प्रिया स्मृती गजमेर
देउखुरी, २० माघ । लमहीमा वडा नम्बर १ देखि ९ सम्मका टोल विकास संस्थाका पदाधिकारी र लमही नगरपालिकाबिच टोल विकास संस्थाको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ । छलफलमा लमहीका प्रमुख जोगराज चौधरीले टोल विकास संस्था स्थानीय सरकार र नागरिकबिचको सेतुका रूपमा रहेको उल्लेख गर्दै विकास निर्माण, सरसफाइ, सामाजिक सचेतना र सेवा प्रवाहमा टोल विकास संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए ।
नगर उपप्रमुख लक्ष्मी योगीले टोल विकास संस्थालाई व्यवस्थित, पारदर्शी र समावेशी बनाउन आवश्यक रहेको बताउँदै महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका वर्गको सहभागिता सुनिश्चितता गर्न जोड दिइन् । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले टोल विकास संस्थालाई कानुनी दायराभित्र राख्दै कार्यसम्पादनलाई प्रभावकारी बनाउन नगरपालिकाले सहजीकरण, अभिमुखीकरण तथा तालिम प्रदान गर्ने जानकारी दिए ।
उनले टोलले स्थानीय आवश्यकता पहिचान गरी योजना तर्जुमा प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । कार्यक्रममा सहभागी टोल विकास संस्थाका पदाधिकारीले आफ्नो क्षेत्रमा देखिएका समस्या, सम्भावना र आवश्यकताबारे धारणा राख्दै नगरपालिकासँग सहकार्य गर्दै विकासका काम अघि बढाउन प्रतिबद्धता जनाएका थिए ।
लमही नगरपालिकामा डाँगी प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएपछि पछिल्लो समय लमही नगर निर्माण महाअभियानको नाम दिएर टोल विकास संस्थालाई सक्रिय बनाएर सरसफाइ अभियानलाई तीव्रता दिइएको छ ।