घोराही लैङ्गिक हिंसा नियन्त्रित पालिका

खेमराज रिजाल
दाङ, १६ माघ । घोराही उपमहानगरपालिका मुलुकमै पहिलो पालिकाका रूपमा लैङ्गिक हिंसा नियन्त्रित पालिका घोषणा भएको छ । लैङ्गिक हिंसा नियन्त्रित कार्यान्वयनको अवस्था मापनका लागि आधारभूत सूचक २२ र संस्थागत सूचक १० गरी ३२ वटा सूचकका नतिजा प्राप्तिका आधारमा तोकिएका सूचकमा ८० प्रतिशत बढी अङ्क हासिल गरेकाले बिहिबार एक भव्य समारोहकाबिच घोराहीलाई लैङ्गिक हिंसा नियन्त्रित पालिका घोषणा गरियो ।

उपमहानगरपालिकाको ४८औँ स्थापना दिवसको अवसर पारेर पालिकालाई लैङ्गिक हिंसा नियन्त्रित पालिका घोषणा गरिएको हो । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको अध्यक्षता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको विशिष्ट आतिथ्यतामा सम्बन्धित सरोकारवालाको सहभागितामा घोराहीलाई लैङ्गिक हिंसा नियन्त्रित घोषणा गरिएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा नियन्त्रित पालिका घोषणाको पत्र पढेर सुनाएका थिए ।

घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री आचार्यले घोराही उपमहानगरपालिका मानव विकासको सूचकमा यस अघि नै अग्र भूमिकामा रहेको उल्लेख गर्दै मुलुकमै पहिलो पालिकाका रूपमा लैङ्गिक हिंसा नियन्त्रित पालिका घोषणा हुन सफल भएकोमा घोराही उपमहानगरपालिकाको सिङ्गै टिमलाई बधाई दिए । यसलाई दिगोपना दिनका लागि नगरबासीको निरन्तर प्रतिबद्धताको अपेक्षा गरे ।

घोराहीले यस अघि नै बालमैत्री नगर घोषणा र खुल्ला सडक मानवमुक्त पालिका घोष्णा गरिसकेको सन्दर्भ उल्लेख गर्दै प्रमुख अतिथि शर्माले अब पालिकाबासी कसैका घरमा कुनै पनि खाले लैङ्गिक हिंसा नगराउन नगरबासीले प्रतिबद्धता जाहेर गर्नुपर्ने बताए । घोषणा सभामा शुभकामना दिँदै विशिष्ट अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले घोराही उपमहानगरपालिकाको मानव विकासको सूचकहरू सन्तोषजनक एवम् अनुकरणीय रहेको उल्लेख गर्दै यसलाई दिगोपना दिनका लागि घोराही अहोरात्र क्रियाशील हुने विश्वास व्यक्त गरे ।

‘पालिकाको समग्र समृद्धिका लागि भौतिक विकासले मात्र पूरा भूमिका खेल्न सक्दैन, त्यसैले मानव संसाधनको विकासमा स्थानीय सरकारको उत्तिकै भूमिका रहन्छ’, शर्माले भने, ‘यसमा घोराहीको पहल निरन्तर रहनेछ ।’ सभ्य एवम् समुन्नत समाज निर्माणमा घोराही उपमहानगरपालिकाले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै उनले अब घोराहीमा वातावरणमैत्री विकासको अवधारणा कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

घोषणा सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले यो प्रतिबद्धतालाई निरन्तरता दिनुपर्ने बताए । मानव विकासको सूचकमा घोराहीको अनुकरणीय पहल रहेको भन्दै प्रमुख जिल्ला अधिकारीले अब हरेक स्थानीय पालिकाले जिल्लालाई नै लागूऔषध दुव्र्यसनी मुक्त बनाउन भूमिका खेल्नु पर्ने सुझाव दिए । ‘दाङमा लागूऔषध दुव्र्यसनीको समस्या मैले विकराल देखेको छु, यसविरुद्ध पनि समग्र जिल्लाका पालिकाले एकमत भएर अभियान अघि बढाउन आवश्यक छ’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘यसमा प्रशासन र प्रहरीको निरन्तर सहयोग र सद्भाव रहनेछ ।

घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको स्वागत मन्तव्यबाट सुरु भएको घोषणा सभामा पालिकालाई लैङ्गिक हिंसा नियन्त्रित घोषणा गर्नका लागि विभिन्न टोल विकास संस्थासम्मै पुगेर सूचकका विषयमा अध्ययन, अनुसन्धान एवम् तथ्यहरूको विश्लेषण गरिएको थियो । यसमा सुशासन विज्ञ दुर्गालाल केसी र विकिरण गौतमले अहम जिम्मेवारी निर्वाह गरेका थिए ।

पालिकाका १९ वटै वडामा पुगेर तथ्य तथा सूचकहरूको विश्लेषण गरी जिल्ला समन्वय समितिबाट स्थलगत अनुगमन गराएर लुम्बिनी प्रदेश सरकारबाट स्वीकृति लिएपछि मात्र घोराहीलाई लैङ्गिक हिंसा नियन्त्रित पालिका घोषणा गर्न सम्भव भएको घोषणा सभामा बताइएको छ । कार्यक्रमको समापन गर्दै घोराही उपमहानगरपालिका प्रमुख चौधरीले अब घोराही उपमहानगरपालिका वातावरणमैत्री पालिका घोषणाको अभियानमा अघि बढ्ने दाबी गरे ।

‘हामीले दर्जनौँ जलाशयको निर्माण गरी दाङलाई काकाकुल हुनबाट मात्र बचाएका छैनौँ, बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरणमा योगदान गरेका छौँ’, प्रमुख चौधरीले भने, ‘हाम्रो अबको अवधारणा भनेको वातवरणमैत्री विकास हो ।’ ‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ सुरु भएको घोषणा सभामा लैङ्गिक हिंसा नियन्त्रित पालिकाको अभियानमा सहयोग गर्ने विभिन्न वडा, टोल विकास संस्था, सञ्चारमाध्यमहरू, कर्मचारी, उत्कृष्ट खेलाडीलगायतलाई सम्मान गरिएको थियो ।

जस अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन पूरा गरी एमबिबिएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याई नेपाल सरकारको पूर्णछात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने घोराही उपमहानगरपालिका–२ निवासी विनय चौधरी र घोराही–१० निवासी रोशनी घर्तीलाई नगद १० हजारसहित सम्मान गरिएको थियो । यसैगरी स्थापना दिवसका अवसरमा खेलकुदका माध्यमबाट योगदान पु¥याउने तीन जना नेसनल गोल्डमेडलिस्ट खेलाडीलाई सम्मान गरिएको छ । जसमा एथलेटिक्सतर्फ अनुजा थारू चौधरी, ब्याडमिन्टनतर्फ सुविन श्रेष्ठ र कराँतेतर्फ मनीष घर्तीलाई नगद १० हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण मदनकुमार वलीले गरेका थिए भने कार्यक्रममा नेपाली साङ्केतिक भाषा दोभासेको भूमिका स्मृति योगीले निर्वाह गरेकी थिइन् । उपमहानगरको एक्लो प्रयासले मात्रै लैङ्गिक हिंसा नियन्त्रित घोषणा सम्भव नभएकाले नगरका सबै सरोकारवाला यस अभियानमा सक्रियताका साथ जोडिएर उपमहानगरका जनप्रतिनिधि, सबै शाखा, महाशाखाका साथै वडा कार्यालयका कर्मचारी, पत्रकार, संघसंस्था, शिक्षक, विद्यार्थी, युवा, किशोरकिशोरी, महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, टोल विकास संस्थालगायत विभिन्न सरोकारवालालार्ई लैङ्गिक हिंसा नियन्त्रित अभियानबारे अभिमुखीकरण गरिएको थियो ।

सबै सरोकारवालाले यस अभियानमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । सबैको सामूहिक प्रयासबाट मात्रै घोराही लैङ्गिक हिंसा नियन्त्रित नगर बन्न सफल भएको हो ।

घोषणा प्रक्रियामा फरक मत

यसैबिच घोराही उपमहानगरपालिकाले समग्र पालिकालाई लैङ्गिक हिंसा नियन्त्रित पालिका घोषणा गरिरहँदा महिला अधिकारकर्मीहरूले भने यसमा घोराही उपमहानगरपालिकामा फरक मत पेस गरेका छन् । उनीहरूले घोराही उपमहानगरपालिका प्राङ्गणमै पत्रकार सम्मेलन गरेर फरक मत राखेको विज्ञप्ति पढेर सुनाएका थिए ।

लैङ्गिक हिंसा नियन्त्रित पालिका घोषणामा फरक मत राख्नेमा महिला अधिकारकर्मी बिमला योगी, महिला मानव अधिकार रक्षक सञ्जाल दाङका संस्थापक अध्यक्ष लक्ष्मी आचार्य, महिला मानव अधिकार रक्षक सञ्जाल दाङका वर्तमान अध्यक्ष अनिता पोख्रेल र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपाने रहेका छन् ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा जिल्ला प्रहरी कार्यालय दाङकै तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा लैङ्गिक हिंसाका एक सय ८६ वटा निवेदन, घरेलु हिंसाका एक सय ३९ आर्थिक वर्ष ०८१÷०८२ मा दुई सय ३१ र चालु आर्थिक वर्षमा ८५ वटा निवेदन दर्ता भएको उल्लेख गरेका छन् । यसैगरी एक वर्षमा करिब दुई सय व्यक्तिले आत्महत्या गरेको प्रहरीसँग तथ्याङ्क छ । जबर्जस्ती करणीका ६६ मुद्दा छन् । यस्तो अवस्थामा सस्तो लोकप्रियताका लागि फगत सशक्तीकरण र चेतना करका लागि खर्च भएको बजेट सार्वजनिक गर्नसमेत महिला अधिकारकर्मीले विज्ञप्तिमार्फत् माग गरेका छन् ।

भदौ २३ र २४ को जेन–जी आन्दोलनको माग सुशासनयुक्त भ्रष्टाचारमुक्त स्थानीय सरकार सञ्चालन भएकाले लैङ्गिक हिंसा नियन्त्रित पालिकाको अभियान अझै प्रमावकारी बनाउन सकेमा सार्थक हुनेछ भन्ने विज्ञप्तिमा अपेक्षा गरिएको छ । श्रीमान् बेपत्ता भएका महिलाको स्वास्थ्योपचार, आयआर्जनका लागि व्यावसायिक तालिम तथा रोजगार सिर्जना, बालबालिकाको निःशुल्क शिक्षा तथा किशोरीको स्वास्थ्य क्षेत्रमा काम गर्न सकेमा मात्र लैङ्गिक हिंसा नियन्त्रित नगर हुन सक्ने भएकाले त्यसतर्फ नगरपालिकाले ध्यान दिनसमेत विज्ञप्तिमार्फत् अनुरोध गरिएको छ ।