गोरक्ष समाचादाता
दाङ, ९ माघ । घोराही–१८ मा रहेको राप्ती आवासीय विद्यालयको २५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर एमसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उपप्रमुख डिसीले शिक्षाको सुधारमा सबैको सहकार्य हुनुपर्ने बताइन् ।
सामुदायिक र संस्थागत विद्यालय सहकार्य गरेर शैक्षिक गुणस्तर सुधार ल्याउन सकिने उनले बताइन् । बालबालिकाप्रति अभिभावक जिम्मेवार हुनु पर्ने उपप्रमुख डिसीले बताइन् । ‘विद्यालय पठाएर मात्र अभिभावको जिम्मेवारी पूरा हुँदैन, बालबालिकालाई अभिभावकले समय दिनुपर्छ’, उनले भनिन् । कार्यक्रममा बोल्ने अन्य वक्ताले शिक्षाको क्षेत्रमा निजी विद्यालयको महत्वपूर्ण योग्दान रहेको बताएका थिए ।
कार्यक्रममा घोराही–१८ नं. वडाका वडाध्यक्ष भरतमणि अर्याल, प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्द, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनलगायतले भनाइ राखेका थिए । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रिन्सिपल टोपबहादुर वलीले प्रस्तुत गरेका थिए ।
विद्यालयका शिक्षक राजेन्द्र गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक स्वस्तिमाया एमसीले गरेकी थिइन् । सो अवसरमा उत्कृष्ट शिक्षकको रूपमा रेणु राजभण्डारी, उत्कृष्ट कर्मचारीका रूपमा लालबहादुर चौधरीलाई सम्मान गरिएको थियो ।
यसैगरी विद्यालयका उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीले विज्ञान कला प्रदर्शनी तथा विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए ।