बर्दियाका कोरोना संक्रमित बेलझुण्डिमा रिफर
तुलसीपुर, ३० बैसाख । विरामी राख्ने स्थानको अभाव भएको भन्दै बर्दियाको अस्पतालले कोरोनाका संक्रमित विरामीको उपचारका लागि दाङको वेलझुण्डिमा रिफर गरेको सूचना पाएपछि संक्रमितलाई यहाँ नल्याउन र बाँकेका अस्पतालहरुमा उपचार गर्न अनौपचारिक रुपमा आग्रह गरिएको छ ।
नागरिक तथा प्रशासनिक स्तरवाटै अनौपचारिक रुपमा यस्तो आग्रह गरिएको हो । अहिलेसम्म जिल्लामा एकजना पनि कोरोना संक्रमित फेला नपरेको अबस्थामा अन्य जिल्लाबाट विरामी ल्याएर भर्ना गर्दा संक्रमण फैलने संभावना हुने भन्दै यस्तो आग्रह गरिएको हो । नागरिक स्तरवाट त विरामी बोकेर आउने एम्वुलेन्सलाइनै रोक्नु पर्ने धारणाहरु व्यक्त हुन थालेको छ ।
अन्यत्र अस्पताल हुँदाको अबस्थामा दाङमा संक्रमित नल्याउनका लागि तुलसीपुर उद्योग वाणिज्यसंघ, दाङ उद्योग वाणिज्यसंघ र लमही उद्योग वाणिज्यसंघले अधिक्तम पहल गरीरहेको बताएका छन् ।
‘सौभाग्यबस दाङ जिल्लामा एक जना पनि कोरोनाका संक्रमित विरामी नभेटिएको अवस्थामा अन्य जिल्लाका संक्रमिल ल्याउन दिनुभनेको संक्रमणको निम्तो गर्नु हो, यसलाई हामीले जसरी पनि रोक्ने छौं’—तुलसीपुर उद्योग वाणिज्यसंघका निवर्तमान अध्यक्ष विमल रिजालले गोरक्षलाई भने । दिउसो मात्र नभएर राती पनि एम्वुलेन्सबाट संक्रमित ल्याउने तयारी देखिएकाले रातीमा पनि चौकिदारी गरी कोरोनाका संक्रमित बोकेका एम्वुलेन्सलाई दाङ छिर्नै नदिने पनि उनले बताए ।
बांके र बर्दियामै पनि कोरोनाका विरामीलाई उपचारगर्न आइशोलेशन वेड स्टक भैरहेकै अवस्थामा विरामीलाई अन्य जिल्लामा स्थानान्तरण गरीनु दुर्भाग्यपूर्ण अवस्था भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने दाङ उद्योग वाणिज्यसंघका अध्यक्ष नारायणप्रसाद भुषालले बताए । ‘बर्दियाबाट आएका कोरोनाका विरामी बोकेका एम्वुलेन्सहरुलाई दाङ छिर्नै दिने छैनौं, त्यसका लागि लमही उद्योग वाणिज्यसंघसंग पनि समन्वय भैरहेको छ’—अध्यक्ष भुसालले भने । कोरोना विशेष अस्पताल भनिए पनि दक्ष जनशक्ति र आवस्यक भौतिक व्यवस्थापन समेत नभैसकेको अवस्थामा एकाएक अन्यत्रबाट संक्रमित ल्याएर उपचारको तयारी हुनु दुर्भाग्य भएको भन्दै यसलाई तत्काल प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने पनि उद्योग वाणिज्यसंघले जनाएको छ । ‘कोरोनाको औषधिनै अहिलेसम्म पत्तानलागेको अवस्थामा संक्रमितलाई एक जिल्लाबाट अर्को जिल्लामा रिफर गरीनु उपयुक्त हुनै सक्दैन, संबन्धित जिल्लाका आइशोलेशन र क्वारेन्टाइनले संक्रमितको व्यवस्थापन गर्नु पर्छ’, अध्यक्ष भुसालले भने ।
नागरिक समाजले पनि त्यसलाई अस्वाभाविक भनेको छ । विकल्प भएको अवस्थामा पनि संक्रमित विरामीलाई स्थानीय स्तरमा सन्चालन भएको अस्पतालमा उपचार गर्नुपर्नेमा अन्यत्र सिफ्ट गरी उपचारगर्न खोजिनु दुर्भाग्यपुर्ण हुने र यसले संक्रमण विहिन जिल्लामा समेत संक्रमण निम्त्याउन सक्ने नागरीक समाज दाङका अध्यक्ष चन्द्रराज पन्तले बताएका छन् ।
संक्रमित विरामी स्थानान्तरण गर्ने प्रबृत्तिलाइ रोक्न कुटनितिक रुपमा पहल भैरहेको
दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । ‘संबन्धित जिल्ला र नजिकको बांकेका अस्पतालका आइशोलेशन वेडमा उपचार व्यवस्थापनका लागि अधिक्तम पहल भैरहेको छ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने । उनले यो मानविय सम्वेदनासंग पनि जोडिएकाले सहज व्यवस्थापनमा आफु लागीरहेको पनि बताए ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले यो विषयमा उपमहानगरपालिका अत्यन्तै गम्भीर भएको भन्दै सकेसम्म कोरोनाका संक्रमितहरुलाई संबन्धित पालिका वा जिल्लामा व्यवस्थापनका लागि प्र्रदेश सरकारसंग आग्रह गरीरहेको बताएका छन् । औषधि नभए पनि न्युनतम उपचार स्थानीय तहले नै व्यवस्थापनगर्न लाग्नुपर्ने अहिलेको आवस्यकता भएको उनको अभिव्यक्ति थियो । तर विरामीनै आइपुगेपछि के गर्ने भन्ने विषयमा उनी स्पष्ट खुलेनन् । तुलसीपुर उपमहानगरपालिकाका श्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले पनि संक्रमित नभएका जिल्लामा कोरोना संक्रमित विरामीलाई ल्याएर उपचारगर्ने उपयुक्त नभएको भन्दै यसलाई तत्काल रोक्नुपर्ने बताएका छन् ।
विरामी आए उपचार ः सदस्य सचिव शर्मा
यसै प्रसंगमा बेलझुण्डिस्थीत कोरोना विशेष अस्पताल व्यवस्थापन समितिका सदस्यसचिव डा.शर्वेश शर्माले रिफर भएर आएका विरामीलाई अस्पतालले भर्ना लिएर उपचारगर्ने बताएका छन् ।
बर्दियाबाट रिफर भएर आएका कोरोनाका संक्रमितको उपचारका सन्दर्भमा उनले अस्पताल व्यवस्थापन समितिले गरेको निर्णय अनुसार हुने बताए । कोरोनाका संक्रमित एकाएक रिफर भएर अन्य जिल्लाबाट आए भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले अस्पताल विरामीकै उपचारका लागि निर्माण भएकाले सहज रुपमा उपचार गर्ने बताए ।
तर त्यसको अन्तिम निर्णय भने प्रमुख जिल्ला अधिकारीले गर्ने अभिव्यक्ति दिए । ‘कोरोना संक्रमितकै उपचारका लागि प्रदेश सरकारले प्रदेश स्तरीय अस्पताल बनाएको हो, विरामी भर्ना हुन आएभने अस्पताल व्यवस्थापनको निर्णय वमोजिम भर्नागरी स्वास्थ्य उपचार हुने छ’, सदस्य सचिव डा शर्माले भने ।