मतदातासँग उम्मेदवारको भेटघाट
गोरक्ष समाचारता
दाङ, २२ माघ । घोराही उपमहानगरपालिका–१९ सैघाका स्थानीयले उपमहानगरपालिकाको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा बुधवार सैघा पुगेका नेपाली कांग्रेस क्षेत्र नं. २ का उम्मेदवार किरणकिशोर घिमिरेसँग भूगोलले ठगिएका सैघाबासीले विकासमा समेत ठगिएको गुनासो गरेका हुन् ।
मतदातासँग भेटघाट तथा सुझाव सङ्कलनका लागि पुगेका उम्मेदवार घिमिरेसँग स्थानीयले भूगोलका रूपमा उपमहानगरपालिकाभित्र पर्ने भए पनि सेवासुविधाका हिसाबले गाउँपालिका सरह पनि सेवासुविधा नपाएको गुनासो गरेका हुन् । विकासमा पछाडि परेको सैघालाई विकास निर्माणसँग जोड्ने नेताको आवश्यकता परेको भन्दै स्थानीयले निर्वाचनका क्रममा मात्र आउने उम्मेदवारभन्दा जनताका हरेक सुखदुःखमा साथ दिने उम्मेदवार चाहिएको बताएका छन् ।
उम्मेदवार घिमिरेले बुधवार घोराही–१९ अन्तर्गत तोस, लाकुरी बजार, बोल्दीलगायतका स्थानमा पुगेर मतदातासँग सुझाव लिएका हुन् । त्यस क्रममा उपमहानगरपालिकावासी भए पनि गाउँपालिकाभन्दा पनि आफूहरू पछाडि रहेको स्थानीयवासीको गुनासो थियो । स्थानीयले सडक, विद्युत्, खानेपानी, स्वास्थ्यलगायतका बारेमा गुनासो राखेका थिए ।
गुनासो सुनेपछि घिमिरेले स्थानीयका आवश्यकता नै आफ्ना चुनावी एजेन्डा भएको बताए । घिमिरेले सबै बस्तीका आवश्यकता बुझ्न आफू लागिरहेको बताउँदै बस्तीबाट सङ्कलन गरिएका योजनालाई प्राथमिकीकरण गरेर पूरा गर्नेतर्फ लाग्ने बताए । ‘तपाईंहरूका आवश्यकता नै हाम्रा चुनावी एजेन्डा हुनेछन्, हामी भाषण गरेर होइन काम गरेर जनतालाई देखाउन चाहन्छौँ’, उम्मेदवार घिमिरेले भने । जेन–जी उमेर समूहको भावना अनुरूप नेपाली कांग्रेस रूपान्तरण एवम् पुनर्गठन भएको भन्दै आम युवाका आवश्यकतालाई आत्मसात् गर्दै नेपाली कांग्रेसले काम गर्ने उम्मेदवार घिमिरेले बताए ।
‘हामी समृद्ध नेपालको अभियानमा छौँ, सीमान्तीकृत समुदाय, अल्पसङ्ख्यक, आदिवासी, जनजाति, दलित सबैका समस्यालाई सम्बोधन गर्न आफूले अहोरात्र पहल गर्नेछु’, उनले बताए । नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीले नेपाली कांग्रेस सधैँ जनताको सामु रहेको बताए । जनताको हरेक सुख दुःखमा नेपाली कांग्रेस सँगै रहेको बताएका थिए । भेटघाट कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति प्रकाश श्रेष्ठ, घोराही–१९ का इकाइ सभापति ज्ञानबहादुर रायमाझीलगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
महिला संघले प्रचारप्रसार कार्यक्रम गर्ने
यसैबिच प्रतिनिधि सभा निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवालाई विजयी बनाउन वडा तहसम्म प्रचारप्रचार गर्ने भएको छ । संघले माघ २५ गतेदेखि वडा तहसम्म प्रचारप्रसार अभियान सञ्चालन गर्ने हो ।
नेपाल महिला संघ क्षेत्र नं २ का सहसंयोजक सुशीला पौडेलको नेतृत्वमा आफ्नो क्षेत्रमा रहेका ५ देखि १५ जनाको कमिटी गठन गर्ने समिति समावेसी गराउने निर्णय गरिएको छ । समितिले आआप्mनो वडामा रहेर निर्वाचमा नेपाली कांग्रेसलाइ विजयी बनाउन लाग्ने निर्णय गरेको छ । यसैगरी निर्वाचनमा अत्यधिक बहुमतले विजयी गराउन सबै सामाजिक, धार्मिक संघसंस्थासँग समन्वय गरेर अगाडि बढिने संघले जनाएको छ ।