एक सय ५६ मानव अधिकार उल्लङ्घनका घटना

गोरक्ष समाचारदाता
दाङ, २५ मङ्सिर । दाङमा एक वर्षको अवधिमा एक सय ५६ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि जेएन सागरले ‘नेपाल मानव अधिकार वर्षपुस्तिका–२०२६’ का लागि सङ्कलित तथ्याङ्क अनुसार जिल्लामा एक वर्षको अवधिमा घटेका एक सय ५६ घट्नामध्ये गैरराज्य पक्षबाट एक सय ४९ जना, राज्य पक्षबाट पाँच वटा र अज्ञात पक्षबाट दुई वटा घटना भएका छन् ।

घटनामा एक सय ५९ जना पीडित भएका छन् । जसमा ४६ जना बालिका र ७२ जना महिला रहेको इन्सेकका जिल्ला प्रतिनिधि सागरले जानकारी दिएका छन् । उनका अनुसार घटनामा एक सय ६७ जना पीडक रहेका छन् । इन्सेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा जिल्लामा सबैभन्दा बढी घरेलु ंिहंसाका घटना भएका छन् । घरेलु हिंसासम्बन्धी ४४ वटा, बलात्कारसम्बन्धी ४९ वटा, बलात्कार प्रयाससम्बन्धी चार वटा, यौन दुव्र्यवहारसमबन्धी ११ वटा, हत्या प्रयाससम्बन्धी आठ वटा, आत्महत्या दुरुत्साहनसम्बन्धी एउटा, भ्रुणहत्यासम्बन्धी एउटा, अपहरणसम्बन्धी एक वटा घटना भएका छन् ।

यसैगरी कुटपिटसम्बन्धी छ वटा, बालविवाहसम्बन्धी दुई वटा, अमानवीय व्यवहारसम्बन्धी दुई वटा, दुव्र्यवहारसम्बन्धी नौ वटा, तालाबन्दीसम्बन्धी एउटा, खाद्य अधिकारसम्बन्धी एउटा, कारागारमा मृत्यु एउटा, आगजनीसम्बन्धी छ वटा घटना भएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमका अवसरमा इन्सेकले वार्षिक रूपमा सङ्कलन गरिएको घट्नाको समीक्षासमेत गरिएको थियो ।

मानव अधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले राज्य कमजोर हुँदा मानव अधिकार उल्लङ्घनका घटना बढ्ने गरेको भन्दै नागरिकलाई सचेत हुन आग्रह गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिका उपप्रमुख डिसीले युवा पुस्तामा नैतिकताको खडेरीले अराजकता बढाउँदै हिंसा निम्त्याउने बताइन् । उनले आफ्नो अधिकार माग्दा अरूको अधिकार हनन् नहुनेतर्फ सचेत रहनुपर्नेमा जोड दिएकी थिइन् । उनले पछिल्ला चरणमा सामाजिक सञ्जालको दुरुपयोग र प्रविधिसँग सम्बन्धित जोखिमका कारण विभिन्न खाले घटनामा वृद्धि भएको बताएकी थिइन् ।

कार्यक्रममा वक्ताले आधुनिक समाजसँगै हिंसाका स्वरूप बदलिएको उल्लेख गर्दै डिजिटल हिंसा अहिलेको प्रमुख चुनौती बनेकोमा जोड दिए । यस्ता घटना न्यूनीकरणका लागि प्रविधिसम्बन्धी ज्ञान र सचेतना आवश्यक रहेको सहभागीको निष्कर्ष थियो । कार्यक्रम मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष कमल गौतमको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष अनिता पोख्रेलले गरेकी थिइन् ।