दाङ, ६ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपासहित उनका स्वकीय सचिव चोलेन्द्र रिजाल र कर्मचारी संघका पूर्व अध्यक्ष खिमबहादुर केसीमाथि अज्ञात समूहद्वारा गरिएको आक्रमण तथा दुव्र्यवहारप्रति विभिन्न विद्यार्थी संघसंगठनले गम्भीर आपत्ति जनाएका छन् ।
नेपाल विद्याथी संघ दाङका कुलराज पोख्रेल, अनेरासवियु दाङका सचिव सचिन पोखेल, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गोविन्द कुमार मल्ल र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन दाङका अध्यक्ष मुस्कान पोखेलले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमार्फत आइतवार विहान करिब साढे ८ बजेको समयमा उपकुलपतिको आवास क्षेत्र बेलझुण्डीमा प्रवेश गरी अज्ञात समूहले कुलपति नेपालसहित रिजाल र केसीमाथि आक्रमण तथा दुव्र्यवहार गरेको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
विश्वविद्यालय जस्तो पवित्र शैक्षिक स्थलमा जिम्मेवार र सम्मानित व्यक्तिहरूमाथि गरिएको यस प्रकारको आक्रमण तथा दुव्र्यवहारको घोर भत्र्सना गर्दै वक्तव्यमा यो घटना व्यक्तिगत अपमान मात्र नभई समग्र शैक्षिक प्रणाली, प्राज्ञिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गरिएको गम्भीर आक्रमण भएको उल्लेख गरिएको छ ।
यो घटनाले विश्वविद्यालयको शैक्षिक वातावरणलाई आतंकित बनाउने र शिक्षाको गुणस्तर नै धरापमा पार्ने गम्भीर खतरा उत्पन्न भएको जनाउँदै दोषी पहिचान गरी तत्काल कानुन बमोजिम कारबाही गर्न सम्बन्धित सबै सरोकारवाला निकायसँग माग गरिएको छ ।