सञ्जीवनी अस्पतालको सेवा माघ २८ देखि, चार अर्ब लगानी

अमरराज आचार्य
दाङ, २७ माघ । दाङमा तीन सय श्ययाको सञ्जीवनी टिचिङ अस्पताल सञ्चालनमा आउने भएको छ । निजी क्षेत्रको करिब चार अर्ब रुपौयाँको लगानीमा घोराही–३ बर्गदुवामा स्थापना भएको सञ्जीवनी टिचिङ अस्पतालले माघ २८ गतेदेखि सेवा दिने भएको हो ।

अस्पतालले सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण, जनशक्ति तथा प्राविधिक तथा जनशक्ति व्यवस्थापनको सम्पूर्ण कार्य पूरा भएको सञ्जीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले जानकारी दिएका छन् । उनका अनुसार २०७८ सालदेखि निर्माण सुरु भएको अस्पताल औपचारिक रूपमा सेवा प्रदान गर्न थालेको छ । अस्पतालले २४ सै घण्टा विशेषज्ञ चिकित्सकसहितको सेवा दिने गरी सञ्चालनको तयारी भएको भन्दै पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत रोकाले भने, ‘काठमाडौं, बुटवलसँगै नेपालगन्ज गएर बिरामीले लिने सेवा दाङमै दिने गरी सेवा सञ्चालन गर्दै छौँ ।’

उनका अनुसार विशेषज्ञसहितको सेवा सञ्चालनका लागि अस्पतालमा ३५ जना विशेषज्ञ डाक्टर, २५ देखि ३० जना एमबिबिएस डाक्टर र एक सय ३० जना एचए, नर्स, अनमी, फार्मेसिष्टलगायलगायतको जनशक्ति भएको बताए । अस्पताल सञ्चालनको करिब दुई महिना चैतसम्म ओपिडी भर्ना शुल्क निःशुल्क रहनेसमेत जानकारी दिए । विशेषज्ञ सेवा सञ्चालन गरेको करिब तीन महिनापछि अस्पतालले कार्डियोलोजी, न्यूरोलोजी, युरोलोजीलगायतका सेवा सञ्चालन गर्ने गरी तयारी भइरहेको प्रमुख कार्यकारी अधिकृत रोकाले जानकारी गराएका थिए ।

बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानै नपर्ने गरी सेवा दिने गरी तयारी भएको भन्दै प्रमुख कार्यकारी अधिकृत रोकाले भने, ‘अब दाङमा ठुला दुर्घटना वा अन्य कुनै पनि ठुला प्रकोपका करिब पाँच सयसम्म बिरामीलाई एकै पटक सेवा दिन सकिनेछ । इमरजेन्सी सेवाको व्यवस्थासमेत गरेका छौँ ।’ सञ्जीवनी टिचिङ अस्पताल अत्याधुनिक सुविधासहितको उपत्यका बाहिरको अस्पताल भएको भन्दै उनले विशेष गरी पश्चिम नेपालमा यस्तो अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भएको दाबी गरेका छन् ।

अस्पताल सञ्चालन भएपछि दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यानका सेवाग्राहीलाई लाभ मिल्ने उनी बताउँछन् । ‘हाम्रो योजना अनुसार सेवा सुरु भएपश्चात् साविक राप्ती मात्र नभइै लुम्बिनी प्रदेशका नागरिक सेवा लिन दाङ आउनेछन्’, प्रमुख कार्यकारी अधिकृत रोकाले भने । अस्पतालको अल्पकालीन योजना अनुसार तीन सय श्ययाको मल्टिस्पेसियालिटी अस्पताल सञ्चालनमा आउन लागेको हो । जस अन्तर्गत ओपिडीमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसूति, जनरल सर्जरी, मानसिक तथा नसारोग, छाला तथा यौन, शिशु तथा बालरोग, मुटु रोग, ग्यास्ट्रोलोजी, इएनटी, डेन्टल, नेत्र रोग तथा फिजियोथेरापी विशेषज्ञ सेवा उपलब्ध हुनेछन् ।

यसैगरी क्रिटिकल केयुरमा आइसियु, सिसियु, एमआइसियु, एनआइसियु, पिआइसियु, एसआइसियु, एचडियु र हेमोडायलासिस सेवा रहेका छन् । यसैगरी रेडियोग्राफीतर्फ डिजिटल एक्स–रे, भिडियो एक्स–रे, म्यामोग्राफी, इसिजी, इको, सिटी–स्क्यान, एमआरआई, इन्टर्भेन्सनल इन्डोस्कोपी, क्लोनस्कोपी सेवा रहेका छन् । अन्य सेवामा क्याथल्याव, पिएफटी, इएमजी, इइजी, ब्लड बैंक र एम्बुलेन्स सेवा उपलब्ध छन् । चौबिसै घण्टा इमेरजेन्सी, फार्मेसी र ल्याव सेवा उपलब्ध हुने तथा मोडुलर ओटीमा सामान्य तथा मेजर सर्जरीहरू हुने उनले बताए ।

आगामी वर्षबाट नर्सिङ तथा पारामेडिक्स विषयहरू अध्यापन गराइने भएको छ । तीन वर्षपछि अस्पतालको श्यया सङ्ख्या पाँच सय पु¥याउने तथा एमबिबिएस र बिडिएसलगायका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ल्याइने भएको छ । अस्पतालका करिब तीन सय ५० जना कर्मचारीले रोजगारी प्राप्त गरेका छन् । निजी क्षेत्रको लगानीमा स्थापन भएको अस्पतालले जनस्वास्थ्य सेवा ऐन २०७५, जनस्वास्थ्य सेवा नियमावली २०७७, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ तथा अन्य मौजुदा कानुनको अधीनमा रही आफ्नो सेवा प्रवाह गर्ने जनाएको छ । अस्पतालका सञ्चालक अध्यक्ष खुमाप्रसाद अर्याल रहेका छन् । पत्रकार सम्मेलमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, पत्रकार शरद अधिकारी, अस्पतालका डाइरेक्टर मदन पन्थीलगायतले बोलेका थिए ।