गोरक्ष समाचारदाता
दाङ, ५ माघ । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि सहकार्य गर्नुपरेको उम्मेदवारले बताएका छन् । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवार बनेका नेताहरूले संविधानको मर्म र भावनाअनुसार देशलाई अघि बढाउनका लागि दलगत स्वार्थभन्दा माथि उठेर सहकार्य गर्दै अघि बढ्नु परेको बताएका हुन् ।
आइतवार घोराहीमा आयोजना गरिएको राष्ट्रियसभाका उम्मेदवार र जनप्रतिनिधिबिचको परिचयात्मक तथा भेटघाट कार्यक्रममा सहभागी राष्ट्रियसभा सदस्य पदका उम्मेदवारहरू चन्द्रबहादुर केसी, रामकुमारी झाँक्री र बासुदेव घिमिरे ‘जंगली’ ले संविधानमाथि देखिएका चुनौतीलाई सामूहिक प्रयासबाट सामना गर्न कांग्रेस–एमाले मिलेर निर्वाचनमा होमिएको बताएका थिए ।
नयाँ दलका नाममा देशमा विध्वमसं र अस्थीरता मच्याउन खोजिएको भन्दै त्यसका लागि रोक्नका लागि संविधान रक्षा गर्दै देशलाई सही ट्याकमा ल्याउनु पर्ने अवस्था रहेको नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य उम्मेवार चन्द्रबहादुर केसीले बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र र संविधानले सुनिश्चित गरेका अधिकारको संरक्षणमा राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहने बताए ।
कार्यक्रममा नेकपा एमालेकी नेता तथा उम्मेदवार रामकुमारी झाक्रीले झट्ट हेर्दा अहिलेको निर्वाचन नयाँ र पुराना राजनीतिक दलका बिचमा भएको जस्तो देखिए पनि यर्थाथमा परिवर्तन चाहने र अस्थीरता चाहनेबिचको प्रतिस्पर्धा भएको बताइन् । अहिले ठुला दलबाट केही भएन भनेर जनतामा भ्रम सिर्जना गर्ने राजनीतिमा नयाँ अनुहार देखिए पनि विभिन्न संघसंस्थामा आवद्ध भएर विभिन्न काण्डमा मुच्छिएका भ्रष्ट अनुहार भएकाले जनतालाई समयमै सचेत रहन आग्रह गरिन् ।
त्यस अवसरमा नेपाली कांग्रेसबाट राष्ट्रियसभा उम्मेदवार बनेका बासुदेव घिमिरे ‘जंगली’ ले संविधान, लोकतन्त्र र राष्ट्रिय हितको संरक्षणका लागि एकजुट हुनु पर्ने आवश्यकता रहेको बताए । भेटघाट कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वली, नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशरी गौतम, नेपाली कांग्रेसका जिल्ला उपसभापति गिरिराज सुवेदी, नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीलगायत जिल्लाका जनप्रतिनिधिको सहभागीता रहेको थियो ।