेत रहेको भन्दै डिल्लीबहादुर बस्नेतको संयोजकत्वमा महापुराण लगाउँदा र रकम सङ्कलन गरी अस्पताल निर्माण गर्दा निकै खुसी लागेको सुनाए । उनले त्यसमा तुलसीपुरका सबै क्षेत्रका व्यक्तिहरूले सहयोग गरेको समेत बताए ।

त्यस्तै तुलसीपुरमा ज्येष्ठ नागरिकहरूको भवन निर्माण देखि अन्य विभिन्न विकास निर्माणका लागि महायज्ञ, महापुराण लगाउँदा आधा दर्जनभन्दा बढी धार्मिक कार्यमा आफू आर्थिक संयोजक भई महापुराण लगाएर रकम सङ्कलन गरी विकास निर्माण गर्न पाउँदा आफूलाई खुसी लागेको शर्मा बताउँछन् ।

‘कृष्ण मन्दिरको पनि म उपाध्यक्ष भएँ, त्यतिबेला हामीहरूले महापुराण लगाएर त्यहाँ सभाहल देखि पर्खाल निर्माण गरेका थियौँ, त्यो जिम्मेवारी पाउँदा र काम गर्न पाउँदा मलाई अहिले पनि खुसी लाग्छ’, शर्माले भने । त्यस्तै ज्येष्ठ नागरिकको सल्लाहकारको भूमिकामा रहेर तुलसीपुरको बगैंचामा खुला आकाशमा ज्येष्ठ नागरिकहरूले बैठक–छलफल गर्ने अवस्थाबाट आज भवन निर्माण भएको देख्दा तथा त्यसमा आफूले पनि पहल गर्न पाउँदा खुसी लाग्ने गरेको शर्माले बताए ।

२०२० सालमा दमाचौर, सल्यानमा जन्मिएका शर्माले दाङ आएका संगै निरन्तर समाज सेवामा लाग्न पाउँदा र सबैको सहयोग तथा विभिन्न काम गर्ने जिम्मेवारी दिँदा खुसी लाग्ने गरेको सुनाए । त्यस्तै नेपाली कांग्रेस दाङको जिल्ला कार्यसमिति सदस्य भई पार्टीको संगठन निर्माण र पार्टीले दिएको जिम्मेवारी पूरा गर्न पाउँदा अर्को खुसी मिलेको शर्माले बताए ।

त्यस्तै नामीनगर टोल विकास संस्थाको अध्यक्ष हुँदा टोललाई स्वच्छ र सफा राख्न पनि आफूले ठुलो भूमिका खेलेको भन्दै त्यसमा पनि आफूलाई खुसी लाग्ने गरेको सुनाए । उनले आफ्नो इमान्दारिता र लगनशीलतालाई देखेर विभिन्न जिम्मेवारीहरू सबैले दिने गरेकोमा पनि खुसी व्यक्त गरे ।

त्यस्तै तुलसीपुर खानेपानी संस्थाको उपाध्यक्षको टिकट पाएर खानेपानी संस्था जस्तो पवित्र संस्थामा निर्वाचित हुँदा पनि आफूलाई निकै खुसी लागेको शर्माले सुनाए । ‘मलाई तुलसीपुर खानेपानी संस्थाको उपाध्यक्षमा टिकट दिनुभयो, निर्वाचन पनि जितेँ, अहिले खानेपानी सहज आपूर्तिका लागि काम गर्न पाएको छु, यसमा पनि मलाई खुसी लागेको छ’, शर्माले भने ।

उनले विभिन्न संघसंस्था तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसरका साथै सबैले विश्वास गरी जिम्मेवारी दिएकोमा पनि खुसी व्यक्त गरे । त्यस्तै घरपरिवारमा पनि छोराहरू सबै आफ्नो पेसामा लागेको र आफू समाज सेवामा लाग्दा घरपरिवारबाट पनि सहयोग मिलेको भन्दै खुसी व्यक्त गरे । शर्माले विभिन्न समयमा विभिन्न व्यक्ति र समाजमा सेवा गरेको भन्दै आफूलाई त्यसैमा खुसी लाग्ने गरेको सुनाए ।

त्यस्तै उनले भ्यूडरसुनपुरस्थित वीरेन्द्र माविमा काम गर्ने एक व्यक्तिलाई जागिरबाट हटाएको अवस्थामा आफूले सहयोग गरी राहत गरेको र उनले जीवनभरि सम्झने गरेको भन्दै खुसी व्यक्त गरे । ‘मैले सबैको भलो र सबैलाई सहयोग गर्दछु, निरन्तर लोभ–लालच नपाएर निस्वार्थ सामाजिक सेवामा क्रियाशील छु, म यसैमा खुसी छु, खुसी आफैंभित्र नै छ । खुसी खोज्न अन्तत्र जानु पर्दैन’, शर्माले भने ।

प्रस्तुति  : बालाराम खड्का