प्रिया स्मृती गजमेर
देउखुरी, २० माघ । लमहीमा कृषि क्षेत्रमा किसानले बेहोर्नु परेका समस्या समाधान गर्ने उद्देश्यले छलफल गरिएको छ । लमही नगरपालिकाको आयोजनामा मंगलवार कृषक तथा सहकारी संस्थाका प्रतिनिधिको सहभागीतामा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले कृषकका गुनासोहरू नगरपालिकाका लागि गम्भीर विषय भएको बताउँदै प्राथमिकताका साथ समाधान गरिने बताए । कृषि व्यवसाय गर्दा कृषकले भोग्नुपर्ने समस्यालाई योजनामा समेटी दीर्घकालीन रुपमा समाधान गर्ने गरि पहल गरिने बताए ।
उपप्रमुख लक्ष्मी योगीले कृषकको उत्पादन र आम्दानी बढाउने खालका कार्यक्रम ल्याइने उल्लेख गर्दै नगरपालिकाले सहकारी र कृषकबीच समन्वय गरी काम गर्ने बताइन । उनले समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिने पनि जानकारी दिइन । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले कार्यक्रमबाट उठेका सबै गुनासोहरू लिखित रूपमा संकलन गरी कार्ययोजना बनाएर छिटोभन्दा छिटो सम्बोधन गरिने बताए । उनले नगरपालिकाले कृषक मैत्री नीति र कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम गरिरहेको स्पष्ट पारेका थिए ।
कार्यक्रममा कृषकहरूले कृषि अनुदान, मल बिउको उपलब्धता, सिँचाइ सुविधा, बजार पहुँच तथा सहकारी व्यवस्थापनसँग सम्बन्धित विभिन्न समस्याबारे गुनासो गरेका थिए । कार्यक्रममा नगरभित्र सञ्चालित विभिन्न सहकारी संस्थाका पदाधिकारी, सदस्य तथा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सहकारी सञ्चालक तथा कृषकहरूले नगरपालिकामार्फत उपलब्ध गराइने सेवा प्रभावकारी नभएको, आवश्यक समयमा ऋण तथा अनुदान सहज रूपमा नपाएको, कृषि सामग्री (बिउ, मल, औजार) को उपलब्धतामा समस्या रहेको, तालिम तथा प्रविधि हस्तान्तरण पर्याप्त नहुँदा उत्पादन लागत बढ्दै गएको गुनासो गरेका थिए ।
साथै सहभागी किसानले बजार सुनिश्चितता नहुँदा उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको प्रभाव बढी भएको गुनासो गरेका थिए । उनीहरुले कृषि बीमा, सहुलियत ऋण, सिंचाइ व्यवस्थापन तथा प्राविधिक जनशक्तिको अभावका कारण अपेक्षित रूपमा कृषि उत्पादन बढाउन नसकिएको बताउँदै स्थानीय सरकारले यस्ता विषयमा ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा लमही नगरपालिका– १ का वडा अध्यक्ष दामोदर पौडेल, वडा नं. ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पशु तथा उपभोक्ता हित संरक्षण शाखा प्रमुख शिवराज न्यौपानेले गरेका थिए ।