उपेक्षित उष्ण प्रदेशीय रोगका बारेमा सचेतना आवश्यक

अमरराज आचार्य
दाङ, ३ पुस । उपेक्षित उष्ण प्रदेशीय रोगबारे समुदायस्तरमा व्यापक जनचेतना फैलाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । स्वास्थ्य कार्यालय दाङको आयोजना तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र र फेरमेड फाउन्डेशनको समन्वयमा बुधवार पत्रकारहरूका लागि आयोजना गरिएको सचेतना कार्यक्रममा सहभागीले यस्तो रोग नियन्त्रण र रोकथाममा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भरतबहादुर कँवरले उपेक्षित उष्ण प्रदेशीय रोगबारे समुदायमा पर्याप्त जानकारी नहुँदा बिरामीले रोग लुकाएर बस्ने र त्यसले जोखिम अझ बढ्ने गरेको बताए । तत्काल असर नदेखिए पनि दीर्घकालीन रूपमा गम्भीर असर पार्ने यस्ता रोगबारे नागरिक स्तरमा सचेतना बढाउनुपर्ने उनको भनाइ थियो । समुदाय स्तरमा देखिने कुष्ठरोग, हात्तीपाइले, जुका, डेङ्गु, रेबिज, चिकनगुनिया, सर्पदंश, लुतो, कालाजार, फित्ते जुका, खस्रे रोगलगायतका रोगप्रति सचेतना आवश्यक रहेको उनले बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गत चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखाका प्रमुख डा. अच्युत शर्मा न्यौपानेले उपेक्षित उष्ण प्रदेशीय रोगबाट पीडितको नियमित निगरानी गर्नुपर्ने र कुष्ठरोग तथा हात्तीपाइलेबाट प्रभावित बिरामीलाई चिकित्सकको सल्लाह अनुसार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा थप उपचारका लागि पठाउने व्यवस्था रहेको जानकारी दिए । नियमित उपचारले रोग निको हुने भएकाले स्वास्थ्य सचेतनामा ध्यान दिनुपर्ने उनले बताए । सामाजिक अपहेलनाको डरका कारण अझै पनि तराई क्षेत्रका केही समुदायमा रोग लुकाएर बस्ने अवस्था रहेको उनको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रको ‘प्रेरणा परियोजना’ का कार्यक्रम संयोजक विवेक केसीले परियोजनामार्फत् दाङका ६ पालिकामा बिरामीको लगत सङ्कलन, उनीहरूको अवस्थाको मूल्याङ्कन, उपेक्षित उष्ण प्रदेशीय रोगका लागि बजेट विनियोजनमा सहजीकरण तथा समुदाय र विद्यालयस्तरमा स्वास्थ्य सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको बताए । जिल्ला कार्यक्रम संयोजक केसीका अनुसार गढवा, राजपुर, बंगलाचुली, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा स्वास्थ्य प्रणालीगत सुधारसँगै स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

कार्यक्रममा उपेक्षित उष्ण प्रदेशीय रोगको वर्तमान अवस्था, उपेक्षामा पर्नुको कारण, जोखिम तथा समुदायको दृष्टिकोणबारे जानकारी गराइएको थियो । जोखिम उच्च भए पनि यस्ता रोगहरूमा सरकारको प्राथमिकता अपेक्षाकृत कम रहेको र समुदायको दृष्टिकोण अझै पनि नकारात्मक रहेको बताइएको थियो । डेङ्गुु, चिकनगुनिया, रेबिज, ट्रकोमा, कुष्ठरोग, कालाजार, हात्तीपाइले, माटोबाट सर्ने जुका, सर्पदंश, लुतो तथा अन्य परजीवीजन्य रोगलाई उपेक्षित उष्ण प्रदेशीय रोगका रूपमा लिइएको छ । स्वास्थ्य कार्यालय दाङका कमल चन्दले यस्ता रोगका अवस्था, चुनौती र गर्नुपर्ने कार्यबारे जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख गुरुङले समुदायलाई स्वास्थ्यप्रति सचेत गराउन स्वास्थ्य क्षेत्र मात्र पर्याप्त नहुने भन्दै सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिने वातावरण सिर्जना गर्न सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संस्थापक अध्यक्ष बिमला योगीले सचेतनामूलक कार्यक्रम नागरिकसम्म प्रभावकारी रूपमा पु¥याउनुपर्ने बताइन् । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले सामाजिक सचेतनाका अभियानमा सञ्चार क्षेत्रको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए । कार्यक्रमको उद्देश्यबारे मेडफर लुम्बिनी प्रदेश कार्यक्रम संयोजक तुलसीराम खनालले जानकारी गराएका थिए । स्वास्थ्य कार्यालय दाङका टिबी तथा कुष्ठरोग फोकल पर्सन गजेन्द्र यादवको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सहजीकरण किट रोगका फोकल पर्सन कमल चन्दले गरेका थिए ।