गोरक्ष समाचारदाता
दाङ, २० माघ । राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्माण गराउन प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोराहीमा राजनीतिक तथा उम्मेदवारसँग आयोजना गरेको निर्वाचन आचारसंहित छलफलमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्माण गराउन आचारसंहितको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको पालना गर्दै निर्वाचनलाई मर्यादित बनाउन राजनीतिक दल, उम्मेदवार तथा तिनका समर्थकलाई सादगीपूर्ण शैलीमा प्रचारप्रसार गर्न आग्रह गरेका थिए ।
लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा रहेको निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न राजनीतिक दलको महत्वपूर्ण भूमिका हुने भन्दै उनले दल र उम्मेदवारलाई आचारसंहिताबारे सजक हुनु पर्ने बताए । निर्वाचनमा सभ्य र मर्यादित ढङ्गले प्रचारप्रसारका गतिविधि अघि बढाउन आग्रह गर्दै भने, ‘निर्वाचनमा तडकभडक गर्दै बाहुबली शैली देखाउने प्रवृत्ति छ, त्यो राम्रो होइन, त्यसलाई रोक्दै सादगी रूपमा प्रचारप्रसार गर्न सकिन्छ । त्यसले खर्च पनि बचाउँछ ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रशासन लागेको बताए । निर्वाचनका क्रममा हुन सक्ने मिथ्या सूचना र भ्रामक प्रचार रोक्न कडा निगरानी भइरहेको भन्दै उनले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन एकीकृत सुरक्षा रणनीति लागु गरिएको बताए । नागरिकलाई भयरहित वातावरणमा मतदान गर्ने सुनिश्चितता प्रशासनको प्राथमिकता रहेको उनको भनाइ थियो ।
कार्यक्रममा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाले निर्वाचन आचारसंहिताबारे जानकारी गराउँदै निर्वाचन प्रचारप्रसारका क्रममा उल्लङ्घन भएको पाइए कारबाही हुने बताइन् । उनले निर्वाचन आयोगले सामाजिक सञ्जाल, डिजिटल बोर्ड, पोस्टर, ब्यानर, पर्चालगायतका प्रचार सामग्री प्रयोग गर्दा तोकिएको मापदण्ड पालना गर्न आग्रह गरेकी थिइन् ।
उनले निर्वाचन आचारसंहिता माघ ४ गतेदेखि नै लागु भइसकेको भन्दै फागुन २१ गते हुने निर्वाचनसम्म तोकिएको मापदण्डलाई पालना गर्न आग्रह गरेकी थिइन् । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एवम् अनुगमन संयोजक मोहनप्रसाद जैसवालले उम्मेदवारले अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामा खाता खोली त्यहीमार्फत् मात्र निर्वाचन खर्च गर्नु पर्ने व्यवस्था रहेको जानकारी गराएका थिए । उनले निर्वाचन खर्च पारदर्शी बनाउन नगद कारोबारमा रोक लगाइएको बताएका थिए ।
कार्यक्रममा सहभागी अन्य वक्ताले निर्वाचन आचारसंहिताको पालाना गर्ने भन्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित र ढुक्कासँग मतदान गर्ने वातावरण राज्यले बताउनु पर्ने बताएका थिए । कार्यक्रममा क्षेत्र नं. १ का निर्वाचन अधिकृत कृष्णप्रसाद नेपाल, क्षेत्र नं. ३ का निर्वाचन अधिकृत चन्द्रप्रसाद सिजाली, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक दीपक खड्का, नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगी, नेपाली कम्युनिस्ट पार्टीका नेता विश्वराज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेशजङ्ग राणा, रास्वपाका जगत न्यौपाने, नेमकिपाका उम्मेदवार रविन्द्र उच्च नेपाली, नेसनल रिपब्लिकन पार्टीका उम्मेदवार जितन पुनले बोलेका थिए ।
त्यसैगरी कार्यक्रममा मङ्गोल नेसनल अर्गनाइजेसनका उम्मेदवार अमरबहादुर पुन, आमजनता पार्टीका उम्मेदवार कृष्णबहादुर सुनार, स्वतन्त्र उम्मेदवार समिर वली र धर्मराज शर्माले आचारंसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रमको सहजीकरण क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत भुपाल भण्डारीले गरेका थिए । छलफलमा प्रमुख राजनीतिक दलका उम्मेदवार भने सहभागी थिएनन् ।