गोरक्ष समाचारदाता
दाङ, १० पुस । आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय सेवा बनाउँदै विशेषज्ञसहितको सेवा प्रदानमा ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । स्थानीय तहबाट सञ्चालन हुने आधारभूत अस्तालको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन सके नागरिकले पालिकास्तरमै सहज स्वास्थ्य सेवा पाउने र त्यसले नागरिकमा स्थानीय सरकारप्रति विश्वास बढाउने सहभागीले बताएका थिए ।
जिल्ला समन्वय समिति दाङ र स्वास्थ्य कार्यालय दाङको आयोजना तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र र फेरमेड फाउन्डेशनको सहयोगमा बुधवार घोराहीमा भएको स्थानीय तहका सरोकारवालासँग स्वास्थ्य सेवा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँदै नागरिकलाई विशेषज्ञ सेवा उपलब्ध गराउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा मातृ तथा नवशिशु मृत्युदर घटाउन घरमै हुने प्रसूति शून्य बनाउने, प्रेषण प्रणाली तथा स्वास्थ्य केन्द्रहरू सुदृढ गर्ने, गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म महिलाको नियमित ट्रयाकिङ गर्ने तथा बर्थिङ सेन्टरहरूको गुणस्तर सुधार गरी रणनीतिक स्थानमा स्थानान्तरण गरेर सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमपछि १२ बुँद्धे प्रतिबद्धता जारी गर्दै कार्यक्रमका सहभागीले २० वर्ष मुनिका किशोरीहरूको गर्भधारण दर घटाउन ध्यान दिनेसमेत प्रतिबद्धता जनाएका थिए ।
यसैगरी कुपोषणको उच्च दर घटाउन अनुगमन तथा प्रवर्धन कार्यक्रमलाई प्रभावकारी बनाउने, बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयन गर्दै हरेक स्थानीय तहलाई पोषणमैत्री बनाउने, किशोरीमा देखिएका रक्तअल्पताको उच्च दर कम गर्न स्थानीय रूपमा उत्पादन हुने पोषणयुक्त खानाको प्रवर्धन, अस्वस्थकर खानपान निरुत्साहित गर्ने तथा विद्यालय र समुदायमा रक्तअल्पताका कारण, रोकथाम, पहिचान र उपचारसम्बन्धी स्वास्थ्य शिक्षा प्रवर्धन गर्न आवश्यक रहेको बताएका थिए ।
सहभागीले कार्यक्रममा बढ्दो अवस्थामा रहेको रोगको भार घटाउन खानपान र जीवनशैलीमा सुधार, नियमित शारीरिक गतिविधि, योग तथा ध्यानका कार्यक्रम प्रवर्धन गर्ने, जिल्लामा देखिँदै आएको सिकलसेल एनिमिया र थालासेमिया रोगको रोकथाम, पहिचान तथा न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने, उपेक्षित उष्ण प्रदेशीय तथा कीटजन्य रोगको बढ्दो भार नियन्त्रणका लागि समुदायको सक्रिय सहभागितामा नियमित रोकथाम, सक्रिय खोजपड्ताल, पहिचान र प्रभावकारी उपचार व्यवस्था गर्नुपर्ने, लामखुट्टे वृद्धि हुने स्थानको पहिचान गरी नष्ट गर्ने, खोपबाट बचाउन सकिने रोगहरूको नियन्त्रण, निवारण र उन्मूलनका लागि खोप सेवाको गुणस्तर सुदृढीकरण, छुटेका बालबालिकाको खोजी गरी खोप सेवा उपलब्ध गराउने तथा रोग निगरानी प्रणाली प्रभावकारी बनाउनुपर्नेमा प्रतिबद्धता व्यक्त गरिएको छ ।
स्वास्थ्य बिमा कार्यक्रममा प्रत्येक स्थानीय तहका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई अनिवार्य आबद्ध गराउने र स्थानीयलाई सहभागी गराउन स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने, आधारभूत स्वास्थ्य सेवाको गुणस्तर र निरन्तरता सुनिश्चितता गर्न समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्दै पिछडिएका, सीमान्तकृत वर्ग, समुदाय तथा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्ने, व्यवहार परिवर्तनका लागि सामाजिक सञ्जालको अधिकतम प्रयोगमार्फत् स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार प्रवर्धन गर्नुपर्ने, आधारभूत तथा नगर अस्पतालमा दरबन्दी स्वीकृत गरी स्थायी पदपूर्ति गर्ने र स्वीकृत दरबन्दी अनुसार जनशक्ति व्यवस्थापनमा ध्यान दिने सहमति भएको छ ।
जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयकी नर्सिङ प्रशासक इश्वरी केसीले स्वास्थ्य सेवा व्यवस्थापनसम्बन्धी र स्वास्थ्य स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङले जिल्लामा स्वास्थ्यको अवस्था र सुधारबारे कार्यक्रममा प्रस्तुति राखेका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीलगायतले सुझावसहितको मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संस्थापक अध्यक्ष बिमला योगीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय दाङका शरद घिमिरेले गरेका थिए ।