सरस्वती मावि काठेकोलमा खेल सप्ताह सुुरु

हेमराज शर्मा
दाङ, ६ पुस । दाङको घोराही उपमहानगरपालिका–१५ काठेकोहलमा रहेको सरस्वती माध्यमिक विद्यालयको बार्षिकोत्सवको पूर्वसन्ध्यामा आइतवारदेखि खेलकुद सप्ताह सुरु भएको छ ।

विद्यालयको ४५ औं बार्षिकोत्सवका अवसरमा आइतवारदेखि खेलकुद सप्ताह सुरु गरिएको विद्यालयका प्रधानाध्यापक खिमप्रकाश पुरीले जानकारी दिएका छन् । खेलकुद सप्ताहका अवसरमा कबड्डी, भलिबल, हाजिरीजवाफ, लोकगीत, रिले दौड प्रतियोगिता, छात्रछात्राको हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, गुब्बारा फोड, भ्याग्गुते दौड, चकलेट दौड, वादविवाद प्रतियोगितालगायतका खेलकुदका कार्यक्रम तय गरी खेलाउन सुरु गरिएको प्रधानाध्यापक पुरीले जानकारी दिएका छन् ।

विद्यार्थीहरु खुल्ला तथा सदनात्मक रुपमा प्रतियोगितामा भाग लिइरहेका छन् । विद्यालयले पुस १३ गते आइतवार एक समारोहकाबीच आफ्नो ४५ औं बार्षिकोत्सव समारोह मनाउँदैछ । यसैबीच आइतवार विश्व ध्यान दिवसका अवसरमा विद्यार्थीहरुलाई ध्यानको महत्वबारे जानकारी गराउँदै उनीहरुलाई अभ्यास समेत गराइएको विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीले जानकारी दिएका छन् ।