गोरक्ष समाचारदाता
दाङ, १३ पुस । समाजलाई सुरक्षित, अनुशासित र सचेत बनाउने अभियानमा सामुदायिक प्रहरी सेवा केन्द्रले प्रभावकारी भूमिका खेल्दै आएको छ । प्रहरी र समुदायबिचको सहकार्यलाई मजबुत बनाउँदै लागूऔषध दुव्र्यसनी नियन्त्रण, बालविवाह रोकथाम, सामाजिक सचेतना र विपन्न नागरिकलाई न्याय दिलाउने कार्यमा केन्द्र उदाहरणीय बन्दै गएको सरोकारवालाले बताएका छन् ।
सामुदायिक प्रहरी सेवा केन्द्र दाङको १८औँ साधारणसभा तथा १०औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्ने वक्ताले केन्द्रले समाजमा सकारात्मक परिवर्तन ल्याउन खेलेको भूमिकाको प्रशंसा गर्दै यसको कार्यक्षेत्र अझ विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले अपराध नियन्त्रण र युवालाई सही दिशामा अग्रसर गराउन सामुदायिक प्रहरी सेवा केन्द्रको योगदान उल्लेखनीय रहेको बताए ।
उनले प्रहरी र समुदायलाई जोड्ने सेतुका रूपमा केन्द्रले विश्वास जित्न सफल भएको उल्लेख गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेलले सचेतनामूलक अभियान, ट्राफिक सुरक्षा र लागूऔषध नियन्त्रणका कार्यक्रममार्फत् समाजलाई सुरक्षित बनाउन सामुदायिक प्रहरी सेवा केन्द्रले अझ सशक्त भूमिका खेल्नुपर्ने बताए ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संस्थापक अध्यक्ष बिमला योगीले सामुदायिक सेवा केन्द्रलाई समुदायको न्याय र आशाको केन्द्रको रूपमा व्याख्या गरिन् । उनले गरिब, विपन्न र सीमान्तकृत समुदायको सेवामा निरन्तर लागिरहनुपर्ने धारणा व्यक्त गरिन् । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष डा. सुदीप गौतमले जिल्लामा शान्ति स्थापना र द्वन्द्व व्यवस्थापनमा सामुदायिक प्रहरी सेवा केन्द्रको योगदान सराहनीय रहेको बताए ।
लागूऔषध दुव्र्यसनको बढ्दो समस्याप्रति चिन्ता व्यक्त गर्दै उनले युवालाई जोगाउन सामूहिक प्रयास आवश्यक रहेको बताए । कार्यक्रममा पूर्व प्रहरी संगठन दाङका अध्यक्ष रोबरबहादुर बस्नेत, सामुदायिक प्रहरी सेवा केन्द्रका पूर्वअध्यक्ष नरेशजङ्ग राणा, माया पोख्रेल, नारायण अधिकारीलगायतले सकारात्मक धारणा व्यक्त गरेका थिए । उपाध्यक्ष कैलाश रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केबी घर्तीले गरेका थिए ।
केन्द्रको अध्यक्ष रोका चयन
यसैविच सामुदायिक सेवा केन्द्रको अध्यक्षमा कैलाश रोका चयन भएका छन् । केन्द्र घोराहीको १८ औँ साधारणसभा एवम् १० औँ अधिवेशनबाट रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको निवर्तनमा अध्यक्ष आरके शीतल, उपाध्यक्ष माया पोख्रेल, सचिवमा केबी घर्ती, कोषाध्यक्षमा सरस्वती सुवेदी, सहचिवमा मनिराज आचार्य (मौसम) रहेका छन् । सदस्यमा जीवन वली, अमर डाँगी, देवीराम न्यौपाने, खुमा खड्का, धना जिसी, सनत गिरी, माधव खनाल, निरन्जन गहतराज रहेका छन् । सल्लाहकारमा पूर्व अध्यक्षहरू रहेका छन् ।