लीलाधर वली
दाङ, २७ माघ । राप्ती गाउँपालिका–८ पिपरी निवासी सुमित्रा गुरुङ सामान्य गृहिणी महिला हुन् । बिहान–साँझ घरधन्दा गर्ने गुरुङको दिउँसोको समय प्रायः फुर्सदिलो बित्थ्यो । त्यही फुर्सदको समयलाई सदुपयोग गर्दै दुई वर्ष अघि गाउँका १० जना महिला दिदीबहिनी मिलेर गार्मेन्ट उद्योग सञ्चालन गरेपछि अहिले आम्दानीसँगै आत्मनिर्भर बन्दै गएका छन् ।
उनका अनुसार दुई वर्ष अघि पिपरीमा स्थापना गरिएको राप्ती महिला उद्यमी गार्मेन्ट उद्योग अहिले घरपरिवारको खर्च धान्ने भरपर्दो माध्यम बनेको छ । घरायसी कामसँगै गार्मेन्टमा समय दिँदा प्रत्येक सदस्यले मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको उद्योमी समूहकी सचिवसमेत रहेकी गुरुङ बताउँछिन् । गार्मेन्टबाट आम्दानी हुन थालेपछि साना–ठुला खर्चका लागि अरूमा निर्भर हुनु पर्ने बाध्यता हटेको उनको भनाइ छ ।
‘सिप नसिकेर घरमै बसेको भए अहिले पनि परिवारकै भर पर्नु पर्ने अवस्था हुन्थ्यो’, गुरुङ भन्छिन्, ‘आफूले कमाउन थालेपछि आफ्ना आवश्यकताका लागि श्रीमान् समक्ष हात थाप्नु पर्ने बाध्यता हटेको छ, आफूलाई मन परेको किन्न र लाउन आफ्नै कमाइले धान्ने भएका छौँ ।’ उनका अनुसार गार्मेन्टमा विद्यालयका पोसाक, खेलकुद जर्सी तथा महिलाका लागि आवश्यक विभिन्न कपडा सिलाइन्छन् ।
गार्मेन्टमा कार्यरत अर्की महिला उत्तम चौधरी पनि बिहान–साँझ घरधन्दा र दिउँसो गार्मेन्टमा कटाइ सिलाइको काम गर्दै आएकी छन् । गार्मेन्ट सञ्चालनपछि परिवारको खर्च व्यवस्थापन सहज भएको उनी बताउँछिन् । ‘पहिले घरको काम सकेपछि फुर्सदको समय खाली बित्थ्यो, अहिले त्यही समय आम्दानीको स्रोत बनेको छ’, चौधरी भन्छिन्, ‘यसले व्यक्तिगत खर्चसँगै परिवारको आर्थिक अवस्थालाई पनि मजबुत बनाएको छ ।’
एक्लै व्यवसाय सञ्चालन गर्दा आर्थिक अभाव र बजारको ज्ञान नहुँदा समस्या हुने भएपछि समूह बनाएर गार्मेन्ट उद्योग सञ्चालन गरिएको चौधरीको भनाइ छ । ‘वडाले कटाइ सिलाइसम्बन्धी तालिम दिएपछि साथीहरूसँग सल्लाह गरेर गार्मेन्ट सुरु ग¥यौँ । अहिले विद्यालयका ट्राउजर, भेस्ट, जर्सीलगायत महिलासम्बन्धी सबै प्रकारका कपडा सिलाइन्छ’, उनले भनिन् । महिलाले सञ्चालन गरेको गार्मेन्ट उद्योगमा सिलाइसम्बन्धी सम्पूर्ण काम महिलाले नै गर्दै आएका छन् ।
गार्मेन्ट उद्योग सञ्चालनका लागि कटाइ सिलाइसम्बन्धी तालिम तथा आवश्यक मेसिन राप्ती गाउँपालिका र वडा नं. ८ कार्यालयले सहयोग गरेका हुन् । वडा कार्यालयबाट चारवटा सिलाइ मेसिन, एउटा इन्टरलक र छपाइसम्बन्धी मेसिन तथा गाउँपालिकाबाट एउटा टाँकघर बनाउने मेसिन र एउटा अतिरिक्त सिलाइ मेसिन उपलब्ध गराइएको गुरुङ बताउँछिन् । उद्योग सुरु गर्दा प्रत्येक सदस्यले १०÷१० हजार रुपैयाँ लगानी गरेर कपडा खरिद गरेर व्यवसाय सञ्चालन गरिएको हो ।
महिलालाई गार्मेन्टसम्बन्धी दुईमहिने तालिम गाउँपालिकाले प्रदान गरेको थियो । सुरुमा विश्वासको अभावका कारण कोठा भाडा तिर्नसमेत कठिन भएको स्मरण गर्दै चौधरीले हाल भने दाङ जिल्लासँगै प्युठान र सुर्खेतसम्मबाट अर्डर आउन थालेको बताइन् । उद्योगका लागि आवश्यक सामाग्री बुटवलबाट मगाउने गरेको बताउँछिन् । गार्मेन्ट उद्योग सञ्चालन गर्ने महिलामा केशरा गुरुङ, उत्तम चौधरी, छवि गुरुङ, सुमित्रा गुरुङ, सिमा चौधरी, मिना चौधरी, हेमकला रोका, कल्पना पुन, प्रतीक्षा विक र अनु श्रेष्ठ रहेका छन् ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले महिलाले सामूहिक रूपमा काम गर्दा सिपको आदान प्रदान हुनुका साथै उद्योग सञ्चालन सहज भएको बताए । ‘ठुलो व्यवसाय नभए पनि महिलाले सिलाइदेखि बजार व्यवस्थापन सम्मको काम आफैँ गरेर पालिकामा नमुना काम प्रस्तुत गरेका छन्’, अध्यक्ष विष्टले भने, ‘पालिकाले क्षमता विकास र प्रविधिमा सहयोग गरेपछि सानो लगानीमै आम्दानी गरेर परिवार चलाउन सफल भएका छन् ।’