बिकट बस्तीमा स्वास्थ्य शिविर, स्थानीय खुसी

शरद रेग्मी
दाङ, १० माघ । देशमा निर्वाचनको माहोल सिर्जना भइरहेको समयमा तुलसीपुर उपमहानगरपालिकाका स्थानीय भने आफ्नै स्वास्थ्य सेवाको संकट भोग्न बाध्य भएका छन्। निर्वाचनका समयमा ठूला–ठूला आश्वासन बाँडदै हिँड्ने नेताहरू निर्वाचनपछि जनताका प्राथमिकता बिर्सिदा जनतालाई आधारभूत तहको स्वास्थ्य सेवा पाउनसमेत समस्या रहेको छ।

यस्तै स्वास्थ्य संकट बेहोर्दै आएको तुलसीपुर उपमहानगरपालिका–१३ तुई रनियापुरका नागरिकहरूले शनिबार केही राहतको महसुस गर्न पुगेका छन्। रोटरी क्लब अफ तुलसीपुर सिटीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी, महिला तथा स्त्रीरोग, जनरल फिजिसियन र बालरोग विशेषज्ञ लगायतका सेवाहरू स्थानीयले गाउँमै लिएका छन्।

अरू समयमा बिरामी डाक्टर खोज्दै अस्पताल पुग्ने गर्दथे, तर शनिबार बिरामी खोज्दै डाक्टरहरू गाउँमा पुगेपछि स्थानीय सेवाग्राही खुसी भएका थिए। रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सन्दीपन रिजालका अनुसार शिविरबाट रेफर भएका बिरामीहरूलाई एक पटक सिटी हस्पिटलमा निःशुल्क चेकजाँच तथा औषधि उपचार गर्ने व्यवस्था मिलाइएको छ।

निःशुल्क स्वास्थ्य शिविरमा करिब चार सय बिरामीहरूले सेवा लिएका छन्। उनीहरूले औषधि पनि निःशुल्क पाएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए। स्थानीयको तर्फबाट शिविरको व्यवस्थापन वडा नम्बर १३ का अध्यक्ष मोहन पौडेलले गरेका थिए।

सो अवसरमा तुलसीपुर सिटी हस्पिटलका पूर्व अध्यक्ष विमल रिजाल, रोटरी डिस्ट्रिक्ट ३२९२ का एजी विरु रावत, पत्रकार महासंघ दाङकी उपाध्यक्ष नारायणी रजौरे, स्थानीय रेडक्रसका प्रतिनिधि हरिहर पौडेल, क्लबका भावी अध्यक्ष देवेन्द्र केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण तुलसीपुर सिटी हस्पिटलका प्रबन्धक हेमराज बस्नेतले गरेका थिए।