तुलसीपुर–१६, १७ र १८ का मतदाताको आवाज : भाषण होइन, विकास चाहियो

दाङ,१९ माघ । नेपाली कांग्रेसका दाङ क्षेत्र नम्बर–२ का उम्मेदवार किरण किशोर घिमिरेसँगको भेटघाटका क्रममा तुलसीपुर उपमहानगरपालिका–१६, १७ र १८ का स्थानीय मतदाताले अब भाषण र नारा होइन, प्रत्यक्ष देखिने विकास चाहिएको स्पष्ट धारणा व्यक्त गरेका छन्।

तुलसीपुर–१६, १७ र १८ मा आयोजित विभिन्न मतदाता भेटघाट तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले विगतमा धेरै आश्वासन सुने पनि अपेक्षित विकास हुन नसकेको भन्दै यसपटक परिणाम देखिने काम आवश्यक रहेको बताएका हुन्। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत आवश्यकता अझै अधुरो रहेको भन्दै उनीहरूले विकासलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे।

 

कार्यक्रममा उम्मेदवार किरण किशोर घिमिरेले स्थानीयको गुनासो र अपेक्षा गम्भीरतापूर्वक सुन्दै जनताको आवश्यकता र चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विकास केवल भाषणमा सीमित नभई व्यवहारमा देखिनुपर्ने बताउँदै जनसहभागितामार्फत दिगो विकासको बाटो अघि बढाइने बताए ।

चुनावी माहोल तातेसँगै तुलसीपुरका विभिन्न वडामा विकासमुखी राजनीति र परिणाममुखी नेतृत्वको माग अझ स्पष्ट हुँदै गएको देखिएको छ।