सिकलसेलको चेन ब्रेक गर्नु हाम्रो प्रमुख लक्ष्य हो : प्रा.डा. पन्थी [अन्तर्वार्ता]
२०७३ सालदेखि नै साविकको राप्ती उपक्षेत्रीय अस्पतालमा सुरू सिकलसेल एनिमिया विरुद्धको अभियान सुरु भएसँगै जिल्लामा बहुसङ्ख्यक नागरिकमा सिकलसेल एनिमिया भएको आशङ्का गरिएको छ ।
त्यो बेला देशभरका स्याम्पलका रूपमा सिकलसेल परीक्षण गर्दा तीन सय ५० जनामा सिकलसेल देखिएकोमा दाङ जिल्लाका मात्रै २६ केश देखिएका थिए । जुन एकदमै गम्भीर अवस्था हो । विशेषगरी थारू समुदाय र आदिबासी जनजातिमा देखिने सिकलसेल दाङमा पनि धेरै हुन सक्ने निष्कर्षसहित सरकारले बेला–बेलामा दाङमा सिकलसेल एनिमियाको निःशुल्क परीक्षण र उपचार गर्दै आए पनि यसलाई नियमितता दिन भने सकिएको छैन ।
यो वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः सिकलसेल एनिमिया विरुद्धको अभियान स्वरुप निःशुल्क परीक्षण, उपचार एवम् परामर्श सेवा सुरु गरिसकेको छ । सिकलसेल एनिमियाको चेन ब्रेक गर्ने पहिलो लक्ष्य राखेर अभियान सञ्चालन हुँदै छ । यो अभियानमा के–कस्तो तयारी हँुदै छ भन्ने विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा जनार्दन पन्थीसँग गरेको कुराकानीको सारसंक्षेप ।
सर्वप्रथम त सिकलसेल एनिमियाका विषयमा संक्षिप्त जानकारी गराइदिनुस् न ?
सिकलसेल एनिमिया भनेको वंशाणुगत रोग हो । खासगरी यो रोग खास गरेर आदिबासी जनजातीहरूमा देखिने गरेको तथ्याङ्कले देखाएको छ । दाङ जिल्लाको सन्दर्भमा कुरा गर्ने हो भने यहाँका विशेषगरी थारू समुदायमा सिकलसेल एनिमियाको समस्या व्यापक देखिएको यस अघिका परीक्षणका तथ्याङ्कहरूले पनि देखाएका छन् ।
प्राविधिक रूपमा यो रोगका विषयमा भन्नु पर्दा शरीरमा चाहिने अक्सिजन बोक्न चाहिने हेमोग्लोविन भन्ने तत्व सामान्य आकारमा नभएर हसियाको जस्तो आकार हुनु हो । यदि कोषको आकार हसिया जस्तो भयो भने यसले हाम्रा विभिन्न अङ्गमा अक्सिजन आवश्यक मात्रामा बोकेर लैजान सक्दैन । यात डिस्टर्व हुन्छ, यात यस्ता रक्तनलीकै भित्तामा टाँसिने समस्या हुन्छ ।
जबसम्म हाम्रा हरेक अङ्गहरूमा प्रयाप्त अक्सिजन पुग्न सक्दैन, यसले विभिन्न खालका समस्या ल्याउँछ । यसले कहिले काहीँ त मानव अङ्ग नै मारिदिने समेत गरेको पाइन्छ । मानिसमा रगत बन्ने प्रक्रिया पनि यसले कमजोर बनाइदिन्छ । यसले विभिन्न अङ्गमा असर पार्न सक्छ र मानिसको शारीरिक र मानसिक विकासमा समेत नकारात्मक असर पार्दछ ।
मानिसमा दीर्घरोगको समस्यादेखि यस्तो समस्या भएका परिवारलार्ई नै दुस्चक्रतर्फ धकेलिदिन्छ । यसको उपचार लक्षणअनुसार गर्ने हो, तर देखिइसकेपछि पुर्ण रूपमा निदान हुने अवस्था रहँदैन । यो भएर सकेसम्म हाम्रा भावि सन्ततीमा यो रोग नै लाग्न नपाओस् भनेर सिकलसेलको चेन ब्रेक गर्न नै हाम्रो प्रमुख दायित्व हुने छ ।
जिल्लामा सिकलसेल एनिमियाको अवस्था कस्तो छ ?
यसको आधिकारिक तथ्याङ्क हामीसँग छैन । यद्धपि यहाँ सिकलसेलका बिरामीहरू धेरै हुन सक्ने अनुमानका साथ सङ्घीय सरकारले केही वर्ष अघि नमुना परीक्षण पनि गरेको थियो । त्यति बेलैको तथ्याङ्कलाई मध्यनजर गर्ने हो भने पनि अहिले यस जिल्लामा सिकल सेल एनिमियाका बिरामीहरू धेरै भेटिन सक्ने छन् ।
सिकलसेल एनिमिया भएका बिरामीहरू बिचको विवाहका कारण जन्मने नवजात शिशुमा यो रोग सर्ने सम्भावना अत्यन्तै धेरै हुने भएकाले अहिले हामीले सिकलसेल एनिमियाको निःशुल्क परीक्षणको अभियान सुरु गरिसकेका छौँ । हाम्रो यो अभियानको मुख्य उद्देश्य निःशुल्क परीक्षण मात्र नभएर एकिन तथ्याङ्क पनि ब्रेकआउट गर्न सकिन्छ कि भन्ने पनि हो ।
तथ्याङ्क त परीक्षणको नतिजा पनि नै आउन सक्ला । यद्धपि हामीले स्थानीय पालिकाका स्वास्थ्य शाखा तथा जिल्ला स्वास्थ्य कार्यालयमा पनि बुझ्ना यहाँका थारू समुदाय बढी भएका बस्तीहरूमा सिकलसेल एनिमियाको समस्या व्यापक रूपमै छ भन्न सकिन्छ ।
सिकलसेल एनिमिया कसरी एक अर्कामा सर्दछ, यसबारे पनि बताइदिनुस न ?
यो सरुवा रोग होइन, तर वंशाणुगत हो । सिकलसेल एनिमियाका दुईवटा पाटो हुन्छन् । एउटा सिकलसेल एनिमिया बाहक र अर्को सिकलसेल एनिमिया रोगी । यदि सिकलसेल एनिमिया बाहक दुवै जनाको विवाह भयो भने उनीहरूबाट जन्मने नवजात शिशुलाई सिकलसेल एनिमिया हुने सम्भावना अधिक हुन्छ ।
त्यसैले हामीले परीक्षण गरेर यदि दुवैजना सिकलसेल एनिमियाका रोगी पुष्टि भएका छन् भने उनीहरू बिचको विवाह रोक्ने वा विवाह भइसकेको छ भने सन्तान नजन्माउन आग्रह गरेरै सिकलसेल एनिमियाको चेन ब्रेक गर्न सकिन्छ भन्ने हाम्रो लक्ष्य हो । त्यही भएर हामीले यो अभियानलाई व्यापक रूपमा जनस्तरसम्मै पु¥याउन कटिबद्ध भएर लागेका छौँ ।
सिकलसेलको परीक्षणको तयारी गर्नु भएको थियो, कहाँ–कहाँ सुरु भयो ?
हामीले पहिलो चरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवारदेखि नै परीक्षणको सुरु गरेका छौँ । यो रोग खासगरी थारू समुदायमा हुन सक्ने भएकाले धेरैभन्दा धेरैले निःशुल्क परीक्षणको सेवा लिनु हुन पनि यसै पत्रिकामार्फत् आम जिल्लाबासीहरूमा आग्रह गर्न चाहन्छु ।
थारू समुदायमा मात्र नभएर शङ्कास्पद जोसुकै व्यक्ति आए पनि सिकलसेल एनिमियाको निःशुल्क परीक्षण हुने छ । सुरुवातमा हामीले प्रतिष्ठानको मेडिसिन ओपिडि, जनरल प्राक्टिस ओपिडि र बच्चाको ओपिडिमा यो सेवा सुरुवात गरिसकेका छौँ । घोराही उपमहानगरपालिका बाट प्राप्त भएको एउटा मेसिनबाट परीक्षणको काम सुरु भइसकेको छ ।
अब चाडै अर्को मेसिन आइसकेको छ । त्यो मेसिन पनि आजै जडान भइसकेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट पनि आइसकेको छ । अब हामीले नमुना परीक्षणको कार्यक्रमलाई प्रतिष्ठानमा मात्र सीमित नराखेर समग्र दाङबासीलाई नजिकै सेवा दिने गरी देउखुरीको सिसहिनिया र पश्चिम दाङको श्रीगाउँ आधारभूत अस्पतालमा पनि निःशुल्क रूपमा नमुना सङ्कलनको काम चाडै थाल्ने छौँ ।
ती स्थानबाट पनि नमुना सङ्कलन गरी ल्याएर यही परीक्षण गरिने छ । हामीले आगामी वैशाख महिनासम्म कम्तिमा पनि पाँच हजार नागरिकको निःशुल्क रूपमा सिकलसेल एनिमिया परीक्षण गर्ने तयारी गरिसकेका छौँ ।
तपाईहरूले सुरु गरेको यो कार्यक्रममा परीक्षण मात्रै निःशुल्क होकी परामर्श र उपचार सेवा पनि निःशुल्क ?
हामी यो कार्यक्रमलाई परीक्षणसँगै उपचार र परामर्शसँग पनि जोडेका छौँ । नमुना सङ्कलन गरेर सिकलसेल छ छैन भनेर जानकारी दिने मात्र होइन, सिकलसेल एनिमिया देखिएका बिरामीलाई आवश्यक मात्रामा लक्षण अनुसारको उपचार पनि निःशुल्क गर्ने हो ।
त्यसका साथै सिकलसेल एनिमिया भनेको के हो ? यसले के–कस्ता हानी नोक्सानी बिरामीलाई पु¥याउँछ ? यसबाट बच्न के गर्नुपर्दछ, यो एक अर्काबाट कसरी सर्दछ भन्ने जानकारी पनि हामीले समुदायभित्रै गराउने छौँ । साथै यो परीक्षण पछि मोटामोटि रूपमा दाङमा सिकलसेल एनिमियाको अवस्थाका रूपमा पनि जानकारी हुने छ । हामीले यसलाई मन्त्रालयमा रिपोर्टिङ गर्ने छौँ र आवश्यकता अनुसार थप कार्यक्रम ल्याउन पनि हामीलाई यसले मार्गदर्शन गर्ने छ भन्ने अपेक्षा राखेका छौँ ।
पाँच हजारको परीक्षण गर्दा धेरै शङ्कास्पद बिरामी भेटिए भने परीक्षणको दायरालाई पनि थप फराकिलो बनाउन सकिने छ । उपचार तथा परामर्श सेवालाई पनि थप प्रभावकारी ढङ्गले अगाडि बढाउन सकिने छ । यस कारण पनि हामीले यो कार्यक्रममा स्थानीय सरकारलाई पनि सँगसँगै जोडेर लैजाने तयारीमा छौँ । ताकी कार्यक्रमले समग्र दाङबासीलाई समेट्न सकोस् भन्ने पनि हाम्रो अपेक्षा हो ।
अन्तमा केही थप भन्नु हुन्छ कि ?
सिकलसेल एनिमिया जस्तो घातक वंशाणुगत रोगको हामीले चेन ब्रेक गर्नु छ । त्यसैले निःशुल्क परीक्षण कार्यक्रममा सहभागी हुन फेरि पनि मैले सम्पूर्ण दाङबासीलाई आग्रह गर्दछु ।
विशेषगरी चौधरी समुदाय तथा यो समुदायसँग अन्तरजातीय विवाह गरेका व्यक्तिलाई समेत सिकलसेल एनिमियाको रोग हुन सक्ने भएकाले त्यस्ता व्यक्तिलाई पनि निःशुल्क परीक्षण उपचार एवम् परामर्श कार्यक्रममा सहभागिताका लागि आग्रह गर्दछु ।
साथै समय सान्दर्भिक विषयमा आम पाठक माझ सिकलसेल एनिमियाको विषयमा केही कुरा राख्ने अवसर प्रदान गर्नुभएकोमा गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।
