मेरो खुशी : आफूले पढेको स्कुलमा पढाउँदा …
अपाङ्ग हुनु कुनै व्यक्तिको दोष होइन, विभिन्न कारणले अपाङ्गता हुने गर्दछन । अहिले पनि समाजमा कतिपयले अपाङ्गता भएका व्यक्तिलाई बोझका रूपमा हेर्ने गरिन्छ । तर कतिपय अपाङ्गता भएका व्यक्ति पनि छन्, जसले दृढ इच्छाशक्ति र निरन्तरको मेहनतले सफलता प्राप्त गरेर समाजमा उदाहरणीय बनेका छन् ।
तीनै मध्येका एक हुन्, रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–७ जाङ निवासी २७ वर्षीय गणेश बुढा मगर । शारीरिक रूपमा अपाङ्ग भए पनि बुढा अध्ययनमा अब्बल छन् । उमेर अनुसार शारीरिक वृद्धि विकास नभई २७ वर्षको उमेरमा २० केजी तौल र ३३ इन्च मात्र उचाइ भएका बुढा अहिले दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा नेपाली विषयमा स्नातकोत्तर तहमा अध्ययनरत छन् ।
पढाइमा सानैदेखि मध्यम खालका बुढा फेल नभएको उनी बताउँछन् । शिक्षक सेवा आयोगको परीक्षा दिएर स्थायी शिक्षकमा नाम निकाल्ने चाहनाका साथ हाल घोराही–१८ फुर्सेखालीमा बसेर तयारी गरिरहेका बुढाले आफूले पढेको गाउँमा रहेको जनज्योति माध्यमिक विद्यालयमा पाँच वर्ष करार शिक्षकका रूपमा पढाउने काम गरेका थिए ।
आफूले पढ्न सुरु गरेको गाउँकै विद्यालयमा शिक्षक रूपमा पढाउने काम गर्दाको क्षण आफ्नो जीवनको सबैभन्दा ठुलो खुसीको क्षण भएको बताउँँछन् ।
पढेर सुब्बा हुने सानैदेखिएको चाहनाका कारण घरपरिवारदेखि आफन्तले पढ्न सक्दैन भन्दा भन्दै पनि पढेको भन्दै बुढा भन्छन्,‘पढेर सरकारी जागिर खाने सानदेखिएको रहर हो । त्यही रहरका कारण पढ्दै थिए तर त्यही बेला गाउँको आपूmले पढेको स्कुलमा शिक्षक आवश्यकताको सूचना निकाल्यो । अनि मैले पनि निवेदन दिए र शिक्षकका रूपमा छनोट भएर पढाउँन पाउँदाको क्षण नै खुसीको क्षण भएको हो ।’
करिब पाँच वर्ष गाउँकै जनज्योति माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने काम गरेका थिए । विद्यालयमा पढाउने काम गरेका बुढाले विद्यार्थीसँग सम्बन्धका कारण सुब्बाको जागिर खाने रहर छोडेर अहिले शिक्षक सेवा आयोगको तयारीमा लागेको बताउँछन् । शारीरिक रूपमा अपांग भए पनि स्थायी शिक्षक भएर विद्यार्थीलाई ज्ञान बाँड्ने ठूलो चाहना भएको बताउँछन् ।
मनमा दृढ इच्छाशक्ति र चाहना भए शारीरिक रूपमा अपाङ्ग भए पनि फरक नपर्ने भन्दै बुढा भन्छ्न्,‘अरूका त के कुरा गर्नु मैले मास्टरसम्म अध्ययन गर्न सकुला भन्ने आमाबुबालाई विश्वास थिएन । आमाले पढ्ने काम छोड, घरमै पसल गर्दिन्छौँ, त्यही बस्लास भन्नुहुन्थ्यो तर मेरो पढने रहरले गर्दा मानिन, अहिले मास्टर पढ्ने भएको देख्दा सबै अचम्म पर्छन् । यो पनि मेरो खुसीको कुरा हो ।’
अध्ययनसँगै गीतसंगीतमा सूची राख्ने बुढा अपाङ्ग हुँदैमा सबै सकियो भनेर आत्तिन नहुने बताउँछन् । बुुबा सुकबहादुर बुढामगर र आमा मनसरा बुढा मगरको कोखबाट २०५५ सालमा जन्मिएका बुढाले कक्षा ५ सम्म गाउँकै जनज्योति विद्यालयमा पढेका थिए । ५ कक्षादेखि १२ सम्म कालिका मानव ज्ञान माध्यामिक विद्यालय बुटवलमा अध्ययन गरेका बुढाले विएड बुटवलस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट पास गरेका थिए ।
विएड पास गरेपछि दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसबाट नेपालीमा मास्टर डिग्री तेस्रो सेमेष्टर अध्ययन गरिरहेका बुढा मनमा दृष्ढ इच्छा आफ्नो क्षमताअनुसार काम गर्न सकिने बताउँछन् । जीवनमा चुनौती अनेक भए पनि आपूmमा भएको इच्छा शक्तिले नै सफलता प्राप्त गरेको बताउँछन् ।
आमाबुबाले समेत, ‘पढेर के गर्छस्, घरमै बस, पसल गरिदिन्छाँै भन्दा पनि आपूmले संघर्ष नै राजेर पढ्दै आएको हुँ’,उनी भन्छन्,‘मेरो मनमा भएको दृष्ट इच्छाका कारण अन्य रोज्न सकिन । जति दुःख भए पनि निरन्तर पढ्दै आए । अहिले पनि पढ्ने, नयाँ कुरा सिक्ने भन्दा खुसी लाग्ने गर्दछ ।’ त्यही चाहनाका कारण अहिले मास्टर पढ्न सक्ने भएको बताउँछन् ।
‘मैले केही गर्न सक्दैन भनेर बसेको भए अहिले म रुकुमकै गाउँमा हुन्थे होला’,उनी भन्छन्,‘तर मैले आपूmले सक्ने काम गर्छु भनेर आटे । विद्यालयमा अध्ययन गर्न जाँदा यस्तो मान्छो पढेर के गर्ने होला भनेर अरूले जिज्याउँदा पनि हिम्मत हारिन, आफ्नो लक्ष्यमा फोकस गरेर अहिले मास्टर पढ्ने भएको छु ।’
फरक क्षमता भएका मानिसको त्यही अनुसारको क्षमताले गर्न सक्ने गरी पढ्ने र काम गर्न वातावरण निर्माण गर्न सके धेरै सहजता हुने समेत उनी बताउँछन् । २०८१ सालमा शिक्षक सेवा आयोगले लिएको परीक्षामा निमावि तहको लाइसेन्स प्राप्त गरेका बुढाले २०८२ सालमा माध्यामिक तहको लाइसेन्स समेत प्राप्त गरेका छन् ।
चार दाजुभाइ र दिदिबहिनीमध्ये बुढा कान्छो सन्तान भएको बताउँछन् । घरपरिवारको साथ र सहयोगसँगै हौसल्लाका कारण आपूmले सफलता प्राप्त गरेको समेत बताउँछन् । गीतसंगीत प्रति रुचि राख्ने बुढालाई म्युजिक भिडियो खेल्नेदेखि डाइरेक्स गर्ने समेत रहेको भएको बताउँछन् ।
पढाइसँगै गीतसंगीतमा समेत रुचि भएको भन्दै मौका मिलेमा म्युजिक भिडियो खेल्नेसँगै निर्देशन गर्ने रुचि भएको बताउँछन् । अहिले पनि अपाङ्गताका क्षेत्रमा सरकारसँगै विभिन्न संघसस्थाले काम गरे पनि अझै पनि अपाङ्गतमैत्री पूर्वाधार बन्न नसक्दा अपाङ्गत भएका व्यक्तिहरूलाई समस्या हुने गरेको बताउँछन् ।
जीवनमा ‘म सक्दिनँ’ भन्ने शब्द हटाएर ‘म गर्छु, गर्न सक्छु’ भन्ने शक्ति भित्रैबाट जन्माउनु पर्ने भन्दै गर्छ भन्ने पाठ गणेशले सिकाएका छन् । अपाङ्गता होइन, अपाङ्गता प्रतिको दृष्टिकोण नै मुख्य समस्या हो भन्ने सन्देश उनी जस्तै युवाबाट समाजले सिक्नु पर्ने बेला आएको छ ।
प्रस्तुति : लीलाधर वली
