दाङ, १८ माघ । घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा छोराको मृत्यु भएको छ भने बुबा घाइते हुनुभएको छ ।
घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१५ स्थित भिंग्रेली भिलेज होटेल नजिकै आइतवार दिउँसो लमहीबाट घोराहीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००२ ख २५८० नम्बरको ट्रकले लमहीतर्फ जाँदै गरेको रा ५ प ३६३९ नम्बरको स्कुटरलाई ठक्कर दिदा लमही नगरपालिका–६ निवासी २२ अंकित चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते चौधरीको राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनामा मृतक अंकित चौधरीका बुबा स्कुटर चालक लमही–६ निवासी ५३ वर्षीय इन्द्रबहादुर चौधरी घाइते हुनुभएको छ । घाइते चौधरीको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रहरीले ठक्कर दिने ट्रक चालक बैतडी जिल्ला डिलासैनी गाउँपालिका–५ निवासी ४२ वर्षीय राजु साउदलाई घोराही उपमहानगरपालिका–३ गोग्लीबाट नियन्त्रणमा लिएर घट्नाबारे थप अनुसन्धान अघि बढाएको छ ।