गढवा अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता

आलोक भावुक
गढवा, २५ माघ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नं. ६ स्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा गढवा गाउँपालिकास्तरीय अन्तर विद्यालय मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगिता शनिवारदेखि औपचारिक रूपमा सुरु भएको हो । भलिबल प्रतियोगितामा गढवा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी ९ विद्यालयको सहभागिता रहेको छ । पहिलो खेलमा सरस्वती माध्यमिक विद्यालय विद्यानगर, गोबरडिहा र बाल संसार एकेडेमी गढवाबिच भएको थियो । खेलमा सरस्वती मावि विद्यानगरले सहज जित हात पारेको थियो ।

त्यसैगरी आगामी खेलहरूमा राप्ती साउथर्न इङ्लिस बोर्डिङ स्कुल र नेपाल इङ्लिस बोर्डिङ स्कुलबिच प्रतिस्पर्धा हुनेछ भने तेस्रो खेल डिवेल इङ्लिस बोर्डिङ स्कुल र भ्याली पब्लिक स्कुलबिच हुने छ । त्यसपछि मावि चयनपुर र मुना मिलन इङ्लिस बोर्डिङ स्कुलबिच खेल हुने विद्यालयका शेयर सदस्य तथा लेखा समिति संयोजक ऋषिराम यादवले जानकारी दिए ।

खेलमा रेफ्रिको भूमिकामा बुद्धिप्रकाश चौधरी रहेका थिए । स्कोरको जिम्मेवारी विक्रम गुरुङले गरेका थिए । विद्यालयले माघ २९ गते २४औँ वार्षिकोत्सव मनाउँदै छ । प्रतियोगिताको उद्घाटन कार्यक्रम ज्ञानज्योति माध्यमिक विद्यालय गढवाका सञ्चालक समिति अध्यक्ष सन्तोष कौशलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा हालका सल्लाहकार रम्भुनाथ चौधरी, विद्यालयका प्रिन्सिपल दीपककुमार यादव, सञ्चालक समिति कोषाध्यक्ष एवम् लेखा संयोजक ऋषि राम यादव, सदस्य हरि भण्डारी, शिक्षक–शिक्षिका, शेयर सदस्य, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक–शिक्षिका, पत्रकार लगायतको उपस्थिति रहेको थियो । विद्यालयका प्रिन्सिपल दीपककुमार यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षिका यति चौधरीले गरेकी थिइन् ।