गोरक्ष समाचारदाता
रुकुम पश्चिम, २५ मङ्सिर । रुकुम पश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणले त्रिवेणी गाउँपालिका–३ को झुल्नेटामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बुधवार भएको शिविरमा तीन सय ४८ जना सर्वसाधारणले सेवा लिएका छन् ।
शिविरमा स्वास्थ्य परीक्षण, परामर्श सेवाका साथै निःशुल्क औषधी वितरण गरिएको नेपाली सेनाले जनाएको छ । चण्डीदल गणले श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वय तथा साझा मुराल अस्पताल प्रालि, त्रिवेणी गाउँपालिका र जिल्ला अस्पताल रुकुम पश्चिमको सहयोगमा शिविर आयोजना गरिएको हो ।
चण्डीदल गणका सहसेनानी अशोकराज मिश्रका अनुसार शिविरमा दुई सय ३१ जना महिला र एक सय १७ जना पुरुषले सेवा लिएका छन् । जसमध्ये ३३ जना बालालिका, ४६ जना ज्येष्ठ नागरिक र दुई सय ६९ जना अन्य उमेर समूहका रहेका छन् । शिविरमा नशा तथा हाडजोर्नी, बाल रोग, स्त्री रोगसम्बन्धी विशेषज्ञ उपचार, परामर्श सेवा, स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको थियो ।
गाउँमै शिविरमार्फत् निःशुल्क सेवा दिएकोमा स्थानीयबासीले खुसी व्यक्त गरेका थिए । त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले चण्डीदल गणले गाउँमै दक्ष चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरेकोमा खुसी व्यक्त गरे । उनले आर्थिक अभाव र समय व्यवस्थापन गर्न नसकेर रोग पालेर बसेका स्थानीयलाई घरआँगनमै पुगेर स्वास्थ्य सेवा दिँदा स्थानीयबासी खुसी भएको बताए । निःशुल्क स्वास्थ्य जाँच, परामर्श सेवा र औषधीको व्यवस्थाबाट सर्वसाधारणलाई राहत भएको अध्यक्ष केसीले बताए ।
श्री नं. १९ बाहिनी गुल्मका डा. मिलन भण्डारीको नेतृत्वमा रहेको मेडिकल टोलीले स्वास्थ्य शिविरमा सेवा दिएका थिए । शिविरमा डा. भण्डारी, डा. दीपक पुनलगायतको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो । चण्डीदल गणका गणपति विनिश श्रेष्ठको उपस्थितिमा सम्पन्न शिविरमा रुकुम पश्चिमसँगै सल्यान जिल्लाका सर्वसाधारणले स्वास्थ्य सेवा लिएका थिए ।