गोरक्ष समाचारदाता
तुलसीपुर, २९ मङ्सिर । तुलसीपुरमा जारी नेवारी सडक खाना महोत्सवमा नेवारी खाद्य परिकारमा स्थानीयको आकर्षण बढ्दो छ । प्राचीनकालदेखि कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै गएको हो ।
नेवार समुदायको छुट्टै मौलिक पहिचानका रूपमा विकास हुँदै आएका ती परिकारहरू दोस्रो तुलसीपुर नेवारी सडक खाना महोत्सव–२०८२ योःमरी उत्सव ११४६ मा राखिएको छ । ती परिकार खाने तथा स्वाद चाख्नेको दैनिक भिड लाग्ने गरेको छ ।
तुलसीपुरमा जारी सडक खाना महोत्सवमा करिब दुई हजार पाँच सय बढीले नेवारी परिकारको स्वाद चाखेको नेवा देय दवु तुलसीपुर नगरका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार सात दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब तीन हजार बढीको सहभागिताको अपेक्षा गरिएको छ ।
नेवार समुदायको सांस्कृतिक पहिचान जगेर्ना गर्ने उद्देश्यले आयोजित महोत्सवको मुख्य आकर्षण नेवारी परिकार, कला तथा सांस्कृतिक प्रस्तुति रहेको छ । ‘यःमरी पून्ही या सकसीत लसताय भिन्तुना !’ नारासहित आयोजना भएको यस महोत्सवमा विभिन्न नेवारी परिकार प्रदर्शनी तथा बिक्री भइरहेका छन् । ‘नेवारी खानाको प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यले हामीले बर्सेनि यो महोत्सव आयोजना गर्ने गरेका छौँ, महोत्सवको सोमवार सम्मापन गर्नेछौँ’, श्रेष्ठले भने ।
महोत्सवमा आलु फ्राइ, चुकौनी, बोडी, जुम्ली झर, सेल, यःमरी, तामा, सादा बारा, अण्डा बारा, कुखुरा तथा बफ छोयला, सम्य बजीलगायत परम्परागत नेवारी परिकार प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । यसैगरी नेवारी सडक खाना महोत्सवमा सबै प्रकार राम्रो भएको स्थानीय हेमराज खड्काले बताए । ‘यो महोत्सवले हाम्रा नयाँ परिकार र पुरानो संस्कृति तथा सभ्यता जर्गेनाछ’, उनले भने ।
गत वर्ष पनि महोत्सव आयोजना गरिएको थियो । गत वर्ष तीन दिनमा सीमित महोत्सव यस वर्ष भने एक सातासम्म सञ्चालन गरिएको छ । महोत्सव दिउँसो ३ देखि बेलुका ७ बजेसम्म सञ्चालन हुँदै आएको छ । महोत्सव मङ्सिर २३ देखि २९ गतेसम्म तुलसीपुर–५ (ग) लाइन, तुलसीपुर उपमहानगरपालिका नयाँ भवन अगाडि आयोजना गरिएको छ ।