राजनीति: शक्ति होइन, विरासत र सेवाको निरन्तर यात्रा

रणबहादुर खड्का
मेरो लागि राजनीति केवल शक्ति आर्जन गर्ने माध्यम होइन; यो त मेरो रगतमा बगेको गौरवशाली विरासत, त्याग र नि:स्वार्थ जनसेवाको निरन्तर संकल्प हो।

मेरो राजनीतिक चेतनाको मूल स्रोत मेरो पारिवारिक पृष्ठभूमि हो। मेरा जिजुहजुरबुबा रघुलाल खड्का ब्रिटिश आर्मीमा कार्यरत रहँदा द्वितीय विश्वयुद्धको बर्मा मोर्चामा सहभागी हुनुभएको थियो।

तर, देशमा जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको तीव्र चाहनाले उहाँलाई सुरक्षित सैनिक जीवन त्यागेर राजनीतिमा होमिन प्रेरित गर्‍यो। जननायक बी.पी. कोइरालाको विचारबाट गहिरो रूपमा प्रभावित भई तत्कालीन कांग्रेस नेताहरू पुरुषोत्तम उपाध्याय र अनिरुद्र शर्मालाई आदर्श मान्दै उहाँले २००७ सालको ऐतिहासिक क्रान्तिमा सक्रिय भूमिका निर्वाह गर्नुभयो।

वि.सं. २०१८ मा रोल्पा जिल्ला स्थापना गर्ने क्रममा उहाँले खेलेको ऐतिहासिक भूमिकाले आज पनि मलाई गर्वले भरिदिन्छ। म सानो छँदा उहाँ बजारबाट जननायक बी.पी. कोइरालाका पुस्तकहरू किनेर ल्याइदिनुहुन्थ्यो। ती पुस्तकहरू म उहाँलाई पढेर सुनाउँथेँ। उहाँ गर्वका साथ सुनाउनुहुन्थ्यो— कसरी दाङमा जननायक बी.पी. कोइराला र तत्कालीन राजा महेन्द्रलाई प्रत्यक्ष भेट्ने अवसर उहाँले पाउनुभएको थियो।

यही राजनीतिक विरासतलाई मेरा हजुरबुबा वीर बालाराम खड्काले थप उचाइ दिनुभयो। नेपाली कांग्रेस तालबाङ गाउँ कार्यसमितिको दुई कार्यकाल सभापति तथा २०४९ सालमा जिल्ला विकास समिति सदस्यको रूपमा उहाँले पुर्‍याउनुभएको योगदान अतुलनीय छ। जनयुद्धको कठिन र भयावह समयमा समेत विचलित नभई पार्टी र प्रजातन्त्रका पक्षमा अडिग रहँदा उहाँ माओवादी विद्रोहीहरूको निशानामा समेत पर्नुभयो। तर, आदर्श र मूल्यप्रति उहाँ कहिल्यै डगमगाउनुभएन।

उहाँले मलाई सधैं एउटै कुरा सिकाउनुभयो— “बाबु, ठूलो मान्छे बन्नुभन्दा असल मान्छे बन्नु।” यही शिक्षाले आजसम्म मेरो जीवन र राजनीतिक यात्रालाई मार्गदर्शन गरिरहेको छ।

नेपाली कांग्रेस मेरो लागि केवल एउटा राजनीतिक दल होइन, यो त अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जा एकआपसमा मिसिने लोकतान्त्रिक पाठशाला हो। हजुरबुबाबाट सिकेका अनुभव र मूल्यलाई आधुनिक सोच र भिजनसँग जोड्दै अघि बढ्ने अवसर मैले यही दलमार्फत पाएको छु। पुर्खाहरूको त्याग, दूरदृष्टि र नेपाली नागरिकप्रतिको निस्वार्थ प्रेमले मलाई सधैं सही दिशामा हिँड्न प्रेरित गरिरह्यो।

नेपाल विद्यार्थी संघको राजनीतिमा आबद्ध भई अम्बिकेश्वरी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षको जिम्मेवारी (२०७९ फागुन २७ देखि २०८१ चैत २४ सम्म) सम्हाल्दा मैले पुर्खाबाट सिकेको नेतृत्व, निष्ठा र सेवाभावलाई व्यवहारमा उतार्ने इमानदार प्रयास गरेँ।

राजनीति मेरो लागि पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थको विषय होइन। यो त मेरो परिवारले सात दशकदेखि जोगाउँदै आएको लोकतान्त्रिक मूल्य–मान्यतालाई निरन्तरता दिने संकल्प हो। पुर्खाहरूको गौरवशाली इतिहासलाई साक्षी राख्दै समाज परिवर्तन र नेपाली कांग्रेसको सुदृढीकरणका लागि म सधैं प्रतिबद्ध रहनेछु। हिजोका पुस्ताको इमान र भोलिका पुस्ताको सपनाबीच एउटा बलियो पुल बनेर लोकतन्त्रको रक्षा गर्नु नै मेरो जीवनको मूल लक्ष्य हो।