लघुवित्तद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

प्रिया स्मृती गजमेर
देउखुरी, २२ माघ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लमहीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

लमही नगरपालिका–४ स्थित जनज्योति आधारभूत विद्यालय सानो घुम्नामा वडा अध्यक्ष सुवाश न्यौपानेले विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै यस प्रकारका कार्यक्रमले सामाजिक सद्भाव बढाउनुका साथै विपन्न वर्गलाई प्रत्यक्ष राहत मिल्ने बताए । उनले वित्तीय संस्थाहरूले नाफासँगै सामाजिक जिम्मेवारी पनि वहन गर्नुपर्ने उल्लेख गर्दै स्वावलम्बन लघुवित्तको कार्य सराहनीय रहेको प्रतिक्रिया दिए ।

कार्यक्रममा विषय प्रवेश तथा संस्थागत गतिविधिबारे जानकारी गराउँदै इलाका प्रबन्धक कृष्ण खनालले संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत शिक्षा, स्वास्थ्य तथा विपन्न समुदाय लक्षित कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह विष्टले वित्तीय पहुँचसँगै सामाजिक सेवामा पनि संस्थाको प्रतिबद्धता रहेको बताउँदै आगामी दिनमा यस प्रकारका कार्यक्रम अझ विस्तार गरिने बताए । जनज्योति आधारभूत विद्यालय सानो घुम्नाका प्रधानाध्यापक गोपिलाल चौधरीले विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्राप्त हुनु ठूलो सहयोग भएको भन्दै संस्थाप्रति धन्यवाद व्यक्त गरेका थिए । लमही नगरपालिका शिक्षा शाखाका प्रास अम्बिका शर्माले यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक सन्देश जाने बताइन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकराम चौधरीको अध्यक्षता तथा लमही शाखा प्रमुख शिवलाल मरासिनीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका वरिष्ठ सहायक निराजन सिंह ठकुरीले गरेका थिए । कार्यक्रममा अटो दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई २० हजार रुपैयाँ आर्थिक सहयोग पनि प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक प्रोफेसर डाक्टर कुसुम शाक्य, विद्यालयका सल्लाहकार हल्लु प्रसाद चौधरी, स्थानीय बुद्धिजीवी मिनकेतन चौधरी, वडा सदस्यहरू उमाकान्त चौधरी, भोजराज चौधरी, पूर्व वडा सदस्य काशिनाथ चौधरी लगायतको उपस्थिति रहेको थियो ।