प्रतिनिधि सभा निर्वाचन : दललाई चुनाव चिह्न प्रदान, लुम्बिनीमा थपिए २४ मतदानस्थल
गोरक्ष समाचारदाता
दाङ, २२ मङ्सिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिएको छ । जस अनुसार एक सय दुई वटा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा जाने भएका छन् ।
निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका एक सय २० वटा राजनीतिक दलमध्ये एक सय दुई वटा दल एक्लाएक्लै निर्वाचनमा जाने भएका छन् । निर्वाचन आयोगमा एक सय ४३ राजनीतिक दल दर्ता भएका पनि आगामी प्रतिनिधि निर्वाचनका लागि एक सय २० वटाले निवेदन दिएका थिए । ती मध्ये छ वटा राजनीतिक दलको निवेदन खारेज भएका छन् ।
निर्वाचनमा १२ वटा राजनीतिक दलले भने संयुक्त रूपमा एकल चिह्न प्रयोग गरी निर्वाचनमा जाने गरी आयोगमा निवेदन दिएका छन् । १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर पाँच वटा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिने भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार एक सय १४ राजनीतिक दलले एक सय सात वटा चुनाव चिह्न प्रयोग गर्ने छन् ।
‘हामीलाई छुट्टाछुट्टै निर्वाचनमा भाग लिनको लागि र एकल चुनाव चिह्न लिएर निर्वाचनमा जानका लागि विभिन्न एक सय २० वटा निवेदन प्राप्त भएका थिए । तीमध्ये एक सय दुईवटा दलले आफू मात्रै एक्लै चुनावमा जाने गरी निवेदन दिएकाले निवेदन स्वीकृत भएको छ’, प्रवक्ता भट्टराईले भने, ‘१२ वटा दलले संयुक्त रूपमा र त्यसमा कुनैमा दुई दल कुनैमा तीन दल मिलेर एकल चुनाव चिह्न प्रयोग गर्ने गरी दल दर्ताको निवेदन दिएका छन् । निवेदन दिएका १२ दलमध्ये पाँच वटा निर्वाचन चिह्न प्रयोग गर्ने गरी स्वीकृत भएको छ ।’
एकल चुनाव चिह्न र संयुक्त चुनाव चिह्न प्रयोग गरी एक सय १४ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिएका छन् । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने आइतवारबाट सुरु गरेको छ । समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मङ्गलवारसम्म निवेदन दिन सक्नेछन् ।
प्राप्त भएका निवेदन उपर अध्ययन गरी मङ्सिर २६ गतेसम्म स्वीकृत गरिनेछ भने आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने समय तोकिएको छ । बन्दसूची पेस गर्दा ५० प्रतिशत महिला हुनुपर्ने आयोगले जनाएको छ । प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।
लुम्बिनी प्रदेशमा थपिए २४ मतदानस्थल
यसैबिच आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदानस्थल थपिएका छन् । प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदानस्थल थपिएका हुन् ।
नयाँ मदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार छ सय ७४ र मतदान केन्द्रको सङ्ख्या तीन हजार आठ सय ३२ पुगेको छ । लुम्बिनी प्रदेशमा थपिएका २४ निर्वाचन स्थलमध्ये सबैभन्दा धेरै अर्घाखाँचीमा सात वटा मतदानस्थल थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवुँरले जानकारी दिएका छन् ।
उनका अनुसार मतदानता बढी भएका क्षेत्र र मतदान गर्नका लागि टाढा जानुपर्ने ठाउँमा मतदाताको सहजताका लागि जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएको सिफारिस अनुसार निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा २४ वटा नयाँ मतदानस्थल थप गरेको बताए ।
सूचना अधिकारी कवँरका अनुसार दाङमा छ वटा, गुल्मीमा चार वटा, प्युठानमा तीन वटा, रुपन्देही, कपिलवस्तु, बाँके र नवलपरासी (बर्दघा सुस्ता पश्चिम) जिल्लामा एक÷एक वटा मतदान स्थल थपिएका छन् । सूचना अधिकारी कवँुरका अनुसार अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. १ स्थित सरस्वती मावि आमडाँडा, पाणिनी गाउँपालिका–३ को सरस्वती भवन राष्ट्रिय मावि हर्बाबोट, शीतगङ्गा नगरपालिका–११ धर्माेदय मावि ढुङ्गेशेरा, वडा नं. ११ कै दुम्सी आधारभूत विद्यालय दुम्सी, ताराज्योति आधारभूत विद्यालय दोबाटा, शीतगङ्गा नगरपालिका–१ को मसीवान आधारभूत विद्यालय रहेका छन् ।
यसैगरी दाङको बबई गाउँपालिका–१ को जनकल्याण भागावारी, दंगीशरण गाउँपालिका–७ को रात्री आधारभूत विद्यालय सिमठाना, बंगलाचुली गाउँपालिका–३ को मावि भेडाबारी मुलावासी, राजपुर गाउँपालिका–६ स्थिन बालकल्याण मावि खङ्ग्रानाका, राप्ती गाउँपालिका–५ को जनता मावि करङ्गे र लमही नगरपालिका–४ स्थित वडा कार्यालय नयाँ मतदानस्थलका रूपमा थपिएका छन् ।
गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका–१ को बलिथुम नरहरी कँडेल मावि, मुसीकोट नगरपालिका–१ को वडा कार्यालय सेवा केन्द्र सिम्ले, सत्यवती गाउँपालिका–६ को वडा कार्यालय, प्युठानको ऐरावती गाउँपालिका–१ को जनप्रिय प्रावि माझीदमार, स्वर्गद्वारी नगरपालिका–६ को झुपाकोट प्रावि थापाखर्क थपिएका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ नविन औद्योगिक कदर बहादुर रीता मावि देवीनगर, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ को सरस्वती आधारभूत विद्यालय लक्षमणपुर, बाँकेको राप्ती सोनारी गाउँपालिका–२ को नेपाल राष्ट्रिय मावि अगैया र नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–४ को पाल्ही भगवती प्राविमा नयाँ मतदान थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
