३५ करोडको लगानीमा नयाँ खानेपानी आयोजना

टेकबहादुर पुन
लमही, ११ पुस । लमही नगरबासीलाई दीर्घकालीन रूपमा सुरक्षित र नियमित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यले लमहीमा खानेपानीको ओभरहेड ट्याङ्की निर्माण कार्य सुरु गरिएको छ । ट्याङ्कीको विहिबार शिलान्यास गरिएको छ ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सनमकुमार पौडेल र लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले संयुक्त रूपमा ओभरहेड ट्याङ्की निर्माण कार्यको शिलान्यास गरेका हुन् । लामो समयदेखि लमही क्षेत्रमा खानेपानीको दिगो समाधान आवश्यक रहेको भन्दै आयोजना सुरु गरिएको हो ।

ओभरहेड ट्याङ्की निर्माण आयोजनाको कुल लागत ३५ करोड ३५ लाख १५ हजार नौ सय ६३ रूपैयाँ ८० पैसा रहेको छ । परियोजना सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, नेपालगञ्जको ७० प्रतिशत र खानेपानी उपभोक्ता समितिको ३० प्रतिशत सह–लगानीमा निर्माण गर्न थालिएको हो ।

आयोजनालाई २०८४ साल असार मसान्तसम्म सम्पन्न गर्नेगरी सुरु भएको लमही खानेपानीले जनाएको छ । निर्माण सम्पन्न भएपछि लमही नगरपालिकाका विभिन्न क्षेत्रका हजारौँ उपभोक्ताले सहज, सुरक्षित र नियमित खानेपानी सेवा पाउने अपेक्षा गरिएको छ । स्थानीयबासीले यस आयोजनालाई लमहीको समग्र विकासतर्फको महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् ।

शिलान्यास कार्यक्रम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सनमकुमार पौडेलको अध्यक्षतामा तथा लमही नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्य एवम् ढल व्यवस्थापन विभाग नेपालगञ्जका प्रमुख देवेन्द्रकुमार झाको विशिष्ट आतिथ्यमा शिलन्यास गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख जोगराज चौधरीले लमही नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनले संघ, प्रदेश र स्थानीय सरकारबिचको सहकार्यबाट मात्रै यस्ता ठुला आयोजना सफल हुने भन्दै तोकिएको समयमै आयोजना सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । विशिष्ट अतिथि देवेन्द्रकुमार झाले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमार्फत् लमही क्षेत्रका लागि महत्वपूर्ण आयोजना अघि बढेको उल्लेख गरे । कार्यक्रममा खानेपानी अध्यक्ष सनमकुमार पौडेलले खानेपानी मानव जीवनको आधारभूत आवश्यकता भएको उल्लेख गरे ।

कार्यक्रममा खानेपानी संस्थाका पूर्व अध्यक्ष विमबहादुर केसी, जंगबहादुर चौधरी, लमही नगरपालिका–५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका शिवलाल भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका दिलकुमार श्रेष्ठ, नेकपा एमालेका नगर अध्यक्ष रतनकुमार केसी तथा रातोडाँडा टोल विकास संस्थाका प्रतिनिधि ताराप्रसाद खनालले मन्तव्य राख्दै आयोजनाको सफलताको कामना गरेका थिए । खानेपानी संस्थाका उपाध्यक्ष शिवा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण खानेपानी संस्थाका सचिव बसन्त आचार्यले गरेका थिए ।