युवाशक्ति अभावको खतरा
युवराज पोख्रेल ‘चिनो’
सरकारी तथ्याङ्कअनसार नेपालको कुल जनसङ्ख्याको २५ प्रतिशत आर्थिक रुपमा श्रम गर्न सक्षम छन् । हरेक प्रतिवर्ष चार लाख युवा श्रम वजारमा प्रवेश गर्दछन् । यी मध्ये ५ प्रतिशतले मात्र स्वदेशी श्रम बजारमा औपचारिक क्षेत्रको रोजगारी पाउँछन् । बचेका ९५ प्रतिशत युवा शक्तिको रोजगारीको टुङ्गो हुँदैन । त्यसैले राष्ट्रिय श्रम बजारमा बर्सेनि प्रवेश गर्ने युवाशक्ति मध्ये ७५ प्रतिशत रोजीरोटीको खोजीमा विदेशिन बाध्य छन् ।
अहिले पनि देशमा ४७ प्रतिशत युुवा बेरोजगार छन् । जुन संसारकै सबैभन्दा बढी युवा वेरोजगार दर हो । समग्रमा बेरोजगार दर उच्च छ, तर आर्थिक वृद्धिदर भने न्यून छ । जनसङ्ख्या वृद्धि दरभन्दा श्रम बजारमा प्रवेश गर्नेको सङ्ख्या दर बढी छ । रोज्गार पाउनेहरु पनि अर्धबेरोजगार धेरै छन् । पूर्ण रोजगार पाउनेहरु मध्ये पनि धेरैले पाउने तलब निकै न्यून छ, अझ रोजगारका औपचारिकता र व्यवसायिक क्षेत्रको सङ्कुचन र सीमितताको कारण बेरोजगार मध्य धेरैजसो नव जवान युवाहरु छन् । त्यसैले युवाहरु विदेशिने दर बढेको बढै छ ।
विदेशिने युवाको सङ्ख्या ह्वात्तै बढेपछि यसबाट प्राप्त हुने रेमिट्यान्सको अनुपात कुल गार्हस्थ उत्पादकको २५ प्रतिशत पुगेको छ । वैदेशिक रोजगारबाट देशभित्र पैसा भित्रर्याउनु र राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनु हो तर जुन रुपमा कर्मठशिल युवा पलाईनले गाउँ, बस्ती तथा नेपाली सहर युवाविहीन हुँदै गएका छन् यसले मुलुकको अन्धकार भविष्यको सङ्केत गर्दछ । युवाहरुकै पौरखबाट मौलाएको सरकारले विदेशिएका युवा नेपालीहरुको सुरक्षा र व्यवस्थापनमा ध्यान दिन सकेको छैन ।
अहिले युवाको पौरखले डलर प्राप्त भएर सरकार मख्ख भए पनि उर्वर युवाशक्ति विदेश पलाईन हुनुले देशको अर्थतन्त्र र समग्र विकासमा नकारात्मक असर पु¥याउने छ । यसले हाम्रो आम्दानी र अर्थतन्त्रलाई पर निर्भर बनाउँदै लगेको छ, देशको उत्पादनशिल श्रम शक्ति देशबाटै पलायन हुँदा औद्योगिक उत्पादन पनी नराम्ररी खस्केको छ देशभित्र रोजगारीको व्यवस्थापन हुन नसकेको कारण विदेशिएका युवा जनशक्तिसँगै देशको भविष्य पनि बाहिरिँदै छ ।
उर्जनशिल जनसङ्ख्याको बहिर्गमनसँगै उत्पादन पनि घट्दै छ । आयात बढेर निर्यातमा भएको कमिका कारण व्यापारघाटा चुल्ला हुँदै छ । यस अर्थमा वैदेशिक रोजगार भनेको राष्ट्रिय अर्थतन्त्र सुधारका लागि कृतिम हर्मोन जस्तै हो । वैदेशिक रोजगारको दिगो गन्तव्यको अभाव, प्रतिस्पर्धी बन्दै गइरहेको अन्तर्राष्ट्रिय श्रम बजार, नेपाल सरकारको वैदेशिक फितलो नीति र नेपाली श्रमिकमा दक्षताको कमिले तत्कालका लागि गर्जो टारिदिएको वैदेशिक रोजगारको बाटो समेत बन्द हुने खतरा बढ्दै गइरहेको छ ।
अस्थिर, भ्रष्ट तथा नाङ्गिएका दलको राजनीतिक संस्कार, धराशायी बन्दै गएको राष्ट्रिय अर्थतन्त्र तथा विकास निर्माणमा आएको सुस्तताका कारण दक्ष तथा शिक्षित युवाहरुले समेत देशमा सम्मानजनक रोजगार पाउन कठिन छ । असक्षम सरकार, स्पष्ट युवा नीतिको अभाव, राजनैतिक अस्थिरता, दलका अगुवा नेताहरुको अकर्मन्यता तथा अशान्त व्यवस्था युवा परिचालन तथा रोजगारीका क्षेत्रमा पनि दलीय भागबन्डा, एवम् दलीय स्वार्थ मौलाउनु युवा बेरोजगारको मुख्य कारण हो ।
दलीय स्वार्थका कारण सक्षम युवाले समेत काम नपाउने प्रवृतिले समाजलाई भ्रष्टीकृत गर्दै लगेको छ । औपचारिक शिक्षा समेत केवल सैद्धान्तिक, गुणस्तरहीन, अव्यवहारिक, सुगारटान (पट्टु) शैली तथा अनुत्पादनशील भएका कारण शिक्षित बेरोजगारको सङ्ख्या बढेको छ । शिक्षित युवाहरुलाई प्रमाण पत्र लिएर नेताको चाकडिमा भौतारिनु, कित विदेश पलायनको योजना बनाउनु बाहेकको विकल्प छैन ।
विदेशिने जनसङ्ख्या मध्ये अधिकांश युवा अदक्ष वा अर्धदक्ष भएका कारण विदेशमा समेत भने अनुसारको तलब नपाउने तथा धेरै दुःख पाउने गरेको सुनिन्छ । प्रमुख रोजगार गन्तव्य क्षेत्रमा पुगेका खाडिका देशहरुमा नेपाली श्रमिक असुरक्षित छन्, । दिनहुँजसो विदेशमा ज्यान गुमाएका नेपाली कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर आउने गरेको देखिन्छ ।
भविष्यको खोजिमा विदेशिएका युवा परदेशमै ज्यान गुमाउनु पर्ने अवस्था देश र हामी नेपालीको लागि असाध्यै दुःखद् हो । त्यो भन्दा दुःखद् के हुन सक्छ ? युवाहरुकै पौरखबाट धानिएको सरकारले वैदेशिक रोजगारमा गएका नेपाली सन्ततिको सुरक्षामा ध्यान दिन सकेको छैन ।
अहिलेको देशको वेहाल अवस्थामा वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्ड बनेको छ र युवाहरुको विदेश गमन राष्ट्रिय अर्थतन्त्रका लागि सुखद् बनेको छ तर रेमिट्यान्सको लोभमा युवा पलायन भएको नतम्स्तक भएर लाचारपन लुकाउँदै हेरिरहनु राज्य सञ्चालकको नैतिकताले के भन्छ ? आफ्नो मातृ भूमिमा भविष्य नदेखेर विदेशिएका प्रतिभाशाली सक्षम र सबल युवालाई देशभित्रै उज्वल अनि सुन्दर भविष्यको आधार पाउने अवस्था सिर्जना गर्न सकिएन भने देश गम्भिर दुर्घटनामा फस्ने खतरनाक सङ्केत देखिँदै छ ।
त्यसैले युवाको क्षमतालाई सकेसम्म देशमै सही उपयोग गर्ने र युवा पलायन रोक्ने विकल्पको खोजी गर्ने अनि युवाविहीन देशबाट जोगाउन राज्य दत्त चित्त भएर लाग्नु पर्ने देखिन्छ । भन्ने गरिन्छ– युवा देशको मेरुदण्ड हुन् । कुनै पनि समाज, क्षेत्र र राष्ट्र परिवर्तनसहित विकास हुन युवा जनशक्तिको मुख्य भूमिका रहन्छ । अशक्त अनि पाको उमेरका वा आमालाई त आफ्नो बुढेशकालको सहारा छोराछोरीको आस लाग्छ भने जननी जस्तै जन्म भुमिलाई पनि आपm्ना सन्ततिको आश लाग्नु स्वाभाविक हुन्छ ।
जसले आफ्नो बालापनदेखि पठनपाठन सम्पूर्ण त्यही माटोमा खर्चेका हुन्छन् । एउटा उज्वल भविष्यको आशमा । युवाले जसोतसो गरेर पढ्छ अनि आफ्नो योग्यतानुसारको इलम गर्न खोज्छ, गल्ली–गल्ली धाउँछ, नेताका होला अपजस खेप्दै बोक्छ अनि, कति हो कतिलाई चाकडि गर्छ तर पनि यो देशको नीति र नेतृत्वको वेथितीले गर्दा उ असफल हुन्छ र हरेश खाँदै लिलाम हुन लागेको जिन्दगीको कथा बोकेर गहभरी आँसु टलपल टलपल पार्दै मुग्लानतिर सोझिन बाध्य हुन्छ ।
हुनेखाने जो छन् उनीहरुको रोजाइमा पर्छ अमेरिका, अस्ट्रेलिया, लन्डन अनि कोरिया, हुँदा खाने निम्न वर्गीय पढाइबाट पनि हैरान भएकाहरुको लागि पर्छ खाडि मुलुक । गएको पछिल्लो ५ वर्षमा मात्रै ३५ लाखभन्दा बढी नेपाली युवा विदेश पलायन भएको एक पछिल्लो सर्वेक्षणले बताएको छ । तथ्याङ्कमा अझै बढ्दै गरेको देखिन्छ । जुन हृदयविदारक र कारुणिक छ ।
किन युवाहरु विदेश पलायन भइरहेका छन् ? यो विषयमा नेपाल सरकार र सरकारमा रहेका हाम्रो देशका नेतृत्व वर्गहरुले चर्का–चर्का भाषण गर्छन् । धेरै–धेरै वकालतका कण्ठ पनि बजाउँछन् तर दीर्घकालीन रुपमा कसरी यो समस्या निर्मुल पार्न सकिन्छ त्यो तर्फ कहिल्यै गम्भिर भएर सोच्न जानेनन् वा चाहेनन् । फलत उर्जाशील दक्ष जनशक्ति दिनमा दुगुना र रातमा चौगुना काठमाडौँको त्रिभुवन विमानस्थलबाट फूलका माला रङ्गिन खादा गलामा लगाएर घरमा वृद्ध वा आमालाई छोडेर गहभरी आँसु झार्दै परदेशिन बाध्य हुन्छन् ।
यता भएको खेत, घरबास र पाखो बन्दगी राखेर ऋण लिएर धेरै लगानी गरी गएको छोरोले राम्रै भएछ भने लगाएको ऋण तिरेर राम्रै गर्ला तर जीवन सोचे अनुसार सजिलो कहाँ छ र ! छोरोले राम्रै गर्ला पालन पोषण गरी वृद्धावस्थाको सहारा होला भन्ने ठुलो आशा बोकेर आसै आसमा बाचेका वा आमालाई चाडपर्वहरुमा कस्तो हुँदो हो चाँडो फर्कने आसमा गएको बाबुले २ ÷४ वर्ष पछि उतैको नागरिक भए भन्दै वा आमालाई खुसी हुन भन्छ ।
विस्तारै बाबुआमा एउटा देशको नागरिक छोराछोरी अर्कै देशको हुन्छन् । विदेशिएको छोरो आउला कि भन्ने आसै आसमा दिन धकेलिरहेका वा आमाको घिटी घिटी प्राण अड्किरहेको हुन्छ । देश मै रोजगारीको वातावरण निर्माण गरी युवा शक्ति पलायनबाट रोक्न सक्ने वातावरण सिर्जना गरी देश, देशबासी र राष्ट्रियताप्रति भविष्यको चिन्ताका विषयमा गहिरो चिन्तनसहित योजनाका लागि राज्य संयमित र एक ढिक्का हुन जरुरी देखिन्छ ।
