देउखुरी,१४ माघ । गढवा गाउँपालिका–३, गोबरडिहा निवासी ४६ वर्षीया शान्ति कुमालको जीवनमा मंसिर १ गतेपछि दुःखका दिनहरू एकपछि अर्को गर्दै थपिँदै गए। भारतको बिहारमा मजदुरी गर्दै गरेका उनका श्रीमान् रामबहादुर कुमालको हृदयघातका कारण मृत्यु भएपछि, जेनतेन चलिरहेको घर–गृहस्थी एकाएक भत्कियो।
चार सन्तानको भविष्य बोकेकी शान्तिका लागि खाना, नाना र छानाको समस्या नै सबैभन्दा ठूलो चुनौती बन्यो। जेठी छोरीको विवाह भइसके पनि बाँकी तीन सन्तानको भविष्यप्रति उनी गहिरो चिन्तामा छिन्। २३ वर्षीय जेठो छोरा टाउको जलेर नसाहरू तानिएको कारण अपाङ्ग छन्। १७ वर्षीय कान्छो छोरा र कक्षा १२ को परीक्षा दिएकी कान्छी छोरीको भविष्य अहिले अन्योलमा छ। अपाङ्ग छोरा भए पनि हालसम्म अपाङ्गता परिचयपत्र नबन्दा राज्यबाट पाउने भत्तासमेत नपाएको शान्तिको गुनासो छ।
यस्तो कठिन परिस्थितिमा नेपाली कांग्रेस गढवा गाउँपालिकाका सभापति किरण पौडेलले मानबिय धर्म निभाउदै परिवारको पक्षमा अगाडि आउनु भयो । पार्टीले शान्ति कुमालको घर निर्माणका लागि करिब २४ हजार रुपैयाँ बराबर पर्ने २ हजार थान इँटा सहयोग गरेको छ। विपद् र पीडाको घडीमा पार्टीले देखाएको यो सक्रियताले शान्तिको जीवनमा फेरि आशा पलाएको छ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेले गढवामा गरिएको सहयोगको प्रशंसा गर्दै, “नेपाली कांग्रेस गढवा, तरुण दल र सरोकारवाला संघ–संस्थाले गरेको सहयोग अत्यन्तै महत्वपूर्ण छ। यसले पीडित शान्ति कुमालको घर निर्माणमा ठुलो मद्दत पुर्याउनेछ,” भन्नुभयो।
त्यसैगरी, नेपाली कांग्रेस गढवाका सभापति किरण पौडेलले पार्टी सधैं मानवीय पीडाको पक्षमा रहने स्पष्ट पार्दै, “शान्ति कुमालजस्ता विपन्न र दुःखमा परेका नागरिकलाई सहयोग गर्नु हाम्रो सामाजिक र राजनीतिक दायित्व हो। पार्टीको तर्फबाट आवश्यक सहजीकरण निरन्तर रहनेछ,” भन्ने विचार व्यक्त गर्नुभयो।
यसैबीच, नेपाल तरुण दल गढवाका सभापति जितु खड्काले घर निर्माणका लागि १,०५० रुपैयाँ नगद सहयोग गरेका छन्। गोबरडिहा सामुदायिक वन उपभोक्ता समूहले ५ हजार रुपैयाँ नगद तथा करिब ५० हजार रुपैयाँ बराबरको काठ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सामुदायिक वनका अध्यक्ष शिवु यादवले समुदायले पीडितलाई छानाविहीन हुन नदिने बताए।
गढवा गाउँपालिकाले पनि घरको छानाका लागि ७५ हजार रुपैयाँ बराबरको टिन सहयोग गर्ने पिडित शान्ति कुमालले बताउनु भयो । यद्यपि, अपाङ्गता परिचयपत्र बनाउने प्रक्रिया अझै अघि नबढ्दा शान्तिको पीडा यथावत् छ। ४६ वर्षमै जीवनको ठूलो बोझ बोकिरहेकी शान्ति कुमालका लागि नेपाली कांग्रेस गढवाको अग्रसरता केवल इँटा मात्र होइन, भरोसा र सहाराको प्रतीक बनेको छ। अब राज्यका निकायले प्रक्रिया छिटो अघि बढाए भने, शान्तिको घर मात्र होइन, उनका सन्तानको भविष्य पनि सुरक्षित हुने अपेक्षा गरिएको छ।