calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

विपन्न विद्यार्थीलाई सहयोग

आलोक भावुक
गढवा, २६ पुस । गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना कार्यक्रम अन्तर्गत गठित नमुना युवा उद्यमी समूह ६ र ७ का सदस्यहरूले पाँच जना विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका छन् ।

गढवा गाउँपालिका–६ बालाखुटीस्थित बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत अतिविपन्न, गरिब तथा असहाय विद्यार्थी पहिचान गरी पाँच जनालाई न्यानो कपडा (ज्याकेट) वितरण गरेका हुन् । जाडो मौसममा विद्यार्थीलाई न्यानो कपडाको अभावका कारण पठनपाठनमा समस्या नआओस् भन्ने उद्देश्यले सहयोग गरिएको हो । स्थानीय स्तरमा युवाको सक्रियताले विपन्न बालबालिकाको शिक्षा र जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयका शिक्षक राधा आचार्यले बताइन् ।

कार्यक्रमकै क्रममा केभी साझा पशुपन्क्षी फर्मका प्रोप्राइटरद्वय बिन्तिराम यादव र वसन्ती चौधरीले सोही विद्यालयमा अध्ययनरत गढवा गाउँपालिका–६ बालाखुटी निवासी छात्रा रविया खातुनको कक्षा १२ सम्मको सम्पूर्ण पठनपाठन खर्च व्यहोर्ने जिम्मेवारी लिने घोषणा गरे । उनीहरूले खातुनको कपी, किताब, झोला, विद्यालय पोसाक, जुत्ता, चप्पललगायत शैक्षिक तथा आवश्यक सम्पूर्ण खर्च कक्षा १२ सम्म निरन्तर रूपमा व्यहोर्ने प्रतिबद्धता जनाएका हुन् ।

नमुना उद्यमी युवा समूहका अध्यक्ष तीला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षकहरू राधा आचार्य, भिटा परियोजनाकी सामुदायिक सहजकर्ता आशा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वक्ताले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

आगामी दिनमा पनि भिटा परियोजना अन्तर्गत यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरिने भिटा परियोजनाकी सामुदायिक सहजकर्ता आशा श्रेष्ठले बताइन् ।