दाङमा बढ्दै क्यान्सरको जोखिम,डेढ बर्षमा दुई सय बढी बिरामी

सन्दर्भ  विश्व क्यान्सर दिवस
गोरक्ष समाचारदाता
दाङ, २२ माघ । दाङमा पछिल्लो समयमा क्यान्सरको जोखिम बढ्दै गएको छ । आधुनिक जीवनशैली, खानपिन, शारीरिक व्यायामको अभावसँगै समयमा उपचार नगर्नेलगायतका कारण पछिल्लो समय जिल्लामा क्यान्सरका बिरामी बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य कार्यालय दाङका अनुसार डेढ वर्षको अवधिमा जिल्लामा दुई सय २३ जना क्यान्सरका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य निरीक्षक कुन्दन ठाकुरका अनुसार जटिल प्रकृतिका रोगको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले दिने आर्थिक सहायताका लागि सिफारिस लिने बिरामीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिनामा कार्यालयबाट ७२ जना क्यान्सर रोगका बिरामीले सिफारिस लगेका छन् ।

सिफारिस लिनेमा पाठेघरको मुखको क्यान्सर र अन्डाशयको क्यान्सर भएका पाँच÷पाँच जना, स्तन क्यान्सरका तीन जना र अन्य क्यान्सरका ५९ जना बिरामी रहेको जनस्वास्थ्य निरीक्षक ठाकुर बताउँछन् । उनका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा एक सय ५१ क्यान्सरका बिरामीले सिफारिस लिएका थिए । जसमा ९७ जना महिला र ५४ जना पुरुष रहेका छन् ।

उनीहरूमध्ये तीन जना २० वर्ष मुनिका रहेको जनस्वास्थ्य निरीक्षक ठाकुरले बताए । यसैगरी सबैभन्दा धेरै पाठेघरको मुखको क्यान्सरका २८ जना, स्तन क्यान्सरका १३ जना, अण्डाशयको क्यान्सरका छ जना, पाठेघर र फलोपियन ट्युव क्यान्सरका एक÷एक जना र बाँकी फोक्सो, प्रोस्टेट, पेट, आन्द्रा, छालालगायतका ४९ जना बिरामीलाई आर्थिक सहायताका लागि सिफारिस गरिएको थियो ।

आधुनिक जीवनशैली, खानपिन, शारीरिक व्यायामको अभाव, धुम्रपान, मध्यपानसँगै प्रदूषणनलगायतका कारण जिल्लामा क्यान्सरलगायतका जटिल रोगका बिरामी बढ्दै गएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा विकास गौचनले बताए । क्यान्सरको उपचारका लागि सहज पहुँच नहुनुका साथै महँगो उपचार भएका कारण बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेको बताए ।

क्यान्सर रोगको जोखिम बढ्दै जाँदा जिल्लामै क्यान्सर रोगको उपचार दिने गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले वीपी कोइराला मेमोरियल अस्पतालसँग सहकार्य गरेर सेवा दिने तयारी गरेको भन्दै भने, ‘बिलासी जीवनशैलीसँगै खानपिनलगायतका विभिन्न कारण क्यान्सरको जोखिम बढ्दै गएको छ तर जिल्लामा उपचार सेवा नहुँदा बिरामीलाई टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रतिष्ठानमै क्यान्सरको उपचार सेवा दिने तयारी भइरहेको छ ।’

क्यान्सरबाट बच्न सचेतना आवश्यक

यसैबिच क्यान्सरलगायत नसर्ने रोगको सङ्क्रमणबाट बच्न स्वास्थ्य सचेतना आवश्यक रहेको कार्यक्रमका सहभागीले जोड दिएका छन् । विश्व क्यान्सर दिवसका अवसरमा स्वास्थ्य कार्यालय दाङले बुधवार घोराहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले क्यान्सरलगायतका नसर्ने रोगको सङ्क्रमणबाट बच्न स्वास्थ्य सचेतना आवश्यक रहेकोमा जोड दिएका हुन् ।

आधुनिक जीवनशैली, खानपिनसँगै शारीरिक अभ्यासको कमीका कारण पछिल्लो समय क्यान्सरको जोखिम बढ्दै गएको भन्दै क्यान्सरलगायत नसर्ने रोगबाट बच्न सचेतनामा जोड दिनुपर्ने बताएका हुन् । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य निरीक्षक कुन्दन ठाकुरले आधुनिक जीवनशैली, खानपिनसँगै शारीरिक अभ्यासको कमीसँगै ४० प्रतिशत रोग सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने भएकाले यसबारे सचेततना बढाउनुपर्ने बताए ।

यसैगरी पछिल्लो समय जिल्लामा महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरलगायत फोक्सो, आन्द्रा, छालालगायतका विभिन्न क्यान्सरको जोखिम बढ्दै गएको भन्दै उनले रोगबाट बच्न खानपिन, नियमित व्यायामसँगै स्वास्थ्य जाँच र उपचारमा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले महिलामा हुने पाठेघरको मुखको क्यान्सर हुन नदिन नियमित जाँच गरिरहेको बताइन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा संस्थागत परिवार नियोजन क्लिनीकबाट प्रत्येक हप्ताको बिहिबार पाठेघरको मुखमा हुने क्यान्सरसम्बन्धी जाँच भइरहेको जानकारी गराएकी थिइन् ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञा प्रतिष्ठानका डा विकास गौचन, स्वास्थ्य कार्यालय दाङकी पब्लिक हेल्थ निरीक्षक रिता न्यौपाने, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेललगायतले क्यान्सर रोगबाट बच्न आवश्यक पर्ने सचेतनाबारे जानकारी गराएका थिए ।