नारायणप्रसाद श्रेष्ठ
राष्ट्रलाई समृद्ध बनाउने नबनाउने यो विषय शिक्षा र स्वास्थसँग जोडिएको हुन्छ । भनिन्छ व्यक्ति, समाज, राष्ट्रलाई बिगार्नु छ भने कसैलाई केही नगर शिक्षा र स्वास्थलाई विगार त्यो व्यक्ति, समाज, राष्ट्र र त्यहाँको वातावरण स्वत बिग्रदै धमिलिँदै जान्छ । यति मात्र होइन चाहेको विषय पढ्ने वातावरण भएन र शैक्षिक बेरोजगारी बढ्यो भने पनि सक्षम जनशक्ति आफै विदेश पलायन हुन्छन् ।
सक्षम जनशक्ति अवसरको खोजीमा विदेश पलायन हुनु, देशमा सक्षम व्यक्तिको आभाव हुनु यो समाज राष्ट्रको लागि दुर्भाग्य हो । भविष्य बनाउन सामाजिक रुपमा, आर्थिक रुपमा, राजनैतिक रुपमा जबसम्म शैक्षिक क्षेत्रमा राष्ट्र दरिलो र आत्मनिर्भर हुँदैन । तबसम्म सम्वृद्धिको नारा, केवल कागजी नारा मात्र हुन्छ । किनकी शिक्षा राष्ट्रिय विकासको मुल आधार हो ।
अनुशासन र नैतिक शिक्षा बिनाको समाज सबैको लागि दुर्भाग्य मानिन्छ । तसर्थ यसतर्फ सबैको ध्यान पुग्न जरुरी छ । समाज, राष्ट्रको भविष्य नयाँ पुस्ताले सिक्ने सिप र ज्ञानको भरमा निर्धारण भएको हुन्छ । असल शिक्षाले असल संस्कृति र बुद्धिमान व्यक्तिको निर्माण गर्दछ । सुसंस्कृति र सभ्य नागरिकको उद्गम स्थल भनेकै शिक्षा जगत हो । शिक्षाको उज्यालो घामबाट मानिसले आफ्नो प्रतिभा र व्यक्तित्वलार्ई नयाँ परिस्थितिमा लैजान सक्षम हुन्छ । मुस्कुराएको बालकको भविष्य शिक्षाबाट नै निर्दिष्ट हुन्छ ।
भनिन्छ, विद्यार्थी भविष्यका कर्नाधार हुन् । शैक्षिक वातावरणले ल्याउने अनुशासित र मर्यादित जीवनशैलीवाट नै सभ्यसमाज र राष्ट्रको निर्माण भएको हुन्छ । शैक्षिक वातावरणले जुन परिवेशको उद्घाटन गर्दै जान्छ जुन परिवेशमा विद्यार्थीलार्ई अनुशासन र मर्यादित जीवनशैली र व्यवहार गराउन उत्प्रेरित गरिरहेको हुन्छ, सोही अनुरुप व्यक्तिको आचरण र विचारमा पनि परिमार्जित हुँदै जाने हुँदा यसतर्फ सबै सचेत हुन जरुरी छ ।
शिक्षा व्यापार होइन भविष्य निर्धारण गर्ने बलियो आधार हो । बालकको नक्कल गर्ने बानीले उसले सिकेको ग्रहण गरेको जुन कुराहरु हुन्छ उसलाई नै उसले आफ्नो आधार बनाएर अगाडि बढेको अवस्था हुने हुँदा विद्यार्थीलार्ई नैतिकवान बनाउन सुरुदेखि नै वातावरणलार्ई स्वच्छ बनाउनु पर्दछ । विद्यालय पवित्र मन्दिर हो भनी यसलाई समुचित र मर्यादित बनाउन सक्नु पर्दछ ।
स्वच्छ र असल संस्कृतिको सुरुवातबाट नै बच्चाको भविष्य निर्धारण हुने हुँदा उसको उज्यालो भविष्यको लागि उसको रोजाई अनुसारको शिक्षाको प्रबन्ध गर्नुपर्दछ । यसबाट नै विद्यार्थीको विचार र कर्म परिमार्जित हुँदै जान्छ । विद्यालयमा हुने व्यवहार र सिकाइबाट नै उसले आफूलार्ई सक्षम र गतिशील मार्गमा लैजान सामथ्र्य बन्दछ । स्वच्छ र असल संस्कृतिको सुरुवात घर परिवारबाट नै हुने कुराको जानकारी हुँदा हुँदै पनि यदि बच्चालार्ई उसले शिक्षा हासिल गर्ने क्रममा उसको रोजाई विपरित शैक्षिक वातावरण बन्न पुग्यो भने विद्यार्थीको मन र बुद्धि, र विचार अन्तैतिर मोडिन सक्छ ।
तसर्थ बच्चाको भविष्य निर्धारण गर्दा बच्चाको चाहान र इच्छा अनुकुल शिक्षा प्रदान गर्नुपर्दछ । घोकन्ते र सुगा रटाइ पढाइभन्दा व्यवसायिक सिपमूलक र मानसिक अभिवृद्धि हुने खालको पढाइ र सिकाइ हुन जरुरी छ । विद्यालयमा हुने सिकाई प्रविधि र अनुशासित एवम् व्यवहारगत शिक्षा तथा सफा वातावरणले नै बच्चाको दिमागमा भावनात्मक सम्बन्ध बढ्ने हुँदा विद्यालयमा दिइने शिक्षा नैतिकता र अनुशासित जीवनशैलीमा आधारित हुनुपर्दछ ।
बच्चा गिलो माटो सरह हुने हुँदा उसले पहिले जे देख्छ, सुन्छ, गर्दछ उसले विद्यालयमा जस्तो वातावरण पाउँछ सोही अनुकुल उसको आचरण र व्यवहार हुने हुँदा यसमा सबै गम्भीर बन्नु पर्दछ । अहिलेको वर्तमान अवस्थालाई हेर्ने हो भने शिक्षा क्षेत्रको विकासमा केही फट्को मारेको देखिन्छ । शिक्षाको उज्यालो घाम सबैले महसुस गर्ने वातावरण बनेको छ । ‘क क न क’ देखि उच्छ शिक्षा पाउने वातारण सहज बन्दै गएको छ तर विद्यालमा देखिने गतिविधि, राजनैतिक घुसपैठ, विद्यालय व्यवस्थापनमा देखिएको राजनीति, पाठ्य सामग्री, शारीरिक र मानसिक चेतनाको अभाव, सरकारको गुरु र विधार्थीलार्ई हेर्ने दृष्टिकोण, फरक–फरक किसिमले अघि बढेको हाम्रो सोचाइ यी सबै अनुशासित विद्यार्थी उत्पादनमा अवरोध देखा परेको छ नैतिक शिक्षाको अभाव बढ्दै गएको छ । अब सुधार गर्नु पर्ने बेला भइसकेको छ ।
गुरु र विद्यार्थीबिच हुनु पर्ने अनुशासित र व्यवहारिक सम्बन्ध, अनुशासित सम्बन्ध निकै कमजोर रहेको अहिले देखिँदै छ । संस्कार र नैतिकताको विषय हराउँदै गएको छ । पढ्ने वातावरणभन्दा राजनीति गर्ने थलो बन्दै छ विद्यालय । पटक–पटकको आन्दोलनले सिथिल भएको शिक्षा नीति तङरिन नपाउँदै बढ्दै गएको अराजकताले अहिले शैक्षिक वातावरण धरमरायको छ । तसर्थ समयमै यसको निराकरण गर्नेतर्फ सबै गम्भीर बन्नै पर्दछ ।
हाम्रो समाज राष्ट्रको भविष्य विद्यार्थीको सिकाइ र क्षमताको आधारमा अगाडि बढ्ने हुँदा शिक्षामा गुणस्तरीय र व्यवसायिक शिक्षा हुनु जरुरी हुन्छ । गुणस्तरीय शिक्षा र सोही अनुकूलको सफा शैक्षिक वातावरणले नै राष्ट्रको भविष्य निर्धारण हुने हुँदा हामी र हाम्रो विद्यालयको शैक्षिक गुणस्तरमा हामी बढी चनाखो हुन जरुरी छ । हामीले हाम्रो साधन स्रोत र परिवेशलार्ई कस्तो किसिमको शैक्षिक वातावरणमा लैजाँदै छौँ । त्यसको मूल्याङ्कन गरी हामी स्वयम्ले विद्यालयको वातावरण स्वच्छ र पवित्र बनाउनु परेको छ ।
विद्यालयमा सिकाइने नैतिक र व्यावसायिक शिक्षाले नै विद्यार्थीले आफूलार्ई सक्षम बनाउने र आत्मबल वृद्धि गर्ने हुँदा यसतर्फ विद्यालय र अभिभावक स्वयम् जिम्मेवार भई अघि बढ्नु पर्ने देखिन्छ । विद्यालयमा म र मेरो विद्यार्थीले के कस्तो किसिमले आफूलाई प्रदर्शन गरिरहेको छ, विद्यार्थी–विद्यार्थी बिच कस्तो सम्बन्ध छ, यसले पनि शैक्षिक वातावरणमा असर पर्ने हुँदा विद्यालय परिवार अभिभावक सबै बढी सचेत हुनु जरुरी छ । विद्यार्थी बिचको सम्बन्ध, ज्ञान सिप र व्यवहारको कुरामा पनि गुरु र गुरुआमाबाट सिकाइने र गरिने व्यवहारले बच्चालाई असर पर्ने हुँदा यसतर्फ पनि गम्भीर बन्न जरुरी छ ।
अबको शिक्षा नीति भनेको राष्ट्रिय स्वाभिमानसँग जोडिएको हुनु पर्दछ । बोली, भाषा, संस्कृति, संस्कार र सभ्यतासँग जोडिएको हुनुपर्दछ । गुरु र गुरुआमा बिचको सम्बन्ध मर्यादित र नैतिक अनुशासनमा बाँधिएको हुनुपर्दछ । राज्यको नीतिमा निःशुल्क र अनिवार्य शिक्षा हुनुपर्दछ । गुरु र गुरुआमालाई दिइने पारिश्रमिक उसको जीवन धान्ने हुनुपर्दछ । स्कुललाई राजनीतिबाट टाढा राख्नु पर्दछ । तब मात्र राष्ट्र र राष्ट्रियता प्रती को जिम्मेवारी निभायको ठहर्छ । भनिन्छ ज्ञान, सिप, सस्कृती र सस्कारले भरिएको मुस्कुराउँदो बालक भविष्यको आधार हो ।
तर अहिले को वर्तमान लार्ई हेर्ने हो भने शिक्षक शिक्षक नभई नेता वनी रहेको पाइन्छ । दलगत राजनिती देखि शिक्षक अलग रहन सकेका छैनन । सरकारको शिक्षाप्रतिको धारणा कमजोर छ । नैतिक शिक्षा खोजीको विषय वनेको छ । सरकार प्रदेश र स्थानिय निकायको जिम्मेवारी भन्दै पन्छिन खोजेको पाइन्छ । स्थानीय निकाय सरकारको नीति पर्खिरहेको छ । शिक्षाको स्तर हिजोभन्दा आज खस्किँदै छ । गुणस्तर शिक्षाको लागि भविष्यका कर्णाधार विदेशी भूमि जान बाध्य भइरहेका छन् ।
शैक्षिक बेरोजगारी बढ्दै छ । यसले एकातिर राष्ट्रिय शिक्षा कमजोर भइरहेको छ भने अर्कोतर्फ राष्ट्रिय अर्थतन्त्र मा असर पु¥याइरहेको छ । शिक्षा विज्ञहरु सरकारको कारण शिक्षा कमजोर भइरहेको स्वीकार्छन् । शिक्षाको अवस्था यसरी दिन प्रतिदिन कमजोर भइरहँदा पनि सरकार मुकदर्शक छ । अहिले केही अघि शिक्षाको गुणस्तर बढाउन र पुरानो नीतिमा संशोधन हुनुपर्छ भनी काठमाडौं केन्द्रित भएको शिक्षक आन्दोलनमा पनि खासै उपलब्धि देखिएन ।
सरकारले उनीहरुको जायग मागप्रति केवल देखावटी भाव देखायो तर पनि शिक्षामा आमूल परिवर्तन हुन सकेन । यस्तो अवस्थामा रास्ट्रले खोजेको शैक्षिक गुणस्तर कसरी उच्च हुने हो बढी चिन्ताको विषय बनेको छ । तसर्थ यस्तो संवेदनशील विषयमा सबै गम्म्भीर बन्न जरुरी छ । शिक्षाबिना राष्ट्रको समृद्धि असम्भव हुन्छ । यो कुरामा सम्बद्ध पक्ष जिम्मेवार हुन जरुरी छ । चेतना भया ।