घोराहीका टोलटोलमा उम्मेदवार घिमिरे, स्थानीयसँग प्रत्यक्ष संवाद

दाङ, २० माघ । दाङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले घोराहीमा घरदैलो तथा भेटघाट गरेका छन् । मंगलबार बिहान घोराही–१५ गौतमनगरदेखि गुजुरी बजारसम्मका विभिन्न टोलमा पुगेर उम्मेदवार घिमिरेले स्थानीय बासिन्दा तथा व्यवसायीसँग भेटघाट र संवाद गरेका हुन् ।

घरदैलो तथा भेटघाटका क्रममा उम्मेदवार घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरेका थिए । सो अवसरमा स्थानीय बासिन्दा तथा व्यवसायीले देश र जनताले आशा गरेको पार्टी नेपाली कांग्रेस भएकाले निर्वाचनमा दायाँबायाँ गर्न नसकिने धारणा व्यक्त गरे ।

आफ्नो आस्था र विचारबाट बिचलित नहुने बताउँदै उनीहरूले नागरिकलाई अप्ठ्यारो पर्दा साथ दिने नेता आवश्यक रहेको बताए । अहिले ठूला विकास निर्माणका आश्वासनभन्दा पनि किसान, व्यवसायी तथा सर्वसाधारणका समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने नेतृत्व चाहिएको उल्लेख गर्दै त्यसैअनुसार अघि बढ्न उम्मेदवार घिमिरेलाई सुझाव दिएका थिए । व्यवसायी तथा स्थानीयका कुरा सुन्दै उम्मेदवार घिमिरेले आफू यस क्षेत्रको विकास निर्माण र जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको बताएका थिए ।

घरदैलो अभियानमा उम्मेदवार घिमिरेसँगै नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, संविधानसभा सदस्य अनिता देवकोटा, कांग्रेस नेताहरू भूपबहादुर डागी, बिमला योगी, बद्री खड्का, पवन आचार्य, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेललगायतको सहभागिता रहेको थियो ।