calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

दाङ कांग्रेसको संक्षिप्त इतिहास–२

डा. सुदीप गौतम
तिलकबहादुर डाँगीले छविकुमार शर्मालाई कार्यभार दिएर दाङ फर्किएपछि केही वर्षसम्म दाङ कांग्रेसको सङ्गठन निर्माण हुन सकेन । आन्दोलनका गतिविधि भने सञ्चालन भइरहेका थिए ।
नेपाली कांग्रेसको २०३४ कात्तिक १५ गते पटनामा भएको सम्मेलनले कृष्णप्रसाद भट्टराईलाई कार्यबाहक सभापति चयन गरेपछि जिल्ला जिल्लामा फेरि सङ्गठन निर्माण तथा पुनर्निर्माणको कार्य सुरु हुन थाल्यो । २०३४ साल फागुनमा गोरखपुरमा एउटा भेला भयो । भेला पश्चात् गिरिजाप्रसाद कोइरालाले दाङमा सङ्गठन निर्माण गर्न कृष्णकिशोर शर्मा, वीरकेशरी गौतम, लेवेन्द्र धिताल, अरुण रेग्मी, महेश आचार्य (हलवार), ऋषिराज आचार्यलगायत ७ जनालाई खटाएका थिए (कृष्णकिशोर, वीरकेशरी, अरुण २०८२) ।
सङ्गठनलाई ऊर्जा दिन कार्यबाहक सभापतिले २०३५ वैशाख ७ गतेदेखि देशव्यापी भ्रमण सुरु गरे । २०३५ वैशाख ७ गतेबाट उनको पूर्वाञ्चल यात्रा प्रारम्भ भयो । दाङमा पनि कृष्णप्रसाद भट्टराई आउने कार्यक्रम तय भएपछि त्यो कार्यक्रमलाई व्यवस्थित गर्न एउटा समिति निर्माण गरियो । जसको संयोजकमा कृष्णकिशोर घिमिरे रहेका थिए (वीरकेशरी गौतम २०८२) ।
देउखुरी निवासी अरुण रेग्मीका अनुसार मानपुर राउत गाउँको चौवा खोलाको ढिकमा भेला भई समिति निर्माण भएको थियो । रेग्मीका अनुसार समितिमा दीपक गिरी, तेजबहादुर बस्नेत, ऋषिराज आचार्य, लेवेन्द्र धिताल, महेश आचाय, विश्वेश्वर रेग्मी, शिवहरी शर्मा, वीरकेशरी गौतम, कुमुद शर्मा लगायत रहेका थिए । ( अरुण रेग्मी २०८१) तर वीरकेशरीले भने आफू त्यो भेलामा सहभागी भए पनि समितिमा भने नबसेको दाबी गर्छन् ।
यद्यपी त्यो समिति नेपाली कांग्रेसको जिल्लासमिति हो वा होइन भन्ने सन्दर्भमा सहभागीहरूको आ–आफ्नै तर्क रहेको छ  । कार्यक्रममा सहभागी लेवेन्द्र धितालले त्यस प्रकारको एउटा स्वागत समिति गठन भएको तर त्यसलाई अधिवेशनले चयन गरेको जिल्ला कार्यसमिति भने भन्न नमिल्ने दाबी गर्छन् (लेवेन्द्र धिताल २०८१) ।
भेलामा सहभागी वीरकेशरी गौतम पनि त्यस प्रकारको समिति गठन भएको, संयोजक कृष्णकिशोर र सचिव ऋषिराज आचार्यलाई चयन गरेको भए पनि अरू कुनै समिति नबनेको र त्यसको कुनै बैठक पनि नबसेको दाबी गर्छन् । तर कृष्णकिशोर घिमिरे  त्यो भेलाबाट आफू संयोजक नभई सभापति नै भएको र त्यो समितिको सचिव तेजबहादुर बस्नेत भएको दाबी गर्छन् । त्यतिबेला बस्नेतलाई पारिवारिक समस्या परेकोले उनको नाम सचिवमा सार्वजनिक नगरेको उनको दाबी छ । साथै आफू सभापति भएकोले नै २०३८ सालमा ढोडरीमा भएको खुमबहादुर खड्कालाई जिल्ला अध्यक्ष बनाउँदाको बैठकको अध्यक्षता आफूले गरेको उनको दाबी छ (कृष्णकिशोर २०८२) ।
कृष्णप्रसाद भट्टराईको दाङ आउने कार्यक्रम स्थगित र त्यस समितिमा संलग्न पक्राउ भएपछि त्यो समिति पनि स्वतः निष्क्रिय भयो । यद्यपि त्यो समितिका केही बैठक बसेको भने सम्बन्धित व्यक्तिको दाबी रहेको छ । अरुणका अनुसार समिति गठन भएको १०(१५ दिनपछि घोराहीमा एउटा बैठक तय भएको र त्यसमा मोती चौधरी र चेतराम चौधरीलाई लिएर आफू देउखुरीबाट आएको दाबी गर्छन् । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मी त्यो बेलाको बैठकको अध्यक्षता आफूले गरेको र माइनुट पनि आफूँले लेखेको दाबी गर्छन् ।
एउटा समिति निर्माण भएको हो र त्यसका केही बैठक पनि बसेका हुन् । २०३५ असार ११ गतेको बैठक त्यही अन्तर्गत बसेको र त्यो बैठकमा प्रहरीले हस्तक्षेप गर्छ भन्ने जानकारी हुँदाहुँदै पनि अरू साथीहरू बैठकमा बसेर पक्राउ परेको उनको भनाइ छ (डिल्लीराज रेग्मी २०८२) । वीरकेशरी गौतमको पनि त्यो बैठकमा प्रहरी हस्तक्षेप हुन्छ भन्ने जान्दाजान्दै पनि भागेर जानुभन्दा पक्राउ पर्न उचित ठानेर सबै साथीहरूको सल्लाहले बैठक स्थल नछोडेको दाबी छ ।
अरुण रेग्मीले भने त्यस प्रकारले दाङमा समिति गठन गरिसकेपछि ती सबै कागजपत्र आफूले नै काठमाडौँ लगेर वीरेन्द्र दाहालमार्फत् गिरिजाप्रसाद कोइरालालाई बुझाएको दाबी गरेका छन् । जे जस्तो दाबी गरिए पनि त्यो समयमा कृष्णकिशोर घिमिरेको अध्यक्षतामा नेपाली कांग्रेसको एउटा संरचना निर्माण भएको र कृष्णकिशोर लगायतको गिरफ्तारीसँगै त्यो संरचनाको अन्त्य भएको कुरा नकार्न सकिँदैन ।
यस प्रकारको समिति गठन भइसकेपछि २०३५ साल असार ११ गते लहलौरेका जीवराज आचार्यको घरमा नेपाली कांग्रेसका कार्यकर्ताहरूको एउटा बैठक बसेको थियो (युगबोध पाक्षिक, २०३५ असार १६) । त्यो बैठकमा प्रहरीले हस्तक्षेप गरी ऋषिराज आचार्य, कृष्णकिशोर शर्मा, वीरकेशरी गौतम, शिवहरी शर्मा लगायत ११ जनालाई पक्राउ गरेको थियो । अरू सबैजना हिरासतबाट छुटे पनि वीरकेशरी गौतम, कृष्णकिशोर शर्मा, ऋषिराज आचार्य र शिवहरी शर्मालाई जेल चलान गरिएको थियो । त्यो समितिले अरू कुनै कार्यक्रम गरेको थाहा पाइएको छैन ।
२०३६ कात्तिकको बहुदलीय व्यवस्था प्रचारप्रसार समिति
२०३६ साल जेठ १० गते राजाले जनमतसंग्रह घोषणा गर्दा दाङमा कांग्रेसको कुनै सङ्गठन थिएन । शीर्ष नेताहरू गिरफ्तारीमा थिए । यो अवस्थामा दाङमा बहुदलीय व्यवस्थाको लागि प्रचारप्रसार कार्यक्रम व्यवस्थित गर्न एउटा समितिको आवश्यकता भयो र २०३६ कात्तिकमा प्र. नेपाली कांग्रेसको बहुदलीय व्यवस्था प्रचारप्रसार समिति गठन भएको थियो । जसमा संयोजक यमप्रसाद पाण्डे, सहसंयोजक हरि सुवेदी, सचिव शंकर गिरी, सहसचिव मोती चौधरी, कोषाध्यक्ष हरिराम गिरी रहेका थिए भने सदस्यहरूमा नेमकान्त दाहाल, छविकुमार शर्मा, विनोद पोख्रेल, लेवेन्द्र धिताल, देवमणि घिमिरे, चेतराम चौधरी, आत्माराम भट्टराई, बुद्धिराम भण्डारी, हरि चौधरी, रुद्रमणि शर्मा, नारायण घिमिरे, बोधराज योगी रहेका थिए ।
समितिको आयोजनामा वी.पी. कोइरालाको उपस्थितिमा २०३६ फागुनमा घोराही सैनिक मञ्चमा आमसभा भएको थियो । यमप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शंकर गिरीले गरेका थिए भने कार्यक्रम सञ्चालन नेमकान्त दाहालले गरेका थिए । कार्यक्रममा वी.पी. कोइराला, परशुनारायण चौधरी, शैलजा आचार्य, जुद्धबहादुर न्यौपाने, छविकुमार शर्मा र विद्यार्थी नेता युवराज पुरीले सम्बोधन गरेका थिए ।
त्यसैगरी २०३६ चैत्रमा गणेशमान सिंहको उपस्थितिमा घोराहीमा कार्यक्रम भएको थियो । यमप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शंकर गिरीले गरेका थिए ।
२०३८ चैत्र पार्टी पुनर्गठन एवम् नवीन कार्यसमिति
२०३८ साल साउन ८ गते दाङ निवासी नेपाली कांग्रेसका महामन्त्री परशुनारायण चौधरीले एक वक्तव्य जारी गर्दै पञ्चायत प्रवेशको घोषणा गरे । यसले नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा उथलपुथल ल्यायो । महामन्त्रीको पञ्चायत प्रवेशपछि सङ्गठनमा सक्रियता ल्याउन स्वयम् बीपी कोइराला अग्रसर भए । नेपाली कांग्रेसले नेपालगञ्ज लगायत देशका विभिन्न नौ ठाउँमा सप्ताहव्यापी कार्यकर्ता सम्मेलन एवम् प्रशिक्षण शिविर आयोजना गर्ने निर्णय गर्दै त्यसका लागि २०३८ पौष २० गतेदेखि चैत्र ३१ गतेसम्मको मिति निर्धारण ग¥यो ।
यसै निर्णयअनुसार नेपालगञ्जमा निर्धारण गरिएको कार्यक्रम २०३८ साल चैत्र १० गते बर्दियाको ढोडरीमा सम्पन्न भयो । त्यस कार्यक्रममा सहभागी हुन बीपी कोइराला आउन नसके पनि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला आएका थिए भने प्रशिक्षक सी.के. प्रसाईं, योगप्रसाद उपाध्याय लगायत रहेका थिए ।
त्यस कार्यक्रम पश्चात् यस क्षेत्रका विभिन्न जिल्लाहरूमा नेपाली कांग्रेसका जिल्ला समिति गठन तथा पुनर्गठन गरियो । जसअनुसार दाङमा पनि खुमबहादुर खड्काको अध्यक्षतामा नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमिति निर्माण भयो । त्यस बैठकको अध्यक्षता कृष्णकिशोर शर्माले गरेका थिए (कृष्णकिशोर २०८२) । यो समितिको गठनसँगै २०२५ सालदेखि रहेको सङ्गठनात्मक रिक्तता हटाउने काम भयो । समिति
यस प्रकार थियो ः
सभापति खुमबहादुर खड्का, उपसभापति शिव गिरी, (शंकर गिरी २०८२) सचिव बलदेव शर्मा मजगैयाँ, सहसचिव ऋषिराज आचार्य, कोषाध्यक्ष ……… एवम् सदस्यहरू तीर्थराज चैतु, कृष्णकिशोर घिमिरे, लेवेन्द्र धिताल, शंकर गिरी, यमप्रसाद पाण्डे, महादेव शाह, गेहेन्द्र गिरी, केशव आचार्य, भरत के.सी, वीरकेशरी गौतम (शंकर गिरी २०८२) । तर कृष्णकिशोर शर्माका अनुसार यो समितिको उपाध्यक्ष तिर्थराज चैतु रहेका थिए ( कृष्णकिशोर २०८२)
२०३९ कार्यसमिति
२०३९ मङ्सिर १५, १६ र १७ गते भएको नेपाली कांग्रेसको काठमाडौँ महासम्मेलनबाट खुमबहादुर खड्का केन्द्रीय सदस्य एवम् मध्यपश्चिम क्षेत्र संयोजक भए । यसपछि २०३९ चैत्रमा नेपाली कांग्रेस दाङ जिल्ला समिति पुनर्गठन गरियो जसको सभापति तीर्थराज चैतु भए । कार्यसमिति यस प्रकार थियो ः सभापति तीर्थराज चैतु, उपसभापति शिव गिरी, सचिव बलदेव मजगैयाँ, सहसचिव …………, सदस्यहरू लेवेन्द्र धिताल, कृष्णकिशोर घिमिरे, शंकर गिरी, केशव आचार्य, भरत के.सी., गेहेन्द्र गिरी, जीवराज के.सी., अर्जुन श्रेष्ठ, वासुदेव जंगली, शिवहरी शर्मा, दीपक गिरी, वीरकेशरी गौतम ।
यो कार्यसमितिको सक्रियतामा प्रतिबन्धित नेपाली कांग्रेसको राप्ती अञ्चलस्तरीय सम्मेलन २०४३ साल माघ ७, ८ र ९ गते सम्पन्न भएको थियो । मध्य दाङको दक्षिणी भेग टिक्रा (लहलौरामा प्र. ने. का. का नेता जीवराज आचार्यको घरआँगनमा भएको कार्यक्रमको सर्वोच्च नेता गणेशमान सिंहले उद्घाटन गरेका थिए । त्यसक्रममा सिंहले ‘हामीले सात सालको क्रान्तिमा श्री ५ को वैधानिक नायकत्वमा प्रजातान्त्रिक शोषण विहीन समाजको सिर्जना गर्ने लक्ष्य लिएका थियौँ, २५ वर्षदेखि यसैमा हाम्रो झगडा छ’ भनेका थिए ।
भ्रष्टाचारबारे तीव्र प्रतिक्रिया व्यक्त गर्दै सिंहले ‘देश तस्करको स्वर्ग भएको’ गुनासो गरेका थिए (डा. सुदीप गौतम दाङ देउखुरीको स्वर्णिम इतिहास २०८२, पृष्ठ १६५) । प्र. ने. का. मध्यपश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष खुमबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा प्र.ने. का.का कार्यबाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई र महामन्त्री गिरिजाप्रसाद कोइरालाले सम्बोधन गरेका थिए । (युगचेतना, ११ माघ २०४३) ।
सभाको प्रारम्भमा प्र.ने.का. दाङ शाखाका सचिव बलदेव मजगैयाँले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सशस्त्रधारी प्रहरीहरू र प्रशासनको उपस्थितिमा भएको भए पनि कुनै धरपकड भएको थिएन ।
कार्यसमिति २०४५
२०४५ साल फागुन ७ गते मानपुर जमुनीमा केन्द्रीय सदस्य खुमबहादुर खड्काको अध्यक्षतामा एक भेला सम्पन्न भयो । भेलाले बलदेव मजगैयाँको अध्यक्षतामा २५ सदस्यीय समिति गठन ग¥यो । समितिका उपाध्यक्षमा महादेव शाह र भरत केसी, सचिव कृष्णकिशोर शर्मा, सहसचिव गोपीनाथ योगी, कोषाध्यक्ष महेशराज आचार्य रहेका थिए ।
त्यसैगरी सदस्यहरूमा खुमबहादुर खड्का (पदेन), तीर्थराज चैतु, गेहेन्द्र गिरी, ऋषिराज आचार्य, गोविन्द मजगैयाँ, लेवेन्द्र धिताल, मदन रसिक, केशवराज शर्मा, वीरकेशरी गौतम, तिलकराम बस्नेत, तेजबहादुर बस्नेत, रुद्रमणि शर्मा, जीवराज केसी, गोविन्द गौतम, श्यामकुमार रेग्मी, दीपक गिरी, हुतासन रेग्मी, राजु खनाल (पदेन) रहेका थिए ।
क्षेत्रीय संयोजकहरूमा हरिप्रसाद रजौरे, मोहन घिमिरे, भोजराज पाण्डे, शिवहरी शर्मा, खगेश्वर शर्मा, डिल्लीराज आचार्य र घनश्याम रेग्मी रहेका थिए भने सल्लाहकारहरूमा जुद्धबहादुर न्यौपाने, ईश्वरीप्रसाद शर्मा, सोमनाथ शर्मा रहेका थिए (युगचेतना साप्ताहिक वर्ष ६ अंक ४९, २०४५ चैत्र २०) ।
नेपाली कांग्रेसले वीपी जयन्तीको अवसरमा २०४६ भाद्र २४ गते सप्ताहव्यापी कार्यक्रमअन्तर्गत अन्तरक्रिया गर्ने र महँगीविरुद्ध ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको थियो । कार्यक्रमको पूर्वसन्ध्यामा प्रशासनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्का, जिल्ला अध्यक्ष बलदेव मजगैँया, सचिव कृष्णकिशोर घिमिरे, नेता तीर्थराज चैतू र नेविसंघ दाङका अध्यक्ष राजु खनाललाई गिरफ्तार ग¥यो । उच्च नेताहरू पक्राउ परेपछि कार्यकर्ताहरूले निर्धारित स्थानमा कार्यक्रम नगरी लक्ष्मीपुर–४, धैरेखुटीमा कार्यक्रम सम्पन्न गरे । त्यसपछि ज्ञापनपत्र बुझाउन भरतपुरस्थित तीर्थराज चैतूको घरबाट टूाफिक निमालरोड, गणेश मन्दिर, दामोदरचोक हुँदै अगाडि बढेको जुलुसलाई हालको गणेश चित्रालयनजिक प्रहरीले हस्तक्षेप ग¥यो ।
त्यसक्रममा बासुदेव जंगली, मोहन घिमिरे, भोला अधिकारी, किरण रेग्मी, भीमबहादुर बिसी, वीरकेश्वरी गौतम, बसन्त देवकोटा, सुशील आचार्य, यज्ञनारायण आचार्य, कुमार लामिछाने, प्रकाश बुढाथोकी, महेश आचार्य, तेजबहादुर केसी, मदन रसिक, केशव आचार्य, नारायण चालिसे, आनन्दमणि रिजाल, हरि पौडेल, कृष्ण केसी, लेवेन्द्र धिताल, बासु पन्तलगायत गिरफ्तार परे (आचार्य, सुशील २०८२) ।
गिरफ्तार परेकाहरूलाई क्रमशः छोड्दै जाँदा छवि देवकोटा भोला अधिकारी लगायत केहीलाई नौ रातसम्म हिरासतमा राखियो । (अधिकारी, भोला २०८० कार्तिक ७)
कार्यसमिति २०४८
२०४६ सालको आन्दोलनपछि २०४८ माघ ३, ५ र ६ गते क्रमशः लमही, घोराही र तुलसीपुरमा क्षेत्रीय अधिवेशन भए । ती अधिवेशनको उद्घाटन नेकाका केन्द्रीय प्रतिनिधि आदित्य ज्ञवालीले गरेका थिए । माघ ३ गते भएको क्षेत्र नं. १ को अधिवेशनबाट क्षेत्रीय अध्यक्षमा श्रीनारायण चौधरी (निर्विरोध) निर्वाचित भए भने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुमबहादुर खड्का, हरिप्रसाद चौधरी, कृष्णकिशोर घिमिरे, नीमकान्त दाहाल, वासुदेव शर्मा जंगली, चेतराम चौधरी ‘ज्वाला’ र मधुसूदन न्यौपाने तथा महासमिति सदस्यहरू खुमबहादुर खड्का, हरिप्रसाद चौधरी, कृष्णकिशोर शर्मा घिमिरे (निर्विरोध) निर्वाचित भए ।
माघ ५ गते भएको क्षेत्र नं. २ को अधिवेशनबाट क्षेत्रीय अध्यक्षमा गोविन्द मजगैयाँ (निर्विरोध) निर्वाचित भए भने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा तीर्थराज ज्ञवाली ‘चैतु’, बलदेव मजगैयाँ, यज्ञबहादुर बुढाथोकी, लेवेन्द्र धिताल, भोजराज पाण्डे, भरतबहादुर न्यौपाने, शेरबहादुर के.सी. तथा महासमिति सदस्यहरू तीर्थराज ‘चैतु’, बलदेव मजगैयाँ, यज्ञबहादुर बुढाथोकी (निर्विरोध) निर्वाचित भए ।
माघ ६ गते भएको क्षेत्र नं. ३ को अधिवेशनमा भने निर्वाचन भयो । जसमा क्षेत्रीय अध्यक्षमा केशव आचार्यलाई पराजित गरी तेजबहादुर बस्नेत निर्वाचित भए भने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महादेव शाह, भरत के.सी., गेहेन्द्र गिरी, मदन ‘रसिक’ शर्मा, दीपक गिरी, कमानसिंह डाँगी र डम्बर बुढाथोकी तथा महासमिति सदस्यहरू महादेव शाह, भरत के.सी. र दीपक गिरी निर्वाचित भए । २०४८ माघ ७ गते नेपाली कांग्रेस दाङको जिल्ला अधिवेशन सम्पन्न भयो । जसबाट अध्यक्षमा फेरि पनि बलदेव मजगैयाँ (निर्विरोध) निर्वाचित भए । कार्यसमिति निम्नानुसार रहेको थियो ।
अध्यक्ष बलदेव मजगैयाँ, उपाध्यक्ष महादेव शाह, वीरकेशरी गौतम, हुतासन रेग्मी, सचिव महेशराज आचार्य, सहसचिव जीवराज के.सी., कोषाध्यक्ष भरतबहादुर न्यौपाने र सदस्यहरू श्रीनारायण चौधरी, भरतमणि घिमिरे, आत्माराम भट्टराई, हिमलाल भुसाल, पूर्णबहादुर के.सी., विन्तिराम यादव, माधव पाण्डे, गोविन्द गौतम, लालबहादुर बुढाथोकी, खुमबहादुर खड्का, कृष्णकिशोर शर्मा, हरि चौधरी, गोविन्द मजगैयाँ, घनश्याम रेग्मी, मोहन घिमिरे, हरि रजौरे, दीपक रेग्मी, हरि योगी, तारा खड्का, लुमबहादुर दुढाथोकी, कुमुदराज शर्मा, रणबहादुर पछाई, अनिता देवकोटा, केशव पाण्डे, यज्ञबहादुर बुढाथोकी, तीर्थराज ‘चैतु’, डिल्ली आचार्य, भरत आचार्य, कुलबहादुर घर्ती, पिमा थापा, बुद्धिराम भण्डारी, श्याम रेग्मी, विजुल विश्वकर्मा, तेजबहादुर थापा, केशव आचार्य, भरत केसी, दीपक गिरी, लेवेन्द्र धिताल, ऋषिराज आचार्य, मुकुन्द गौतम, गेहेन्द्र गिरी, डम्बर बुढाथोकी, कमानसिंह डाँगी, गोपाल शर्मा, डिल्लीबहादुर बस्नेत, मदन रसिक, चेतराम चौधरी, तिलकराम बस्नेत, रघुवीरसिंह नेपाली रहेका थिए ।
त्यसैगरी सल्लाहकार समितिमा गणेशकुमार शर्मा, छविकुमार शर्मा, सोमनाथ उपाध्याय, जुद्धबहादुर न्यौपाने, ईश्वरीप्रसाद उपाध्याय, शेरबहादुर खड्का, गोविन्दबहादुर थापा, लोकमणि गिरी, दिग्विजय मल्ल, अमरराज शर्मा रहेका थिए ।
कार्यसमिति २०४९
२०४९ साल साउन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिका अध्यक्ष बलदेव मजगैयाँले पार्टी सभापति पदबाट राजीनामा दिए । त्यसपछि २०४९ साल असोज ३० गते अधिवेशन सम्पन्न भयो । अधिवेशनले गेहेन्द्र गिरीलाई अध्यक्षमा चयन ग¥यो । त्यस अधिवेशनमा तीनजना बीच प्रतिस्पर्धा भएको थियो ।
२१ जना मतदाता भएको अधिवेशनमा गेहेन्द्र गिरीले १५ मत प्राप्त गरी विजयी भएका थिए भने दीपक गिरीले ५ र कृष्णकिशोर घिमिरेले १ मत प्राप्त गरेका थिए । गेहेन्द्र गिरीले २०४९ मङ्सिर ८ गते कार्यसमिति गठन गरे जसमा वीरकेशरी गौतम वरिष्ठ उपाध्यक्ष, हुतासन रेग्मी र केशव आचार्य उपाध्यक्ष, घनश्याम रेग्मी सचिव, हरि रजौरे कोषाध्यक्ष एवम् पार्टी प्रवक्ता, जीवराज केसी र कुलबहादुर घर्ती सहसचिव, सदस्यहरूमा खुमबहादुर खड्का, बलदेव मजगैयाँ, हरिप्रसाद चौधरी, कृष्णकिशोर घिमिरे, ऋषिराज बुढाथोकी, खिमकान्त दाहाल, मुकेश चौधरी, डिल्लीबहादुर खड्का, विष्णुदेवी पाण्डे, महेश आचार्य, गोविन्द गौतम, टंकेश्वर शर्मा, शेरबहादुर केसी, के.पी. आचार्य, कुलबहादुर चौधरी, खगराज पाण्डेय, अनिता देवकोटा, कुमुदराज शर्मा, मुकुन्द गौतम, डम्बरबहादुर बुढाथोकी, विजुल विश्वकर्मा, डिल्लीबहादुर बस्नेत, पिमा थापा, हरिबहादुर केसी, देवीबहादुर डी.सी. रहेका थिए ।
सल्लाहकारहरूमा जुद्धबहादुर न्यौपाने, भरतमणि शर्मा, गणेशकुमार शर्मा, ईश्वरीप्रसाद शर्मा, छविकुमार शर्मा, सोमनाथ उपाध्याय, दिग्विजय मल्ल, लोकमणि गिरी, हरिभक्त भण्डारी रहेका थिए । २०५२ साल जेठ २१ गते गेहेन्द्र गिरीले कार्यसमिति पुनर्गठन गरे । जसमा उपाध्यक्षमा हुतासन रेग्मी, वीरकेशरी गौतम, लेवेन्द्र धिताल र केशव आचार्य तथा सचिवमा दीपक रेग्मी रहेका थिए । त्यसैगरी क्षेत्रीय समितिहरूमा क्षेत्र नं. १ मा अध्यक्ष श्रीनारायण चौधरी र सचिव लक्ष्मण पवन, क्षेत्र नं. २ मा अध्यक्ष भोजराज पाण्डे र सचिव भोला अधिकारी तथा क्षेत्र नं. ३ मा अध्यक्ष तेजबहादुर बस्नेत र सचिव कुशल तराल रहेका थिए (नयाँ युगबोध २०५२ जेठ २३) ।
२०५२ साल असोज ३१ गते नेपाली कांग्रेस क्षेत्र नं. ४ का अध्यक्ष तेजबहादुर बस्नेत र नेपाली कांग्रेस जिल्ला कमिटी दाङका उपाध्यक्ष केशव आचार्यले आफ्नो पदबाट राजीनामा दिए (नयाँ युगबोध २०५२ असोज ३१) । त्यसैगरी गेहेन्द्र गिरीले २०५२ साल कार्तिक ३० गते कार्यसमिति विस्तार गरे । समितिको उपाध्यक्षमा हुतासन रेग्मी, वीरकेशरी गौतम, लेवेन्द्रप्रसाद धिताल र मदनकुमार शर्मा तथा सचिव दीपककुमार रेग्मी, सहसचिव डम्बरबहादुर बुढाथोकी र कोषाध्यक्ष भरतबहादुर न्यौपाने रहेका थिए । सदस्यहरूमा खुमबहादुर खड्का, बलदेव शर्मा मजगैयाँ, हरिप्रसाद चौधरी, तीर्थराज शर्मा ज्ञवाली, महादेव शाह, भरत केसी, महेशराज आचार्य, नीमकान्त दाहाल, यज्ञबहादुर बुढाथोकी, चेतराम चौधरी, वासुदेव जंगली, मधुसूदन न्यौपाने र कमानसिंह डाँगी रहेका थिए (सिमारेखा २०५२ मंसिर ७) ।
२०५२ माघ १ गते ऋषिराज बुढाथोकी, आत्माराम भट्टराई, जीवराज के.सी., खगराज पाण्डे, ईश्वरीप्रसाद शर्मा, घनश्याम रेग्मी, तेजबहादुर बस्नेत, डिल्लीराज आचार्य, दीपक गिरी, कृष्णकिशोर शर्मा, शेरबहादुर के.सी. र हरिप्रसाद रजौरेलाई नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको सदस्य पदमा समावेश गर्ने निर्णय गरियो (ने.का. माइन्युट २०५२ माघ १) ।
कार्यसमिति २०५३
२०५३ वैशाख १५ गते नेपाली कांग्रेस दाङको अधिवेशन भयो । अधिवेशनमा गेहेन्द्र गिरी र कृष्णकिशोर घिमिरेबीच प्रतिस्पर्धा भएको थियो । जसमा गेहेन्द्र गिरीले १०३ मत प्राप्त गरेका थिए भने कृष्णकिशोर घिमिरेले ७२ मत प्राप्त गरेका थिए । अधिवेशन सम्पन्न गराउन केन्द्रीय प्रतिनिधिको रूपमा रुद्रप्रताप शाह आएका थिए । वैशाख ९ गते सम्पन्न क्षेत्रीय अधिवेशनअनुसार क्षेत्र नं. १ बाट अध्यक्ष श्रीनारायण चौधरी, महाधिवेशन प्रतिनिधिहरू भरतमणि घिमिरे, ऋषिराज बुढाथोकी, प्रदीप थापा, देवेन्द्रसिंह खड्का, श्रीपति चौधरी, हरिप्रसाद चौधरी, विन्तिराम यादव निर्वाचित भएका थिए ।
क्षेत्र नं. २ मा अध्यक्ष भोजराज पाण्डे, महाधिवेशन प्रतिनिधिहरू बलदेव मजगैयाँ, यज्ञबहादुर बुढाथोकी, वीरकेशरी गौतम, कृष्णकिशोर घिमिरे, तीर्थराज ज्ञवाली चैतु, खगराज पाण्डे र जीवराज केसी निर्वाचित भएका थिए । क्षेत्र नं. ३ मा सभापति भरतबहादुर न्यौपाने, महाधिवेशन प्रतिनिधिहरू पूर्णबहादुर केसी, पूर्णबहादुर खड्का, रेशमबहादुर भण्डारी, चन्द्रबहादुर डाँगी, ताराबहादुर खड्का, टेकबहादुर डाँगी र हरि रजौरे निर्वाचित भएका थिए । क्षेत्र नं. ४ मा सभापति मदन रसिक, महाधिवेशन प्रतिनिधिहरू गेहेन्द्र गिरी, भरत केसी, दीपक गिरी, डम्बर बुढाथोकी, हेमन्त मल्ल, कुशल तराल र राजेन्द्र धिताल निर्वाचित भएका थिए । कार्यसमितिमा उपाध्यक्ष वीरकेशरी गौतम र सचिव कुमुदराज शर्मा रहेका थिए (अन्य नाम प्राप्त हुन सकेन) ।
कार्यसमिति २०५६
२०५६ असार ३० गते नेकाको समिति भंग गरी साउन १३ गते पुनर्गठन गरियो । जसअनुसार उपसभापति महादेव शाह, सचिव कुमुदराज शर्मा, सहसचिव जीवराज के.सी., कोषाध्यक्ष डिल्लीराज आचार्य र सदस्यहरूमा तीर्थराज ‘चैतु’, भरत के.सी., यज्ञबहादुर बुढाथोकी, ऋषिराज बुढाथोकी, वीरकेशरी गौतम, महेशराज आचार्य, बुद्धिराम भण्डारी, अर्जुन श्रेष्ठ, मोहन घिमिरे, डम्बर बुढाथोकी, महेश लामिछाने, जगतपाल योगी, चन्द्रप्रसाद चौधरी, रणबहादुर पछाई, तिलकराम बस्नेत, सुरेन्द्र शाह रहेका थिए ।
साथै नेकाको विधानअनुसार जिल्ला अधिवेशनका लागि मनोनीत सदस्यहरूमा तेजबहादुर बस्नेत, शंकरप्रसाद आचार्य, ऋषिराज आचार्य, अनिता देवकोटा, लाटा सुनार, श्रीमती देवीमाया थापा रहेका थिए (सरयु साप्ताहिक २०५६ साउन १३) । तर वीरकेशरी गौतमले आफू उपसभापति भइसकेको व्यक्ति सदस्यमा नबस्ने भन्दै राजीनामा दिए (सरयु साप्ताहिक २०५६ साउन २०) ।
कार्यसमिति २०५७
नेपाली कांग्रेसका चारवटै क्षेत्रका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र निर्वाचित जिल्ला कमिटी सदस्यहरूको निर्वाचन २०५७ मंसिर ९ गते सम्पन्न भएको थियो । निर्वाचनमा क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिहरूमा खुमबहादुर खड्का, देवेन्द्र खड्का, प्रदीप थापा, चेतराम ज्वाला, विन्तिराम यादव, द्रोण भुसाल र हरिप्रसाद चौधरी निर्वाचित भएका थिए । महासमिति सदस्यमा खुमबहादुर खड्का, प्रदीप थापा र हरिप्रसाद चौधरी तथा निर्वाचित जिल्ला सदस्यहरूमा नित्यानन्द शर्मा र कुलबहादुर डी.सी. थिए ।
क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा बलदेव शर्मा मजगैयाँ, तीर्थराज शर्मा ‘चैतु’, यज्ञबहादुर बुढाथोकी, वीरकेशरी गौतम, विनोद पोख्रेल, खगराज पाण्डे र राजु खनाल तथा महासमिति सदस्यमा बलदेव शर्मा मजगैयाँ, वीरकेशरी गौतम र खगराज पाण्डे तथा जिल्ला समितिमा किरण रेग्मी र नारायण भण्डारी निर्वाचित भएका थिए ।
क्षेत्र नं. ३ बाट कृष्णकिशोर घिमिरे, बुद्धिराज भण्डारी, लेवेन्द्र धिताल, हरि रजौरिया, भरत न्यौपाने, शंकर गिरी र पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा तथा कृष्णकिशोर घिमिरे, भरत न्यौपाने र पूर्णबहादुर खड्का महासमिति सदस्यमा तथा कमल ओली र हरिहर पौडेल जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए ।
क्षेत्र नं. ४ बाट गेहेन्द्र गिरी, दीपक गिरी, भरत के.सी., केशव आचार्य, हेमन्त मल्ल, महादेव शाह, शंकर आचार्य महाधिवेशन प्रतिनिधिमा तथा गेहेन्द्र गिरी, दीपक गिरी र भरत के.सी. महासमिति सदस्यमा तथा घनश्याम उपाध्याय र सुदर्शन देवकोटा जिल्ला सदस्यमा निर्वाचित भएका थिए ।
क्षेत्रीय सभापतिहरूमा क्षेत्र नं. १ मा श्रीनारायण चौधरी, क्षेत्र नं. २ मा भोजराज पाण्डे, क्षेत्र नं. ३ मा रेशमबहादुर भण्डारी र क्षेत्र नं. ४ मा तेजबहादुर बस्नेत निर्वाचित भएका थिए ।
२०५७ मंसिर १३ गते नेपाली कांग्रेस दाङको अधिवेशन भयो । अधिवेशनमा तीर्थराज चैतु र यज्ञबहादुर बुढाथोकीबिच प्रतिस्पर्धा भएको थियो । जसमा तीर्थराज चैतुले १४५ मत र यज्ञबहादुर बुढाथोकीले ९९ मत प्राप्त गरेका थिए । सभापति तीर्थराज शर्मा चैतुले २०५८ वैशाख ५ गते आफ्नो कार्यसमितिलाई विस्तार गरेका थिए । विस्तारित कार्यसमितिमा हरि रजौरे उपसभापति, घनश्याम रेग्मी सचिव, मोहनलाल वली सहसचिव र अर्जुन श्रेष्ठ कोषाध्यक्ष रहेका थिए । अन्य सदस्यहरूमा नित्यानन्द शर्मा, कुलबहादुर डी.सी., हरिप्रसाद चौधरी, कृष्णबहादुर योगी, द्वारिकाप्रसाद यादव, किरण रेग्मी, नारायण भण्डारी, यज्ञबहादुर बुढाथोकी, रणबहादुर पछाई, उपेन्द्र पाण्डे, बबिता के.सी., हरिहर पौडेल, कमलबहादुर वली, चन्द्रप्रसाद चौधरी, घनश्याम उपाध्याय, सुदर्शन देवकोटा, बुद्धिराम भण्डारी, भरत के.सी., महादेव शाह र डिल्लीराज आचार्य रहेका थिए (ने.का. माइन्युट २०५८) ।
तदर्थ समिति २०५९
२०५९ मा पार्टी विभाजनपछि २०५९ साउन २६ गते गिरिजाप्रसाद कोइरालाले वीरकेशरी गौतमलाई सभापति र शंकर गिरीलाई सचिवको रूपमा मनोनयन गरे भने क्षेत्रीय सभापतिहरू क्षेत्र नं. १ मा शिवकुमार शर्मा, क्षेत्र नं. २ मा भोजराज पाण्डे, क्षेत्र नं. ३ मा चुडामणि धिताल र क्षेत्र नं. ४ मा तेजबहादुर बस्नेत चयन भए ।
२०५९ भाद्र ८ गते कार्यसमितिको विस्तार भयो । जसमा सभापति वीरकेशरी गौतम, उपसभापति कमानसिंह डाँगी, सचिव शंकर गिरी, सहसचिव लक्ष्मणबहादुर के.सी., कोषाध्यक्ष कृष्णकुमार पन्त र सदस्यहरू लेवेन्द्र धिताल, दीपक गिरी, तिलकबहादुर डाँगी, केशव आचार्य, गोपीनाथ योगी, मदन रसिक, छविकुमार शर्मा, वासुदेव जङ्गली, गोविन्द मजगैयाँ, राजेन्द्र धिताल, आत्माराम भट्टराई, खगराज पाण्डे, बमबहादुर डी.सी., विनोद पोख्रेल, राजु खनाल, ओम भुसाल, अनिता देवकोटा रहेका थिए ।
कार्यसमिति २०६०
२०६० असारमा विशेष अधिवेशन सम्पन्न भयो । विशेष अधिवेशनले सर्वसम्मत रूपमा तदर्थ समितिलाई कार्यसमितिको मान्यता दियो भने कार्यसमितिमा एकजना कृष्ण गिरी थपिए ।
कार्यसमिति २०६२
२०६२ साउनमा महाधिवेशन सम्पन्न भयो जसमा वीरकेशरी गौतम र तेजबहादुर बस्नेतबिच प्रतिस्पर्धा भएको थियो । जसमा वीरकेशरी गौतम सभापतिमा चयन भए । कार्यसमिति यस प्रकार चयन भयो । सभापति वीरकेशरी गौतम, उपसभापति कमानसिंह डाँगी, सचिव शंकर गिरी, कोषाध्यक्ष राकेश पन्त, सहसचिव हरिहर पौडेल, सदस्यहरू लेवेन्द्र धिताल, केशव आचार्य, भोजराज पाण्डे, मधु न्यौपाने, मदन रसिक, अनिता देवकोटा, ओम भुसाल, बमबहादुर डी.सी. तथा निर्वाचित ः नित्यानन्द शर्मा, माधव केसी, भीमप्रकाश खड्का, भेषराज खत्री, मेघबहादुर लामिछाने, भागवत रेग्मी, टिका घर्ती, वेदु के.सी. रहेका थिए ।
यस कार्यसमितिमा घनश्याम रेग्मी प्रवक्ता, महादेव शाह, अर्जुन श्रेष्ठ, गोपाल शर्मा, शंकर आचार्य, श्याम रेग्मी मनोनीत रहेका थिए भने क्षेत्रीय सभापतिहरूमा क्षेत्र नं. १ मा वासुदेव जंगली, क्षेत्र नं. २ मा खगराज पाण्डे, क्षेत्र नं. ३ मा देवराज लामिछाने, क्षेत्र नं. ४ मा टोपबहादुर के.सी. र पाँच क्षेत्र भएपछि क्षेत्र नं. ५ मा बसन्त देवकोटा क्षेत्रीय सभापति भएका थिए ।
समायोजन कार्यसमिति २०६४
२०६४ असोज ७ गते नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बिच एकीकरण भएपछि जिल्लामा पनि कार्यसमितिमा समायोजन भयो । समायोजनपछि कार्यसमिति यस प्रकार बनेको थियो ।
सभापति वीरकेशरी गौतम, सहसभापति मोहनलाल वली, उपसभापति कमानसिंह डाँगी, अर्जुनकुमार श्रेष्ठ र जनार्दन शर्मा, सचिव शंकर गिरी र धुवकुमार ज्ञवाली, सहसचिव हरिहर पौडेल र नित्यानन्द शर्मा, कोषाध्यक्ष कृष्णकुमार पन्त र शंकरनाथ योगी, प्रवक्ता घनश्याम रेग्मी रहेका थिए । सदस्यहरू तीर्थराज ज्ञवाली, गेहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे, लेवेन्द्रप्रसाद धिताल, केशव आचार्य, तेजबहादुर बस्नेत, भरत के.सी., यमप्रसाद पाण्डे, गोपीनाथ योगी, मदनकुमार शर्मा, अनिता देवकोटा, विनोद पोख्रेल, महेशराज आचार्य, गोविन्द मजगैयाँ, हरिप्रसाद रजौरिया, बुद्धिराम भण्डारी, बमबहादुर डी.सी., राजु खनाल, कीर्तिबहादुर खड्का, विश्वेश्वरप्रसाद रेग्मी, शंकरप्रसाद आचार्य, भरतबहादुर न्यौपाने, मधु न्यौपाने, युवराज शर्मा, गोपालराज शर्मा, सुशीला चौधरी, जोगेन्द्र विश्वकर्मा, श्रीकृष्ण गिरी, पुष्पा श्रेष्ठ, घनश्याम सेर्पाइली, खिमप्रसाद खराल, लोकबहादुर के.सी., पूर्णबहादुर खड्का, अनुपकुमार थापा, द्रोण भुसाल, माधव केसी, भेषराज के.सी., भीमप्रकाश खड्का, भागवत रेग्मी, मेघबहादुर लामिछाने, वेदु के.सी., टिका घर्ती, रामकुवेर यादव, चन्द्रबहादुर जी.सी., कोलाराम न्यौपाने, चन्द्रमणि आचार्य, नरेन्द्रबहादुर थापा, दामोदर के.सी., ताराबहादुर कार्की, कुमानन्द कुँवर, तिलबहादुर पुन, प्रतापविक्रम शाह, कृष्णबहादुर के.सी., किरण न्यौपाने, सीता न्यौपाने, जगतबहादुर खड्का, अशोक गौतम, नारायणप्रसाद शर्मा, हरिभक्त के.सी., मुमबहादुर के.सी., चुडामणि सार्की, गोविन्दप्रसाद रजौरे, जानकीलाल बस्नेत, श्री कमलकिशोर घिमिरे, देवराज लामिछाने, टोपबहादुर के.सी., प्रदीपबहादुर शाह, कमला न्यौपाने रहेका थिए ।
क्षेत्रीय सभापतिहरूमा क्षेत्र नं. १ मा वासुदेव जंगली, क्षेत्र नं. २ मा खगराज पाण्डे, क्षेत्र नं. ३ मा पुष्कर रेग्मी, क्षेत्र नं. ४ मा रेशमबहादुर भण्डारी र क्षेत्र नं. ५ मा बसन्त देवकोटा सभापति रहेका थिए ।
कार्यसमिति २०६७
२०६७ साउन ३० गते अधिवेशन सम्पन्न भयो । जसमा शंकर गिरी र घनश्याम रेग्मीबीच प्रतिस्पर्धा भएको थियो । जसमा घनश्याम रेग्मी सभापतिमा चयन भए । कार्यसमिति यस प्रकार चयन भयो । सभापति घनश्याम रेग्मी, उपसभापति नारायण वि.सी., सचिव कमलकिशोर घिमिरे र शंकरप्रसाद डाँगी, सहसचिव सुरेन्द्र खड्का, कोषाध्यक्ष सावित्रा राना रहेका थिए । सदस्यहरूमा गोविन्द रेग्मी, जगतराम चौधरी, माधव के.सी., देवीमाया थापा, भेषराज पाण्डेय, मेघनारायण चौधरी, दामोदर शर्मा, पूर्णबहादुर मल्ल, लक्ष्मणप्रसाद चौधरी, भीमलाल चौधरी, दानीमाया घर्ती, हिमलाल भुसाल, धर्मप्रकाश गुप्ता, लुमबहादुर बुढाथोकी, भरतबहादुर न्यौपाने, कमानसिंह भारती, पुष्कर रेग्मी, गीता शाह, विपुल पोख्रेल, कृष्ण गिरी, महेशराज आचार्य, श्यामकुमार रेग्मी, शंकर गिरी, देवराज धिताल, गुरुप्रसाद सुवेदी, रेखबहादुर वली, देवीका नेपाली, केशवकुमार आचार्य, यज्ञनारायण आचार्य, ओमबहादुर खड्का, वेदु के.सी., गीता पौडेल र चुडामणि सार्की रहेका थिए ।
क्षेत्रीय सभापतिहरूमा क्षेत्र नं. १ मा अनुराग यादव, क्षेत्र नं. २ मा खगराज पाण्डे, क्षेत्र नं. ३ मा भूपबहादुर डाँगी, क्षेत्र नं.४ मा जगतबहादुर खड्का, क्षेत्र नं. ५ मा बसन्त देवकोटा निर्वाचित भएका थिए ।
कार्यसमिति २०७२
२०७२ फागुन ८ गते जिल्ला अधिवेशन सम्पन्न भयो । जसमा कीर्तिबहादुर खड्का, अनिता देवकोटा र कमलकिशोर घिमिरेबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको निर्वाचनमा विधानअनुसार कसैले बहुमत मत ल्याउन नसकेपछि सभापति चयनका लागि खड्का र घिमिरेबीच फेरि चुनावी प्रतिस्पर्धा भयो । जसमा खड्काले ३४० मत प्राप्त गरी विजयी भए भने घिमिरेले २८५ मत प्राप्त गरे । कार्यसमिति यस प्रकार चयन भयो ।
सभापति कीर्तिबहादुर खड्का, उपसभापति कमानसिंह भारती, सचिव शंकरप्रसाद डाँगी र टेकबहादुर वली, सहसचिव खिमाकुमारी अधिकारी, कोषाध्यक्ष सावित्रा राना, सदस्यहरूमा गोविन्द रेग्मी, देवराज पाठक, गिरीजादेवी न्यौपाने, कुमार घिमिरे, रामप्रताप अहिर यादव, दामोदर शर्मा, भीमलाल चौधरी, हरिप्रसाद भुसाल, यज्ञबहादुर वली, खिमाकुमारी अधिकारी, कुमानसिंह भारती, कमलबहादुर वली, निर्मल न्यौपाने, अर्जुनकुमार योगी, बालिका कुमारी लम्साल, सुरेन्द्रबहादुर खड्का, रेवबहादुर वली, ताराबहादुर कार्की, हरिहर पौडेल, पवित्रा धिताल, नरनारायण अधिकारी, यज्ञबहादुर विष्ट, राजु आचार्य, चन्द्रकान्त शर्मा, देवा डाँगी रहेका थिए ।
क्षेत्रीय सभापतिहरूमा क्षेत्र नं. १ मा भेषराज पाण्डेय, क्षेत्र नं. २ मा गिरीराज सुवेदी, क्षेत्र नं. ३ मा भूपबहादुर डाँगी, क्षेत्र नं.४ मा जगतबहादुर खड्का, क्षेत्र नं. ५ मा बसन्त देवकोटा निर्वाचित भएका थिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सँग नेपाली कांग्रेसको एकीकरण भएपछि उपसभापतिमा हिरालाल चौधरी थपिएका थिए  । (कमान सिहं भारती २०८२)
कार्यसमिति २०७८
२०७८ मंसिर ११ गते जिल्ला अधिवेशन सम्पन्न भयो । जसमा शंकरप्रसाद डाँगी, भूपबहादुर डाँगी, जानकीलाल बस्नेत र कमलकिशोर घिमिरेबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको निर्वाचनमा शंकरले ७७६ र उनका निकटतम प्रतिस्पर्धी भुपबहादुरले ५४५ मत प्राप्त गरेका थिए । जानकीलाल बस्नेतले ४७१ र कमलकिशोर घिमिरेले ३१५ मत प्राप्त गरेका थिए । पहिलो चरणमा कसैले बहुमत नल्याएपछि शंकरप्रसाद डाँगी र भूपबहादुर डाँगीबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने थियो तर भूपबहादुर डाँगीले शंकरप्रसाद डाँगीलाई समर्थन गरेपछि शंकरप्रसाद डाँगी निर्वाचित भए । कार्यसमिति यस प्रकार चयन भयो ।
सभापति शंकरप्रसाद डाँगी, उपसभापति कमानसिंह भारती, गिरिराज सुवेदी, सचिव अर्जुनकुमार योगी र बालिका लम्साल, सहसचिव राजु आचार्य र सुवोधकुमार डाँगी, कोषाध्यक्ष प्रकाश सुवेदी, प्रवक्ता गौरव आचार्य, सदस्यहरू भूपबहादुर डाँगी, वीरबहादुर खत्री, मञ्जु बज्राचार्य, राजकुमार धिताल, खेमराज विश्वकर्मा, यज्ञबहादुर बस्नेत, पार्वती देवी थापा, मुक्ति बादी, पूर्णबहादुर बस्नेत, चेतराम चौधरी, लिलाराम खनाल, टंकसिंह बुढाथोकी, तुलसीराम राना, निर्मला खनाल, भागिरथ चौधरी, नारायणप्रसाद अधिकारी, भोलानाथ अधिकारी, पद्मा चौधरी, गद्दुलाल चौधरी, घना डी.सी., सुशीला गुरुङ, केशरा पोख्रेल, चेतना चौधरी, सुरेशकुमार श्रेष्ठ, पवित्रा धिताल, निर्मल न्यौपाने, शान्ता पाण्डेय, पुष्पाकुमारी डाँगी, घनश्याम भण्डारी, गेहेन्द्र वली, बिपना रोका, विकास वि.सी., विमला शर्मा, बिर्जा चौधरी, विष्णुमाया घिमिरे, बसेल बालकुमारी पोख्रेल, शोभाकर न्यौपाने, जितबहादुर वली, गोवर्धन रावत, उमाकान्त पन्त, कुन्ती डी.सी., कृष्णबहादुर बस्नेत, सोनु भण्डारी, सुरेन्द्रकुमार शाह, किरण रेग्मी, लाल महमोद मियाँ, टिपुर यादव, पुरन चौधरी, शेषमणि गौतम, शंकर शर्मा, रेखबहादुर ओली, प्रदिप मजगैयाँ, मदन ओली रहेका छन् । आमन्त्रित सदस्यहरूमा रमेश मल्ल, निमा चौधरी, बिमलकुमार न्यौपाने, जगत जी.एम., बिना खनाल, विनायक दाहाल, कल्पना शेरपाइली, प्रबल रसाइली, तारा भण्डारी, मूर्तिप्रसाद गौतम (शिवहरि), सन्तोष योगी र विक्रम कुँवर रहेका छन् भने क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेय, क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का र क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का रहेका छन् ।
सन्दर्भ सामग्री
साक्षात्कार
अरुण रेग्मी २०८१
कमान सिहं भारती २०८२
कृष्णकिशोर घिमिरे २०८२
डिल्लीराज रेग्मी २०८२
भोला अधिकारी २०८०
लेवेन्द्र धिताल २०८१
वीरकेशरी गौतम २०८२
सुशील आचार्य २०८२
पुस्तक
डा. सुदीप गौतम दाङ देउखुरीको स्वर्णिम इतिहास २०८२
पत्रिका
युगचेतना, ११ माघ २०४३
युगचेतना २०४५ चैत्र २०
नयाँ युगबोध २०५२ जेठ २३
नयाँ युगबोध २०५२ असोज ३१
सिमारेखा २०५२ मङ्सिर ७
सरयु साप्ताहिक २०५६ साउन २०
माइन्युट
ने.का. जिल्ला समिति दाङ माइन्युट