दाङ,३० बैशाख । भारतले नेपाल सरकारसंँग कुनै पनि सल्लाह नगरी नेपाली भुमी हुँदै चिनको मानसरोवरसम्म जाने बाटो निर्माण गरि उद्घाटन गरेको बिरोधमा मंगलबार दाङको घोराहीमा साना तीन दलले बिरोध प्रदर्शन गरेका छन ।
राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी र नेकपा मालेले सयुक्त रुपमा घोराही चोकमा विरोध प्रदर्शन गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले सरकारको अगुवाइमा कुटनैतिक पहल र बार्तामार्फत आफ्नो भुमीको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन ।
नेपालको सिमा काली नदि भएको र त्यसयता नेपालसंग सरोकारै नगरी भारतले एकलौटी रुपमा बाटो निर्माण गरेर उसले नेपालको राष्ट्रियता र स्वाधिनतामाथि धाबा बोलेको हुदा सम्पुर्ण नेपाली एक भएर त्यसको प्रतिरोध गर्नुपर्ने आचार्यले बताएका थिए ।
प्रहरीको अबरोधका बिचमा भएको कार्यक्रममा कोरोना रोगको संक्रमण हुन सक्ने जटिल अबस्थामा सडकमा आएर बोल्न रहर नभएको भन्दै उनीले देशको मायाले बाध्य भएर सडकमा आउनु परेको बताएका थिए ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामजी थारु र नेकपा माले दाङका सचिव नेत्रप्रकाश पाण्डेलगायतले भारतीय विस्तारबादको विरोध गर्दै अतिक्रमण भएको भुमि फिर्ताका लागि पहल गर्न सरकारसँग आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलले गरेका थिए ।