गोरक्ष समाचारदाता
दाङ, २४ मङ्सिरे । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट दाङमा २० जनाको नाम सिफारिस भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनका लागि तीन क्षेत्रीय कार्यसमितिबाट २० जनाको नाम सिफारिस गरिएको हो ।
जस अन्तर्गत प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट पाँच जना, क्षेत्र नं. २ बाट १० जना र क्षेत्र नं. ३ बाट पाँच जनाको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काको सभापतित्वमा बुधवार घोराहीमा बसेको बैठकले प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेपाल महिला संघ दाङकी संस्थापक अध्यक्ष एवम् महासमिति सदस्य बिमला योगी, महाधिवेशन प्रतिनिधि किरणकिशोर घिमिरे, भोजराज पाण्डे, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डे, कांग्रेस नेताहरू अनिता देवकोटा, बमबहादुर डिसी, दुर्लभ केसी, विपुल पोख्रेल, विष्णु शर्मा र कुलराज खनालको नाम सिफारिस गरेको छ ।
बैठकले प्रतिनिधि सभा समानुपातिकतर्फ गोमा रावत, सावित्रा राना, हरि सुवेदी, बाबुराम विश्वकर्मा, गणेशकुमार चौधरी र विपिन बुढाथोकीलाई सिफारिस गर्ने निर्णय भएको नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का सचिव रमेश केसीले जानकारी दिएका छन् । सचिव केसीका अनुसार माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापतिहरू विरकेशरी गौतम, घनश्याम रेग्मी, मोहनलाल वली र कांग्रेस नेता नदनकुमार शर्माको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नं. ३ बाट पूर्वमन्त्री गिरीसहित पाँच जना
यसैगरी क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीसहित पाँच जनाको नाम प्रत्यक्ष निर्वाचनका लागि सिफारिस भएको छ । जसमा केन्द्रीय सदस्य गिरीसहित नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, महाधिवेशन प्रतिनिधि केशवराज आचार्य र पूर्व महाधिवेशन प्रतिनिधि राजेन्द्र धिताल सिफारिस भएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति जगत खड्को सभापत्विमा बसेको बैठकले समानुपातिकतर्फ बुद्धिराम भण्डारी, भरत केसी, महादेव शाह, कमानसिंह डाँगी, यमप्रसाद पाण्डेय, मदन रसिक, देविका नेपाली, मिथिला शाह, चित्रा गिरी, केउलापति चौधरी, घनश्याम सुनार शेर्पाइली, चेतबहादुर नेपाली र यादव चौधरी रहेका छन् । क्षेत्र नं. ३ बाट राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, महाधिवेशन प्रतिनिधिहरू शङ्कर गिरी, जोगेद्र विश्वकर्मा, देवा डाँगी, गणेशबहादुर खत्री र अर्जुन गिरी सिफारिस भएका छन् ।
यसैबिच नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीसहित पाँच जनाको नाम प्रतिनिधि सभा प्रत्यक्षतर्फका लागि सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिको बैठकले केन्द्रीय सदस्य चौधरीसहित महासमिति सदस्यद्वय जानकीलाल बस्नेत र कमलकिशोर घिमिरे, महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्मा तथा जेन–जी समूहबाट प्रतीक्षा चौधरीको नाम सिफारिस गरेको हो ।