गठबन्धन नहुँदा उत्साहित छन् मतदाता, दलहरूलाई पनि धरातल पहिचानको अवसर

खेमराज रिजाल
दाङ, २३ माघ । ‘यो चुनावमा प्रमुख राजनीतिक दलहरूको गठबन्धन देखिएको छैन, यसले ती राजनीतिक दललाई आफ्नो यथार्थ जनमतको धरातल पहिचान गर्न मद्दत पुग्नेछ, मतदाताले चाहेको चुनाव चिह्नमा मतदान गर्न सक्नेछन्’, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन नहुने अवस्थाको चित्रण गर्दै जनकल्याण मावि दुधरासका शिक्षक गिरिराज पाण्डेले भने । कुनै अमुक व्यक्तिलाई सत्तामा पु¥याउने खेल मात्र गठबन्धन भएको पाण्डेको बुझाइ छ ।

पाण्डे मात्र होइन, अहिले हरेक बस्तीमा यस्तै बहस भइरहेको देखिन्छ कि गठबन्धन नहुँदाको अवस्थामा अधिकांश मतदाता खुसी छन् । विचारै नमिल्ने दलहरू मिलेर चुनाव सम्पन्न गर्ने र भागबन्डामा सबथोक गन्जागोल बनाइदिने अभ्यास मुलुकमा करिब एक दशक जारी रह्यो । यसले न त दलहरूलाई नै राम्रो गरी संगठन विस्तार गर्न र आफ्ना एजेन्डा सरकारमा लैजान सहयोग पुग्यो, न त मुलुककै स्थायी शन्ति र समृद्धिमा ठोंस सहयोग गर्न सक्यो । ‘म पनि अहिलेको चुनावी अभियानमा अत्यन्तै खुसी छु, किनकि मैले आफूले चाहेको चुनाव चिह्नमा मत दिन पाउनेछु, किनकि अहिले हाम्रो क्षेत्रमा चुनावी गठबन्धन भएको छैन’, तुलसीपुर–१८ दुधरासका मतदाता धनबहादुर डाँगीले भने । उनका अनुसार यो खुसी मतदातालाई मात्र होइन, राजनीतिक दलहरूलाई आफू कुन धरातलमा छु भनेर जनमत मापन गर्ने सुवर्ण अवसर हो ।

कुनै पनि खास कार्ययोजना र खास उद्देश्यविना खाली सत्ताकै लागि गठबन्धन गर्ने अभ्यासले एक दशकसम्म मुलुकलाई सही गन्तव्यमा पु¥याउन नसकेको मतदाताको निष्कर्ष छ । ‘फेरि पनि ठुला दलबिच चुनावमा गठबन्धन भयो भने त्यो आम नागरिकका लागि दुर्भाग्य हुनेछ’, तुलसीपुर–१७ झिँगैका मतदाता रमेश रावत भन्छन्, ‘अहिलेसम्म जे भएको छ, ठिक भएको छ ।’ रमेश रावत जस्तै टेकबहादुर वली, विनोद वली र मदन केसी पनि चुनावी गठबन्धन नभएकोमा राम्रो लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार्छन् । फेरि कहीँकतै सामाजिक सञ्जालमा खास खास क्षेत्रमा खास खास व्यक्तिलाई जिताउन गठबन्धन हुन सक्ने हल्लाले भने मतदाता आक्रोशित छन् । कतिपय मतदाता त गठबन्धन भयो भने ‘नो भोट’को अवस्थामा छन् ।

कहिले चुनावमा गठबन्धन त कहिले सरकार गठनमा गठबन्धन गर्ने प्रमुख राजनीतिक दलका अभ्यासले मुलुकमा स्थायी सरकार निर्माण हुन सकेन । मुलुकमा बहुदलीय प्रजातन्त्रमा होस् वा सङ्घीयता पछिको अभ्यास कुनै पनि सरकार पूरै कार्यकाल टिक्न सकेनन् । यहांसम्म कि निर्वाचनमा एउटा दलसँग गठबन्धन गरी चुनाव जित्ने अनि सरकार गठन गर्दा त्यही दललाई प्रतिपक्षी बनाउन अर्को दलसँग मिलेर सरकार गठन गर्नेसम्मका दुर्भाग्यसमेत यो १२ वर्षमा भए । कम्तीमा सिङ्गल सिङ्गल चुनावी प्रतिस्पर्धा हुने भएको अवस्थामा त जनमत कुन पार्टीतर्फ छ भन्ने स्पष्ट देखिन्थ्यो तर चुनावी गठबन्धनले अहिले राजनीतिक दलले समेत आफ्नो जनमत कति छ भनेर मूल्याङ्कन गर्नसमेत सकेका छैनन् । त्यसैले यो निर्वाचनमा कसले बाजी मार्ला भन्ने यकिन विश्वास कसैलाई पनि छैन । मत सर्वेक्षणमा समेत यसले सहजता दिएको छैन ।

दाङको सन्दर्भ हेर्ने हो भने २०७० साल यता यहाँका राजनीतिक दलहरू एकल चुनावी प्रतिस्पर्धामा छैनन् । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा दाङमा पाँच वटा निर्वाचन क्षेत्र थिए । परिणाम पाँचवटैमा तत्कालीन माओवादीले हात पारेको थियो । दोस्रो संविधान सभा निर्वाचन २०७० सालमा हुँदा पनि राजनीतिक दलहरू गठबन्धनमा थिएनन् । सिङ्गल सिङ्गल लड्दा पाँच वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भयो । त्यसपछिका निर्वाचनमा फेरि प्रमुख राजनीतिक दलबिच गठबन्धनको अभ्यास सुरु भयो ।

प्रतिनिधि सभा निर्वाचन २०७४ मा एमाले र माओवादीको चुनावी गठबन्धन भयो । त्यो बेला दाङमा तीन वटा मात्र निर्वाचन क्षेत्र भइसकेका थिए । तीन वटै क्षेत्रमा गठबन्धनले जित्यो, कांग्रेस एक्लै लडेको थियो । फेरि प्रतिनिधि सभा निर्वाचन २०७९ सालमा दाङमा कांग्रेस, माओवादी र समाजवादी गठबन्धन भयो, तीनवटै दलले एक एक क्षेत्रमा चुनाव जिते । प्रतिनिधि सभा निर्वाचन २०८२ मा अहिलेसम्म प्रमुख राजनीतिक दलबिच गठवन्धन भएको छैन । त्यसैले यो चुनाव रोचक रहने मतदाताको आकाङ्क्षा छ ।

गठबन्धनले मतदाताको स्वायत्त अधिकारमाथि बन्देज गर्दछ, त्यसैले लोकतन्त्रमा गठबन्धनलाई मतदाताले त्यति स्वीकार्ने अवस्था रहँदैन’, यस क्षेत्रका राजनीतिक विश्लेषक डा सुदीप गौतम भन्छन्, ‘अहिले कुनै पनि मतदाताले चुनावमा गठबन्धन नहोस् भन्ने चाहिरहेका छन् ।’ राजनीतिक दलहरूले गठबन्धन गरे पनि नतिजा भने फरक आएको डा गौतमको भनाइ छ । ‘गठवन्धनमा रहेका दुई दलको जति मत थियो त्यो मतगणना परिणाममा प्रतिबिम्वित हुन सकेन’, डा गौतमले भने, ‘गठबन्धन त नेतृत्वका लागि मात्र सावित भयो, मतदातालाई यसले थप चिढ्याउने काम भएको थियो ।’ त्यसैले अहिले जसरी दलहरू सिङ्गल सिङ्गल चुनावी मैदानमा छन्, यसमा मतदाता पनि उत्साहित छन् । यसले वर्तमान अवस्थामा राजनीतिक दलको यथार्थ रूपमा जनमतको धरातल स्पष्ट रूपमा देखिनेछ ।