गोरक्ष समाचारदाता
दाङ, १८ माघ । गुरुकुल एकेडेमी घोराहीको ११औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । शिक्षा, संस्कार र समग्र व्यक्तित्व विकासलार्ई केन्द्रमा राख्दै आयोजना गरिएको उक्त उत्सवमा विद्यार्थी, अभिभावक, शिक्षक तथा समाजका विशिष्ट व्यक्तिको उल्लेखनीय सहभागिता रहेको थियो ।
गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारी अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राड। धनेश्वर नेपाल प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि प्राडा नेपालले गुरुकुल शिक्षाको महत्व, संस्कृत शिक्षाको वर्तमान अवस्था र भावी पुस्ता निर्माणमा विद्यालयको भूमिकाबारे चर्चा गर्दै गुरुकुल एकेडेमीले शिक्षासँगै संस्कार र अनुशासनमा दिएको योगदान प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, राप्ती पोष्ट राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक सरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदी तथा अभिभावकको तर्फबाट तिर्था पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले गुरुकुल एकेडेमीले शैक्षिक क्षेत्रमा पु¥याउँदै आएको योगदान, विद्यार्थीमैत्री वातावरण र गुणस्तरीय शिक्षाप्रति विद्यालयको प्रतिबद्धताको खुलेर प्रशंसा गरे । यस्तै, विद्यालयका निवर्तमान प्रधानाध्यापक डा. कृष्णराज डिसीले धन्यवाद मन्तव्य राख्दै विद्यालयको यात्रामा साथ दिने शिक्षक, कर्मचारी, अभिभावक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे ।
उनले गुरुकुल एकेडेमीले आगामी दिनमा अझ सशक्त शैक्षिक पहिचान बनाउने विश्वास व्यक्त गरेका छन् । वार्षिकोत्सवका अवसरमा विद्यालयकी नर्स सुस्मिता भुषालद्वारा विद्यार्थी तथा अभिभावकको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । जसले कार्यक्रमलार्ई थप उपयोगी र सेवामूलक बनाएको थियो । कार्यक्रममा १० वर्षसम्म निरन्तर सेवा प्रदान गरेका शिक्षक तथा कर्मचारी र उत्कृष्ट नतिजा हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षकलार्ई नगदसहित सम्मान गरिएको थियो।
सम्मानित हुने शिक्षकमा अंग्रेजी विषयका शिक्षक जितबहादुर भण्डारी र राजन अधिकारी, नेपाली विषयका शिक्षक विवेक देवकोटा तथा डा. कृष्णराज डिसी रहेका थिए । यस्तै, १० वर्षसम्म कार्यरत शिक्षक तथा कर्मचारीहरूमा शान्ता बस्नेत, शान्ता आचार्य, सागर आचार्य, पुष्पा चौधरी, खिमु केसी लगायतलार्ई सम्मान गरिएको थियो ।
यसका साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलार्ई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो, जसले विद्यार्थीमा थप हौसला र प्रेरणा थपेको थियो । वार्षिक उत्सवकै अवसरमा विद्यालयका शिक्षक र पत्रकारबिच सम्पन्न मैत्रीपूर्ण भलिबल प्रतियोगितामा विजयी बनेको पत्रकार समूहलार्ई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
विद्यालयका सह–प्रधानाध्यापक महेन्द्र पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक विवेक देवकोटा तथा विद्यार्थीहरू वर्षा खाती र ऋतु थापाले गरेका थिए । कार्यक्रम भरी विद्यार्थीको प्रस्तुतिले उत्सवलार्ई थप आकर्षक र जीवन्त बनाएको थियो ।
समग्रमा गुरुकुल एकेडेमी घोराहीको ११औँ वार्षिकोत्सव शैक्षिक उपलब्धी, सम्मान, स्वास्थ्य सेवा र सामाजिक सद्भावको सन्देशसहित सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ ।