calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

दाङमा चार महिनामा उद्योग व्यवसायमा करिब ५० करोड लगानी

अमरराज आचार्य
दाङ, २१ मङ्सिर । दाङमा चालु आर्थिक वर्षको चार महिनामा करिब ५० करोड लगानी थपिएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को कात्तिक मसान्तसम्म उद्योग तथा वाणिज्यमा ४९ करोड ६४ लाख ९० हजार रुपैयाँ लगानी भएको हो ।

उद्योगतर्फ २५ करोड १५ लाख ४० हजार र वाणिज्यतर्फ २४ करोड ४९ लाख ५० हजार रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङको चौमासिक प्रतिवेदनमा उल्लेख गरिएको छ । चार महिनाको अवधिमा उद्योग र वाणिज्य गरी तीन सय ७७ वटा फर्म दर्ता भएका छन् । जसमा एक सय ५० वटा उद्योग र दुई सय २७ वटा वाणिज्य फर्म दर्ता भएका छन् ।

यसरी थपिएका उद्योग तथा व्यवसायमा दुई सय ५२ जना उद्यमी बनेका छन् । जसमा पुरुष एक सय ३६ जना र महिला एक सय १६ जना रहेका छन् । दर्ता भएका उद्योगमा । रोजगारी पाउनेमा तीन सय ५४ जना पुरुष र दुइ सय २८ जना महिला गरी पाँच सय ८२ जनाले रोजगारी प्राप्त गरेकाको चौमासिक प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लामा कृषि, जडिबुटी, सेवामूलकलगायतका साना उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार कात्तिक मसान्तसम्म एक सय ३७ उद्योग तथा वाणिज्य फर्म बन्द भएका छन् । बन्द हुनेमध्ये उद्योगतर्फ ५४ र वाणिज्यतर्फ ८३ वटा फर्म रहेका छन् । यसरी बन्द हुने फर्म सङ्ख्या कार्यालयसम्म पुगेरै बन्द गराउनेको हो । धेरै उद्योग व्यवसाय बन्द भए पनि आधिकारिक रूपमा बन्द गराउनेको सङ्ख्या कम रहेको व्यवसायी बताउँछन् ।

बैङ्कको ऋणका लागि कागजी रूपमा बन्द नगराउने गरेको जानकार बताउँछन् । यसैगरी चार महिनाको अवधिमा नौ सय ६२ वटा उद्योग व्यवसाय नवीकरण भएका छन् । उद्योगतर्फ तीन सय ५७ र वाणिज्यतर्फ छ सय पाँच वटा फर्म नवीकरण गरिएको हो । यो अवधिमा दुई सय ७२ वटा उद्योग तथा व्यवसायले अन्य संशोधन गरेका छन् । जसमा ७८ वटा उद्योग र एक सय ९४ वाणिज्य फर्मले संशोधन गरेका हुन् ।

उद्योगको लगत कट्टा गर्ने व्यवसायीले व्यवसाय नचलेकै कारण बन्द गर्नुपरेको बताउने गरेका छन् । कार्यालयले कारण लेख्न लगाउँदा व्यवसायीले व्यवसाय नचलेको कारण लेख्ने गरेको घरेलु तथा साना उद्योग कार्यालयले जानकारी दिएको छ । ‘लगत कट्टा गर्ने कारण देखाउन भन्दा व्यवसाय नचलेकाले बन्द गर्नु परेको बताउने गरेका छन्’, घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी पौडेलले भने, ‘अधिकांशले पसल÷व्यवसाय नचलेको र त्यही कारणले बाहिर जान चाहेको बताउने गरेका छन् ।’

घरेलु तथा साना उद्योग कार्यालय दाङमा नयाँ व्यवसाय दर्ता गर्न आउने व्यवसायीमा पनि उत्साह नभएको उनले बताए । देशको अहिलेको अवस्थाले आकर्षण नबढेको हुनसक्ने उनले बताए । लगत कट्टा गर्ने व्यवसायीले व्यवसाय नचलेर ऋणमा फसेको, विदेश जानुपर्ने भएकाले व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताउने गरेको सूचना अधिकारी पौडेलले बताए । उनले भने, ‘जिल्लामा नयाँ व्यवसाय दर्ता गर्ने र बन्द गर्नेको तथ्याङ्क हेर्दा समान देखिन्छ ।

व्यावसायिक क्षेत्रमा खासै उत्साह देखिएको छैन ।’ गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि कार्यालयमा फर्म वा कम्पनी दर्ता गराउन आउनेको सङ्ख्या घट्दै गएको सूचना अधिकारी पौडेलले बताए । लगानीमैत्री वातावरण सिर्जना हुन नसक्दा लगानी गर्ने व्यवसायीको मनोबल घट्दै गएको निजी क्षेत्रका अगुवाहरू बताउँदै आएका छन् ।

करिब ५२ लाख बढी राजस्व

जिल्लामा घरेलु उद्योग तथा वाणिज्य फर्मबाट पहिलो चौमासिकसम्म ५१ लाख ९९ हजार छ सय २३ रुपैयाँ राजस्व सङ्कलन भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी पौडेलले जानकारी दिए । यसरी सङ्कलन भएको राजस्व उद्योगबाट १९ लाख ६० हजार नौ सय पाँच रुपैयाँ र वाणिज्य फर्मबाट ३२ लाख ३८ हजार सात सय १८ रुपैयाँ सङ्कलन भएको हो ।