लुम्बिनीमा दुई हजार एक सय ४७ बैंक तथा वित्तीय शाखा

अमरराज आचार्य
दाङ, ४ माघ । लुम्बिनी प्रदेशमा दुई हजार एक सय ४७ वित्तीय संस्था शाखा रहेका छन् । २०८२ असार मसान्तसम्ममा यस प्रदेशमा ‘क’ वर्गका सात सय ४८, ‘ख’ वर्गका दुई सय ५६, ‘ग’ वर्गका ४७ र ‘घ’ वर्गका एक हजार ९६ गरी जम्मा दुई हजार एक सय ४७ वटा बैंक तथा वित्तीय संस्थाका शाखा र एक सय ६२ वटा शाखारहित बैङ्किङ सेवाबाट वित्तीय सेवा उपलब्ध गराएको राष्ट्र बैंकको वार्षिक प्रतिवदेनले देखाएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थामा ४५ लाख ३० हजार दुई सय ८४ मोबाइल बैंकिङ सेवा र तीन लाख ३३ हजार छ सय ८५ इन्टरनेट बैंकिङ सेवा दर्ता भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गर्दै गएका छन् । जसबाट नागरिकलाई सेवा लिन सहज हुँदै गएको छ । प्रदेशमा पछिल्लो सयममा डिजिटल बैङ्किङ सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेको तथ्याङ्कले देखाएको छ । यसले नागरिकको समय बचत हुनुका साथै सेवा प्रवाहमा सहज हुने गरेको बताइएको छ ।

रुपन्देहीमा बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या पाँच सय २७ रहेको छ भने शाखारहित बैङ्किङ सेवा १९ वटा रहेका छन् । कपिलवस्तुमा बैंक तथा वित्तीय संस्थाको दुई सय २१ शाखा रहेका छन् भने आठ वटा शाखासहित बैङ्किङ सेवा रहेका छन् । यसैगरी नवलपरासी पश्चिममा बैंक तथा वित्तीय संस्थाको एक सय ८१ शाखा र आठ वटा शाखासहित बैङ्किङ सेवा रहेका छन् । पाल्पामा बैंक तथा वित्तीय संस्थाका एक सय २४ वटा शाखा र १६ वटा शाखारहित बैङ्किङ सेवा रहेका छन् ।

यसैगरी गुल्मीमा बैंक तथा वित्तीय संस्थाका एक सय १५ शाखा र ४२ वटा शाखारहित बैङ्किङ सेवा रहेका छन् । अर्घाखाँचीमा बैंक तथा वित्तीय संस्थाका ६६ वटा शाखा र १४ वटा शाखारहित बैङ्किङ सेवा रहेका छन् । यसैगरी रोल्पामा बंैक तथा वित्तीय संस्थाका ६१ वटा शाखा र छ वटा शाखारहित बैङ्किङ सेवा रहेका छन् । प्युठानमा बैंक तथा वित्तीय संस्थाका ७९ शाखाले सेवा दिइरहेका छन् । यसैगरी बाँकेमा बैंक तथा वित्तीय संस्थाका दुई सय ४६ वटा शाखा र १७ वटा शाखारहित बैङ्किङ सेवा रहेका छन् ।

बर्दियामा बैंक तथा वित्तीय संस्थाका दुई सय १८ वटा शाखा र आठ वटा शाखारहित बैङ्किङ सेवा रहेका छन् । यसैगरी दाङमा बैंक तथा वित्तीय संस्थाका दुई सय ९१ वटा शाखा र १९ वटा शाखारहित बैङ्किङ सेवा रहेका छन् । रुकुम पूर्वमा बैंक तथा वित्तीय संस्थाका १८ वटा शाखा र पाँच वटा शाखारहित बैङ्किङ सेवा रहेका छन् ।

२०८२ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले लुम्बिनी प्रदेशबाट सङ्कलन गरेको कूल निक्षेप २०८१ असार मसान्तको तुलनामा १५ दशमलव ४३ प्रतिशतले वृद्धि भई छ खर्ब ६० अर्ब १० करोड ३२ लाख रुपैयाँ पुगेको छ । जसमध्ये चल्ती निक्षेप ३३ दशमलव १५ प्रतिशत, बचत निक्षेप ३५ दशमलव १२ प्रतिशत र अन्य बचत २१ दशमलव शून्य पाँच प्रतिशतले वृद्धि भएको छ भने मुद्धति निक्षेप छ दशमलव ४७ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी कूल निक्षेपमा चल्ती, बचत, मुद्धति र अन्य निक्षेपको अंश क्रमशः छ दशमलव ५१ प्रतिशत, ५१ दशमलव ३३ प्रतिशत, ३६ दशमलव ७१ प्रतिशत र पाँच दशमलव ४६ प्रतिशत रहेको छ । जिल्लाका कूल निक्षेपको अवस्था तुलनात्मक रूपले धेरै हिस्सा रुपन्देहीमा ४२ दशमलव ३३ प्रतिशत छ भने कम रुकुम पूर्वमा शून्य दशमलव ३८ प्रतिशत छ । ०८२ असार मसान्तसम्ममा लुम्बिनीका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ०८१ असार मसान्तसम्मको तुलनामा दुई दशमलव ९२ प्रतिशतले वृद्धि भई पाँच खर्ब ७७ अर्ब २७ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

यसैगरी ०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको लुम्बिनी प्रदेशको कर्जा÷निक्षेप अनुपात सात दशमलव ४५ प्रतिशत छ । कूल कर्जाको जिल्लागत अवस्था तुलनात्मक हिसाबले धेरै हिस्सा रुपन्देहीको ५० दशमलव ४६ प्रतिशत छ भने कम रुकुम पूर्वकोे शून्य दशमलव २३ प्रतिशत छ । कर्जा÷निक्षेप अनुपात सबैभन्दा धेरै बाँकेमा १३३ दशमलव ४९ प्रतिशत छ भने कम अर्घाखाँचीमा १४ दशमलव ४१ प्रतिशत छ । ०८२ असार मसान्तसम्ममा लुम्बिनीका बैंक तथा वित्तीय संस्थाका ऋणीको सङ्ख्या दुई सय एक, असार मसान्तको तुलनामा सामान्य ह्रास भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।